कृष्णप्रसाद ढकालको काम गर्ने थलो बनेको छ, पशुपति मन्दिर। बिहानको मिरमिरेसँगै मन्दिर पुग्ने उनी घाम डुबेपछि मात्र घर फर्किन्छन्।
दिनकै पशुपति धाउने उनी पेशाले एक पूजारी हुन्। त्यसैले त उनी मन्दिर आउने दर्शनार्थीहरुलाई ‘टिको’ लगाउँदै आशिष दिने गर्छन्।
उनले मन्त्र पढ्दै ‘टिको’ लगाइदिरहँदा भक्तजनहरूले उनलाई दुई/चार पैसा दिन्छन्। अनि त्यही पैसाबाट उनी आफ्नाे जीविका चलाउँछन्।
दर्शनार्थीहरुले उनलाई पैसा मात्र हाेइन, चामल पनि दिने गर्छन्। त्यही चामल पाेकाे पारेर उनी साझँपख घर लैजान्छन्।
उमेरले ७० वर्ष कटाएका बूढा बालाई छाेराहरूले काम नगर्नू नभनेका पनि होइनन्, तर उनी काम नगरी बस्ने सक्दैनन्। ‘पशुपति आइनँ भने त मलाई दिन कटाउनै गाह्रो हुन्छ’, उनी भन्छन्, ‘काम गर्ने बानी परिसकेको छ, काम नगरी बस्नै सकिँदैन नि!’
१० वर्षको उमेरदेखि नै पूजारी बनेका उनलाई ज्यानभन्दा प्यारो लाग्छ- आफूले गरिरहेकाे काम। त्यसैले त उनी परिवारको कुरालाई बेवास्ता गरेर मन्दिर आउने गर्छन्।
काठमाडाैंकाे माकलबारीमा उनकाे आफ्नै घर छ। तर पनि उनलाई केही घमण्ड नै छैन। उनी भन्छन्, ‘एकदिन सबैजना यही माटाेमा पुरिन्छाैँ, रिस, डाहा र घमण्ड किन गर्नु र।’
बिहान सबेरै घरबाट मन्दिर आएका उनी खाना खाँदैनन्, खानाकाे सट्टा दही र चिउरा खाएर पेट भर्छन्।
दिनभरि खाना नखाइ बसेका उनलाई ढिलासम्म पनि घर नजाँदा मन्दिरका गार्डले भन्ने गर्छन्, ‘ए, बा किन यत्राे यहाँ बस्नुहुन्छ, अब काममा भन्दा पनि खाना खानुमा बल गर्नुस्।’ गार्डकाे कुरालाई उनी हाँसेर उडाइदिएर भन्छन्, ‘अब घर जान्छु।’
मन्दिरबाट घर फर्किनेबेला उनी आफ्ना ठाउँ साथीलाई जिम्मा लगाएर जान्छन्। ‘म याे ठाउँबाट गएपछि मेराे साथी यहाँ बस्नुहुन्छ नि!’ उनले भने।
१२ घण्टा मन्दिरमा बिताउनु पनि समस्या भएकाे उनी बताउँछन्। ‘यहाँ बाँदर आउँछ, दिक्क लगाउँछ। मसँग त छडी छ त्यसैले डराउँछ, नभए त याे बाँदरहरूकाे झुण्डले दुख दिन्छ नि’, उनी भन्छन्, ‘यहाँका बाँदरहरु छुच्चो छन्।’
मन्दिर आउने दर्शकनार्थीहरुले आफूप्रति गुनासो गरेको पनि उनी बताउँछन्।
‘भगवानका लागि चढाइएका मिठाइ खानका लागि यहाँ धेरै अरिङ्गाल आउँछन्’, आफ्नो छेउमा भएका अरिङ्गाललाई देखाउँदै उनले भने, ‘एकदिन अरिङ्गालले टोकेका मान्छेले मलाई अरिङ्गाल पाल्नुहुन्छ भनेर सोध्नुभएको थियो।’
‘पूजारी बनेर छोरालाई मास्टर्स डिग्री पढाएँ’
सानैदेखि पूजापाठमा चासो राख्ने उनले संस्कृत भाषा पढे। उनले संस्कृत भाषामा कक्षा ९ पास गरेका छन्।
संस्कृतमा ९ पास गर्नु एसएलसी पास गर्नु सरह भएको बताउँदै उनले भने, ‘संस्कृतमा धेरै पढेको ‘साहसी’ पास गर्नु हो। जो कोहीले यो पास गर्न सक्दैनन्।’
आफूसँगैका दौतरीहरु अहिले ‘चर्चित कलेज’ का शिक्षक भएको उनी बताउँछन्। ‘उनीहरुले स्कुल पढेर मास्टर भए, म संस्कृत पढेर पूजारी भएँ’ उनले भने।
पूजारी काम गरेको ६ दशक कटाइसकेका उनको तीन जना सन्तान छन्। उनै सन्तानलाई राम्रो शिक्षा दिन ढकाल सफल भएका छन्। ‘मेरो कान्छो छोराले १८ कक्षा पढेको छ’, उनले भने, ‘अहिले उनी एक सहकारी संस्थाका प्रबन्धक भएका छन्।’
पैसा कमाउन नसके पनि छोराछोरीलाई शिक्षित बनाउन पाउँदा नै खुसी छन्, उनी।
‘राजा बिरेन्द्र शाहको मृत्यु हुँदा कपाल काटेँ’
वि.स. २०५८ साल जेठ १९ गते शुक्रबारको दिन दरबार हत्याकाण्डमा बितेका राजा बिरेन्द्रलगायत उनको परिवारलाई पशुपति ल्याएको दिन उनलाई अझै याद छ। त्यो दिन उनी पशुपतिमै थिए। तब एकाएक उनले बाजा र शंख फुकेको आवाज सुने।
शंखको आवाज सुनेका उनी घाटतर्फ जान थाले। तर उनी जानै सकेनन्। कारण थियो– राजा बिरेन्द्र शाहको मृत्यु।
‘राजाको शव ल्याउँदा मन्दिरमा धेरै भीड थियाे, त्यति धेरै भीड त मैले कतै पनि देखेकाे थिइनँ’, दुई दशकअघिको कुरा सम्झँदै उनले भने, ‘मलामी आउने सबै जनाको आँखा रसाएको थियो। राजालाई हेरेर नरुने त काेही थिएन।’
राजाको शव नजिक आउन कसैलाई नदिएको बताउँदै उनी भन्छन्, ‘राजासँग आएकाहरुले नेताहरुलाई ढुङ्गा हानिरहेका थिए। त्याे देखेर म नै डराएँ।’
राजालाई देशकै पिता मानिएकाेले उनको मृत्युपश्चात कपाल काटेको सम्झँदै उनी भन्छन्, ‘आफ्नो पिता खस्दा छोराले कपाल काट्नैपर्छ। त्यसैले मैले पनि कपाल काटेर मुन्डन गरेँ।’
राजाकाे मृत्युपछि पशुपतिमा राताे अबिर नचलाइएकाे उनले बताए। ‘हामीले १२ दिनसम्म पहेँलाे रङ चलाएका थियाैँ’, उनले भने, ‘पहेँलै टीका लगायाैँ।’
‘नमरुञ्जेल काम गरिरहनेछु’
सानैदेखि कमाउनमा लागेका उनी अझै पनि आफ्नै बलबुतामा कमाउन चाहन्छन्।
अरुको अगाडि हात थाप्न नपरोस् भन्दै उनी भन्छन्, ‘अरुले दिएको पैसा, आफूले कमाएको जस्तो कहाँ हुन्छ र? त्यसैले म नमरुञ्जेलसम्म काम गरिरहनेछु।’
सानैदेखि मन्दिर छेउछाउमा रहेका उनी त्यहीँबाट बिदा हुन चाहन्छन्। जीवनको सुरुवातमै गरेको कामलाई छोड्न नसक्ने बताउँदै उनले भने, ‘बाँचुञ्जेल काम गरिरहनेछु, मरेपछि त यहीँ घाट छ नि!’