एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ। सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ।
विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो।
नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ। यस्तै, भारत, अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ८ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरेको थियो।