लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत उत्पादन परीक्षणसमेत गरिसकेकाे छ। तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत उद्पादन भने गर्न पाएकाे छैन।
हाल व्यावसायिक विद्युत उत्पादनका निम्ति प्रसारणलाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए।
यसअघि चैत २०७६ मा आयाेजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माणअवधि लम्बिएको हो।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिनेछ। सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारणलाइन आयोजना आफैले निर्माण गरिसकेको छ।
प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत खरिद सम्झौता गरेको छ। पीपीएमा सहमतिअनुसार सुख्खायाम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिदमूल्य कायम भएको छ। पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ।
२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ। आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन्।
विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ। तर, गत वर्षको बाढीका कारण प्रसारणलाइन पुन: निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो।
तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइनअन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारणलाइन पनि निर्माणसम्पन्न नभएकाले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए।