बर्मेली जनताको चाहना: क्रूर शासक मिन आङ ह्लाइङलाई फाँसी! (भिडियोसहित)

सुहन श्रेष्ठ

काठमाडाैँ

बर्मा अर्थात् म्यान्मारको इतिहासमा सबैभन्दा क्रूर शासकको सूचीमा पर्छन्, मिन आङ ह्लाइङ। उनी देशमा जारी सैन्य ‘कू’का नाइके तथा ‘जुन्ता’ परिषद्का प्रमुख पनि हुन्।

नागरिक विद्रोहपछि चारजना प्रजातान्त्रिक कार्यकर्तालाई ‘जुन्ता’ सरकारले गत हप्ता मृत्युदण्ड दिएको छ। जनविरोधी सत्ताले बिगत डेढ वर्षदेखि घिनलाग्दो रबैया मच्चाइरहेको छ। सैन्य ‘कू’विरूद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दुई हजारभन्दा बढी स्वतन्त्र नागरिकले ज्यान गुमाइसकेको बिएल नेपाली सेवाकी म्यान्मार संवाददाता सुधा अत्रिले बताएकी छिन्।

त्यसो त सैनिक ज्यादतीका कारण म्यान्मार गृहयुद्धमा फसेको छ। सैन्य–सत्ताले जताततै रमिता देखाइरहेको छ। म्यान्माली अँध्यारो भुमरीभित्र बाँचिरहेका छन्। ‘जुन्ता’ शासकले गैरन्यायिक हत्या, अन्धाधुन्ध गिरफ्तारी, गाउँ–समाजमा आगजनी र नागरिकलाई ताकिताकि गोली हानिरहेको छ।

अत्याचारै–अत्याचारको उकालो यात्रा हिँडिरहेका म्यान्मारका सबैभन्दा ठूला अपराधी हुन्, उनै मिन आङ ह्लाइङ। दिनदिनै नागरिकमाथि बन्दुक चलाउँछन्। कलिला नानी–बाबुहरूको सुन्दर भविस्य समाप्त पारिरहेका छन्, उनी। म्यान्मारको ‘एउटा विकासे युग’ ध्वस्त पार्ने अभियानमा अग्रसर छन्। 

चारैतिरबाट सामाजिक, आर्थिक र राजनीतिक विपत्ति झेलिरहेका निर्दोष नागरिक भन्छन्, ‘मिन आङ ह्लाइङलाई फाँसी नदिएसम्म न्यायको महसुस हुँदैन।’ आङ सान सुकी नेतृत्वको जनसरकारलाई ‘कू’ गरेर म्यान्मारमा संकट निम्त्याउने खराब पात्र हुन्, मिन आङ ह्लाइङ।

बर्मेली जनताको चाहना छ– देशमा जनमत संग्रह गरियोस्। पाँच करोड जनता मध्ये ९९ प्रतिशतले ‘जुन्ता’ नाइके तथा क्रूर शासक मिन आङ ह्लाइङलाई फाँसी दिनुपर्ने माग राख्छन्। देशले स्वतन्त्रता र प्रजातन्त्र खोजिरहेको बर्मेली पत्रिका मिजिमाले जनाएकाे छ। म्यानमारका नागरिकले सैनिक त्रासबाट मुक्ति चाहेका छन्।

म्यान्मारमा सैनिक शासन समर्थकहरू थोरै छन्। उनीहरू शिविरमा बसिरहेका छन्। प्रजातन्त्रवादीहरूबाट डराउँछन्। ‘जुन्ता’ सारथीहरूको संख्या २ प्रतिशत मात्रै छ। यी क्रूरताका पक्षपातीहरू कतिपय अवसरवादी हुन्, कति पूर्वसैनिक। 

प्रत्येक नागरिकलाई न्याय खोज्ने अधिकार छ। त्यसो त मिन आङ ह्लाइङलाई लाखौं पटक फाँसी दिएपनि म्यान्माली जनतालाई न्याय मिल्नेवाला छैन। उनीहरूको दृढ संकल्पलाई छेउबाट नियाल्दा यस्तो लाग्छ– क्रान्तिकारी जनता जागिसकेका छन्। एकजुट छन्। अन्यायविरूद्ध तैनाथ छन्। एकदिन शासकलाई फाँसीमा चढाउन लागिपरेका छन्।

म्यान्मारको इतिहासमा एउटा दुष्ट व्यक्तिले सत्ता सम्हालेको छ। हजारौँ–हजार सपना चकनाचुर पारिरहेको छ। निर्ममतापूर्वक हत्या–मार्गमा हिँडिरहेको छ। सैनिक सत्ताले बिगत १८ महिनादेखि आफ्नै देश जलाइरहेको बर्मेली पत्रिका एरावतीले जनाएको छ। 

म्यान्माली नागरिक भन्छन्– अपराधी तथा सत्ता–नाइके मिन आङ ह्लाइङलाई कठोर मुद्दा चलाउनुपर्छ। फाँसी दिनुपर्छ। मृत्युदण्ड दिइएपछि मात्रै देशमा स्वतन्त्रता, समानता र फेरि न्याय फस्टाउनेछ। सैन्य शासनविरूद्ध चलिरहेको आन्दोलनका क्रान्तिकारीहरू केवल एउटा कुरा चाहन्छन्– ‘जुन्ता’ प्रमुख मिन आङ ह्लाइङको न्यायिक फाँसी।

प्रकाशित मिति: : 2022-08-02 19:25:00

प्रतिकृया दिनुहोस्