उर्लाबारी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा !

उर्लाबारी नगरपालिका १ को वडा कार्यालय भवनको उद्घाटन भएको छ। नगरप्रमुख गंगाप्रसाद खरेलले सोमबार नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरेका छन्र।

नव निर्मित वडा कार्यालयको दुई तले पक्की भवनमा आठ कोठा रहेका छन्। नगरबाट विनियोजित ९७ लाख लागतमा भवन निर्माण सम्मपन्न भएको वडा अध्यक्ष तिलक पाण्डेले जानकारी दिए।

उर्लाबारीका ९ मध्ये वडा नम्बर १ र २ को वडा कार्यालय भवन उद्घाटन भइसकेको छ। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे।

‘उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन्’ उनले भने – ‘जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन्।’ आफुहरुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणका लागि भएको बताउँदै प्रमुख खरेलले उर्लाबारीबासी जनताको एकता र मेहेनतले मात्र सुन्दर उर्लाबारीको परिचय स्थापित हुने उल्लेख गरे।

वडा नम्बर १ का अध्यक्ष तिलक पाण्डेले वडा समिति र वडाबासीको सहयोग र समन्वयका कारण समयमै कार्यालय भवन निर्माण सम्पन्न भएको जनाए।  

कार्यक्रममा वडा नं १ को नवनिर्मित वडा कार्यालय भवनका लागि जग्गा दान दिने समाजसेवी नरबहादुर चौहान र इन्द्रबहादुर चौहानसहित उनिहरुको परिवार, वडाका पुर्व सदस्य मोहनकर्ण श्रेष्ठ तथा गम्भीरमान प्रधानलाई सम्मान गरिएको थियो। वडा कार्यालय भवन निर्माणका लागि नरबहादुर चौहान परिवारले १ कट्ठा ४ धुर र इन्द्रबहादुर चौहान परिवारले १ कट्ठा ६ धुर जग्गा दान गरेको वडा सदस्य गौरीशंकर दाहालले जानकारी दिए। यसअघि नरबहादुर चौहानकै घरमा वडा कार्यालय संचालन हुँदै आएको थियो।

उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मीना खतिवडा पौडेल, पुर्व उप–प्रमुख लक्ष्मीदेवी भण्डारी, समाजसेवी मानबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो।

प्रकाशित मिति: : 2022-08-01 18:33:00

प्रतिकृया दिनुहोस्