१० महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत 

फाइल तस्बिर: समाज कल्याण परिषद् भवन

समाज कल्याण परिषद्ले १० महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो।

परिषद्का अनुसार १० महिनामा स्वीकृत भएको कुल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ। यो रकममध्ये एनजीओहरुले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन्। बाँकी ५४ करोड ७० लाख ४ हजार ३९७ रुपैयाँ भने एनजीओहरुले आन्तरिक रुपमा व्यवस्थापन गर्ने परिषद्ले जनाएको छ।

१० महिनाको अवधिमा परिषद्ले विभिन्न एनजीओका १ हजार १५५ वटा प्रोजेक्टहरुलाई स्वीकृति प्रदान गरेको छ, जहाँ उक्त रकम खर्च गरिने छ। एनजीओका कार्यक्रम देशका ७७ वटै जिल्लामा रहेका छन्। स्वीकृत भएको बजेट केही एक वर्षको लागि र केही पाँच वर्षे कार्यक्रमको लागि रहेको छ।

प्रकाशित मिति: : 2022-07-21 10:33:00

प्रतिकृया दिनुहोस्