साउदी युवराज मोहम्मद बिन सलमान 'मनोरोगी' र 'हत्यारा' हुन्: गुप्तचर पूर्वप्रमुख

Photo– AFP/GETTY IMAGES
Photo– AFP/GETTY IMAGES

साउदी अरबका गुप्तचर विभाग पूर्वप्रमुखले युवराज मोहम्मद बिन सलमानलाई 'मनोरोगी' र 'हत्यारा' काे संज्ञा दिएका छन्।

केही दिनअघि सीबीएस न्यूजमा प्रशारण भएकाे एउटा अन्तर्वार्ताका क्रममा गुप्तचर पूर्वप्रमुख साद अलजाबरीले युवराज सलमान अमेरिका र अन्य राष्ट्रका लागि ठूलो चुनौती बन्न सक्ने चेतावनी दिएका हुन्।

सन् २०१८ मा वाशिङ्टन पोष्टका पत्रकार जमाल खसोग्जीको हत्या–उदाहरण दिँदै पूर्वप्रमुख सादले भने– 'युवराज हत्यारा हुन्। उनी ‘टाइगर स्क्वाड’ नामक खतरनाक गिरोहसँग साँठगाठ गरेर अपहरण र हत्या गर्छन्।'

युवराज मोहम्मद बिन सलमान साउदी–राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन्। उनी मध्यपूर्वकाे प्रभावशाली शासकका रूपमा चिनिन्छन्।

'सलमान यस्ताे मनोरोगी हुन्– जसलाई कसैप्रति सहानुभूति छैन,' पूर्वप्रमुख सादले थपे, 'उनीभित्र कुनैपनि भावना छैन। हामी अत्याचार र अपराधका साक्षी हौं।'

युवराज सलमानबाट आफ्नाे ज्यानकाे खतरा देखेपछि उनी क्यानडा आएका हुन्।

साउदी सरकारले आफूलाई मार्न टोरन्टोमा पटकपटक टोली खटाएकाे वाशिंगटन डीसीकाे एउटा अदालतलाई बयान दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनकाे भ्रमणपूर्व गुप्तचर विभागका एकजना पूर्वप्रमुख साउदी शासकविरूद्ध खराे रूपमा उत्रिएका छन्।

युवराज सलमानलाई उनी संसारका लागि खतरा देख्छन्। 'एउटा मनोरोगी–हत्याराविरुद्ध आवाज उठाउन म यहाँ आएको छु,' सादले अन्तर्वार्तामा भनेका छन्।

प्रकाशित मिति: : 2022-07-14 05:08:00

प्रतिकृया दिनुहोस्