२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन्। यसले अन्य संकट निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरेका छन्।

‘हामी यो रुसी आक्रामकताको प्रभाव जताततै देखिरहेका छौँ। यसले श्रीलंकाको अवस्थामा पनि  असर गरेको हुन सक्छ। हामी विश्वभरको प्रभावको बारेमा चिन्तित छौं’, ब्लिन्केनले बैंककमा सञ्चारकर्मीलाई भने।

मस्कोले फेब्रुवरीमा लगेको २ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न पनि उनले रुससँग माग गरे। ‘युक्रेन विरुद्ध रूसी आक्रमणले संसरभर उल्लेखनीय रूपमा खाद्य असुरक्षा बढेको देखेका छौँ,’ ब्लिन्केनले भने। युक्रेन युद्धको असर थाइल्याण्डमा पनि देखिएको उनले बताए। नाकाबन्दीका कारण मलको मूल्य आकाशिएको उनको भनाइ थियो।

श्रीलंकामा खाद्यान्न र इन्धनको चर्को अभावका कारण हप्तौंदेखिको अशान्ति छ। शनिबार सरकारी निवासमा प्रदर्शनकारीले तोडफोड गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा दिन राजी भएका छन्।

प्रकाशित मिति: : 2022-07-11 08:15:00

प्रतिकृया दिनुहोस्