नारायण रायमाझी निर्देशित प्रतीक्षित चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ।
निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिसमेत तय गरेको हो। दशैंको टीकाको पाँच दिनअघि १४ असोजबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ।
साढे दुई मिनेटको टिजरमा चलचित्रका कलाकारहरू प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ। ‘परदेशी–२’ लोकदोहोरी गायक प्रकाशको डेब्यू चलचित्र हो।
यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको टिजरबाट आँकलन गर्न सकिन्छ।
अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको टिजरबाट बुझन् सकिन्छ। प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ।
नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन्। चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन्।
चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका कलाकारहरूको समेत अभिनय छ।
बीबी अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको छ। गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ। सुदीप कुँवरको सहनिर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सहसम्पादन छ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्तो हिट चलचित्र दिएको ब्यानर, प्रकाश सपूतको डेब्यू चलचित्र, स्टार कलाकारहरूको अभिनयलगायतका कारण ‘परदेशी २’ प्रतीक्षित चलचित्र बनेकने छ। चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ।