रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ। शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ।
रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन्। बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन्।
आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ। उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए। करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन्।
'जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको ६ महिनामा उत्पादन सुरु गर्नेछ,' उद्योगी पौडेलले भने। उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र प्रत्यक्ष रुपमा एक सय ५० जनाभन्दा बढील रोजगारी पाउँछन्। यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ। हाल नेपालमा वार्षिक करिव १२ अर्वको आलु तथा यसका परिकारहरुको आयात भैरहेको छ। उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन्।