काठमाडौंमा फैलिएकाे हैजाबारे के भन्छन् डाक्टर? (भिडियाे)

काठमाडौं उपत्यकामा पछिल्लो समय झाडापखालाका बिरामीहरुको सङख्या बढ्दै गएको छ। यस्ता बिरामीहरु बढेसँगै हैजाको सङ्क्रमण पनि पुष्टि भएको छ।

काठमाडौंमा हैजाको सङक्रमण फैलिनु नै सर्वसाधारणका लागि खतरा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘काठमाडौं जस्तो ठाउँमा हैजा देखापर्नु नै खतराको विषय हो’, उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, ‘यो सङ्क्रमण एक जनालाई पुष्टि हुनु भनेकाे अन्य ९ जनामा पनि देखा पर्नु हो।’

फैलिरहेको हैजालाई समयमै नियन्त्रण नगरे यसले भयावह रुप लिने उनी बताउँछन्।

हैजा भनेको के हो?

साधारणतया हैजा भनेको भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण लाग्ने झाडापखाला हो।

सोही ब्याक्टेरिया शरीरभित्र पसेर पखाला लाग्छ, जसलाई हैजा भनिन्छ। यसले शरीरको आन्द्राभित्र गएर पानी जाने ठाउँ बन्द गरिदिन्छ, यसले गर्दा शरीरमा समस्या देखा पर्छ।

एकोहोरो चौलानी जस्तो दिसा लाग्नु र तारन्तार वान्ता लाग्नु नै हैजाको मुख्य लक्षण भएको विशेषज्ञ पुनले बताए।

त्यसैगरी थकान महसुस हुनु, तिर्खा लाग्नु र शरीरका हातखुट्टा बौडिनु पनि हैजाको लक्षण भएको उनकाे भनाइ छ।

हैजा हुँदा साता दिनभित्र लक्षण देखापर्न सक्छन्। जसले पेट दुख्ने, छाला चिसो हुने, तौल घट्ने, आँखा गढ्नेलगायतका लक्षण देखा पर्छ।

हैजा लागेका दशमध्ये एक जनामा कडा हैजा हुने बताउँदै उनले भने, ‘तारन्तार बान्ता हुनु नै हैजा हो। यसको उपचार बेलैमा नभए सङ्क्रमणले ज्यान नै गुम्छ।’

हैजा कसरी फैलिन्छ?

हैजा फैलिनुको मुख्य कारण नै खानेपानी, व्यक्तिकाे व्यवहार र खानेकुरा भएको डा. पुन बताउँछन्।

‘दूषित पानीबाट हैजा फैलिने गर्छ। खानेपानी मात्र नभई पानीको पाइपबाट पनि हैजा फैलिने भएका कारण खानेपानीलाई सुरक्षित राख्न जरुरी छ। त्यसैगरी व्यक्तिले आफ्ना सरसफाइमा ध्यान दिनु आवश्यक छ’, उनले भने, ‘खानेकुराबाट पनि हैजा फैलिने भएका कारण खानेकुरा ताजा र पकाएर खानु जरुरी छ।’

पछिल्लाे समय हैजाकाे सङ्क्रमण फैलिरहेकाले प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने उनको सुझाव छ।

हैजा भएको कसरी पत्ता लगाइन्छ?

पखालालगायत बान्ता भएका बिरामी अस्पताल आएपछि रापिङ टेष्ट गरिने पुनले बताए।

‘सुरुमा गरिएको जाँचमा सम्भावना सकारात्मक देखिएपछि ब्याक्टेरियाको कल्चर टेष्ट गरिन्छ’, उनल भने, ‘सोही टेष्टमा ब्याक्टेरिया देखियो भने हैजा भएको पत्ता लाग्छ।’

प्रकाशित मिति: : 2022-06-26 21:25:00

प्रतिकृया दिनुहोस्