समाजमा वर्षौँ अघिदेखि छुट्याइए, विभेदका कित्ताहरू। जात, वर्ण, लिङ्ग, भूगोल आदिका हिसाबले छुट्याइएका विभेदका ती कित्ताहरू उस्तै छन् अहिले पनि।
मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण फरक छ। क्षमता, योग्यता केही नहेरेर मात्र जात हेरिन्छ यहाँ । अनि क्षेत्र हेरिन्छ। धनी, गरिब थुप्रै कुरा हेरिन्छ। विगतका तिनै सकसपूर्ण संघर्षका दिनहरू पार गर्दै आफ्नो परिचय बनाउन सफल मध्येका एक हुन्- डा. कैलाश प्रसाद शाह पनि।
सिरहाको सामान्य परिवारमा जन्मेका शाहले निकै मेहनत गरेर बनाएका हुन् अाफ्नाे परिचय। उनको महत्वपूर्ण योगदान छ यो देश र समाजको लागि। उनी अझै पनि लागिपरेका छन्, मानव सेवामा।
वर्षमा ६ महिना मात्रै खान पुग्ने अन्न उब्जिन्थ्यो पुर्खाले जोडेको जमिनमा। थप ६ महिनाको जोहो गर्नलाई सानो किराना पसल चलाएका थिए उनका बुवाले। त्यही पसलको कमाइले चल्ने गर्दथ्यो घरपरिवारको दैनिकी।
उनलाई बाआमाले विद्यालय त पठाएका थिए तर एउटा सर्तसहित। त्यो सर्त थियो, विद्यालय जानुअघि गाईभैंसीका लागि घाँस काट्नु पर्ने। वा विद्यालयबाट फर्केपछि २ घन्टा गाईभैंसी चराउनुपर्ने। उनले सर्त कबुल गरे। सर्तअनुसार घरको काम गर्दै पढाइलाई निरन्तरता दिए। उनका लागि त्यतिखेर घरको काम पहिलो प्राथमिकतामा पर्थ्याे भने पढाइ दाेस्राे पाटो थियो।
०००
२०३१ सालमा एसएलसी परीक्षा दिने समय आयो। पहिलो दिन अंग्रेजीको परीक्षा थियो। त्यही दिन सिरहा अस्पतालको उद्घाटन थियो। डा. अञ्जली कुमार शर्मा पुगेका थिए त्यहाँ। उनै डा. शर्मालाई भेटेर चेकअप गर्न उनकी आमा अस्पताल पुगिन्। डा. अन्जली कुमारले आमालाई पेटको क्यान्सर भएको शंका गरिदिए।
कैलाशसँग आधी घन्टा मात्रै समय थियो परीक्षा केन्द्र पुग्न। त्यतिबेलै आमा रुँदै घर फर्केको देखेर सोधेँ, ‘के भयो आमा।’ आमाले डाक्टरले भनेका कुरा सुनाइन्। कुनै उपाय नभएपछि उनले आमासँग भने, ‘तपाईं इन्डिया मामाकहाँ जानुहोस्। त्यहाँ इलाज भइहाल्छ। म परीक्षा सकिनासाथ आउँला।’
एसएलसी परीक्षा सकिनासाथ उनी पुगे भारतको दरबङ्गा। जहाँ उनकी आमालाई अस्पतालमा भर्ना गरिएको थियो। उनी पुगेपछि एकछिन घाम ताप्न भनी अस्पतालको बेडबाट आमालाई बाहिर ल्याए। घाम ताप्दाताप्दै आमाले उनको काँधमा अडेस लगाएर भनिन्, ‘बुवा रे बुवा रे हम जाइछो (बाबु, म अब जाँदै छु)।’ अन्तिमपल्ट छोराको अनुहार हेर्न कुरेकी रहिछन् आमा। छोराको मुहार देखेपछि बिदा लिइन् धर्तीबाट।
कैलाशको छेउमै आएर विनम्रतापूर्वक विस्तारै बोले डाक्टर, ‘सरी, क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको थियो, केही गर्न सकिनँ।’ अब कोसँग गुनासो गर्नु। कोसँग के भन्नु। नजिकै प्राण त्याग गरेकी आमाको मुहार हेरेर आँखाबाट धर्र आँसु झारे उनले। जसोतसो चित्त बुझाउनु थियो। दैवको लिला सम्झेर आमाको दाहासंस्कार गरी फर्के घरतिर।
०००
एसएलसीको नतिजा आयो। फस्ट डिभिजनमा उत्तीर्ण भए। उच्च शिक्षा अध्ययनका लागि जनकपुर क्याम्पसमा पुगे। उनलाई थाहा थिएन, विभिन्न फ्याकल्टी हुन्छन् भन्ने कुरा। उनलाई मात्र कलेज पढ्नु थियो। इन्ट्रान्समा नाम निकालेर भर्ना हुन खोज्दा भेटे- सिराहामा उनलाई पढाएकी गुरुआमा आशा सिंनहालाई। एक वर्षअघि मात्रै ती गुरुआमाले जनकपुर कलेजमा पढाउन थालेकी थिइन्।
उनैले उनको भर्ना फाराममा साइन्सतर्फ बायोलोजी ग्रुपमा टिक लगाउँदै भनिन्, ‘तिमी साइन्स पढ। अनि डाक्टर बन।’ डाक्टर भन्ने शब्द सुन्नासाथ उनले सम्झे क्यान्सरबाट ज्यान गुमाएकी आमालाई। त्यही दिनदेखि उनको दिमागमा डाक्टर बन्ने भूत चढ्यो। अनि ६६ प्रतिशत ल्याएर आइएस्सी पनि उत्तीर्ण गरे। तर, डा. पढाउन त्यति खर्च जुटाउन सक्ने अवस्था थिएन।
उनी कसैलाई केही नभनी इन्डिया गएर चन्द्र शेखरलाई भेट्न एप्वइन्टमेन्ट लिए। त्यसताका चन्द्र शेखर भारतीय जनता पार्टीका अध्यक्ष थिए। एक महिनापछि चन्द्र शेखरसँग भेट्ने मौका पाए। भेटमा उनले अरु केही भनेनन्, मात्र यति भने, ‘म डाक्टर पढ्न चाहन्छु। तर, मेरो आर्थिक अवस्थाले भ्याउँदैन।’ चन्द्र शेखरले आश्वासन दिए।
त्यसको ठिक एक वर्षपछि कलकत्ता मेडिकल कलेजमा छात्रवृत्तिमा पढ्न पाउने गरी उनको नाम निस्कियो। कलकत्ता बैंकमा एकजना चिनेका नजिककै मान्छे काम गर्थे। उनले पनि आर्थिक सहयोगको लागि आश्वासन दिए। उनी एमबीबीएसमा भर्ना भए। छात्राबासको वर्षभरिको शुल्क थियो १२ सय रुपैयाँ। त्याे पैसा जम्मा गरेर उनी छात्राबासमै बसेर अध्यन गर्न थाले।
०००
पढ्न थालेको दुई हप्तापछि प्रिन्सिपल डा. जेबी मुखर्जीले १५० जना विद्यार्थीलाई एउटा अंग्रेजले बनाएको हलमा राखेर लेक्चर दिए। त्यो दिन डा. मुखर्जीले भनेका थिए, ‘मसँगै पढेको मेरो साथी गाडीमा चढ्थ्यो। उसको आफ्नै नर्सिङ होम थियो। धेरै पैसा पनि कमायो। तर, एक दिन एउटा केशमा फस्यो। अहिले ऊ जेलमा छ। मसँग पैसा छैन। आफ्नो गाडी छैन। पब्लिक बसमा आउँछु। तर, म ह्याप्पी छु। तिमीहरूले यो कुरालाई मुल मन्त्र ठान्नू।’
प्रिन्सिपलको त्यो कुरा उनका लागि प्रेरणा बन्यो। उनी बिरामीकै सेवामा सदा तल्लीन रहे। उनकै शब्दमा भन्नुपर्दा उनले थुप्रै विदेशीहरूसँग भीख मागे। कान्ति बाल अस्पतालमा अङ्कलोजी फन्ड बनाए। जहाँ साढे एक करोड रकम जम्मा गर्न सफल भए। अहिले त्यो फन्डबाट आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार गरिँदै आएको छ।
सन् १९८५ मा कलकत्ताबाट एमबीबीएस सकेका डा. शाहलाई इन्ट्रान्सिप गर्ने क्रममा ७/८ वर्षको बच्चालाई देखाई त्यसको हिस्ट्री लेख्न भनियो। उनलाई बच्चाको हिस्ट्री लिन आधी घन्टा जति समय लाग्यो। त्यो समयमा बच्चाकी आमा छेउमा बसेर धुरुधुरु रोइरहिन्। आमालाई परामर्श गर्न र सान्त्वना दिने हिसाबले उनले सोधे, ‘तपाईं किन रोइराख्नु भएको छ।’ आमाको जवाफ थियो, ‘मलाई तपाईंको सरले सबै कुरा भनिसक्नु भएको छ। यसको ब्लड क्यान्सर हो। यो बाँच्दैन भन्ने पनि थाहा छ। तैपनि मैले गल्ती गरेँ। त्यही सोचिराखेकी छु।’
‘के गल्ती गर्नुभयो?’ डाक्टर कैलाश फेरि प्रश्न राख्छन्। ‘हामी दुबै जनाले बन्ध्याकरण गरिसक्यौं’, ती महिलाले जवाफ दिइन्। यो कुराले निकै भावुक भए डा. कैलाश पनि। बच्चाका आमाबुवा दुबै जना युनिभर्सिटिका लेक्चर हुन भन्ने कुरा पनि थाहा पाए उनले। त्यस घटनाले निकै दुखित तुल्यायो। उनले अठोट गरे- म अङ्कलोजीमा अध्ययन गरेर बच्चालाई निको बनाउँछु।
०००
वि.स २०४७ सालमा काठमाडौं आई टिचिङ हस्पिटलमा काम सुरु गरे। २०४८ सालमा लोकसेवामा नाम निकालेर कान्ति बाल अस्पताल पुगेका डा. शाहले २८ वर्षसम्म अनवरत रुपमा त्यही अस्पतालमा काम गरे। कान्तिमा काम गर्दा पनि निकै संघर्ष गर्नुपर्यो उनले। सुरुसुरुमा एक/दुई जना सिनियर डाक्टरले उनलाई भन्ने गर्थे, ‘तिमी किन कान्तिमा आएको? तिमी जनकपुर जाऊ’ इत्यादि। उनी भन्छन्, ‘तराई मूलको भएकै कारण कैयौंको हेर्ने दृष्टिकोण फरक थियो। मेरो नाम नै मर्स्या डाक्टर थियो। ए, ऊ मर्स्या डाक्टर। ऊ त्यहाँ छ भन्थे।’
उनले इंग्ल्याण्डमा एङ्कोलोजी पढ्ने सोच बनाएर एप्लाइ गरे। बिदा स्वीकृत गराउनलाई मन्त्रालयमा गए। जहाँ सचिवले उनलाई सोधे, ‘के पढ्न जाँदै हुनुहुन्छ?’ उनको उत्तर थियो, ‘बच्चाको क्यान्सर।’ अनि सचिवले मुखाकृति बिगार्दै भने, ‘डाक्टर साब पनि कस्तो, कहीँ क्यान्सर पनि निको हुन्छ। अलि राम्रो बिषय पढ्नु नि।’
त्यतिबेला कसैलाई पनि विश्वास थिएन क्यान्सर निको हुन्छ भनेर। अझै भन्नु पर्दा चिकित्सकहरू नै विश्वास गर्दैन थिए। त्यसैले उनी एक महिनाअघि नै युके गए। आफ्नो प्रोफेसर वाइडीलाई भेटेर भने, ‘सरले मलाई क्यान्सरबाट निको भएको बच्चा देखाइदिनोस्। अनि इच्छापूर्वक पढ्छु।’
प्रो.वाइडीले कुनै जवाफ नदिइ भोलि क्लिनिकमा आउनू भने। त्यति बेला क्रिसमस चलेको थियो। प्रो. वाइडीलाई क्लिनिकमा उपहार ल्याएर आउने केही मान्छेलाई उनले देखे। जसमध्ये एउटाले आफ्नो साथमा रहेको जवानलाई देखाउँदै भन्यो, ‘प्रोफेसर वाइडी, उसलाई ब्लड लिकुमिया थियो। अहिले २५ वर्ष भयो। उ आर्मीमा छ।’ त्यसपछि अर्को आयो। त्यस्तै निको भएको अर्को मान्छे देखे। उ लेक्चरर भइसकेको थियो। अनि उनले आफ्नो प्रश्नको उत्तर पाएर हौसिँदै क्लास लिन थाले। उनले सोचे, ‘मैले एक जना बचाउन सके पनि सफलता पाउन सक्छु।’ १९९८ मा उनी युकेबाट पढेर नेपाल फर्के।
०००
मोरङको एकजना शिक्षकले ब्लड क्यान्सर भएको आफनो बच्चालाई ल्याएर आए। डा. शाह सुनाउँछन्, ‘३ वर्षको लोभलाग्दो बच्चा थियो। दशपन्ध्र दिन उपचार गराए। ६ महिना बस्नुपर्छ भन्दा सक्दिनँ भनिदिए।’ कारण थियो उनी स्थायी भएको परीक्षणकाल सकिएको थिएन। डा. शाह निकै दुखित बने। आजका दिनसम्म पनि त्यो बच्चा उनको सम्झनामा आइरहन्छ।
त्यसपछि उनले त्यस्ता केशलाई झन गम्भीरता पूर्वक हेर्न थाले। आवश्यक सहयोग गर्न थाले। आएका केशहरूलाई निको पार्न ५ देखि १० वर्ष लाग्यो। धेरैजसो केशमा उनी सफल भए। जब उनले मेहनत गरेर आफ्नो क्षमता देखाए, तब डाक्टर कैलाश बने। त्यसैले उनी अचेल भन्छन्, ‘म कैलाश हुँ भनेर प्रमाणित गर्न १० वर्ष लाग्यो।’
उनी सम्झिन्छन्, उनले निको बनाएका चितवनको एकजना बच्चा ठूलो भएर बिहे गरी अहिले छोरो पाएको छ। त्यस्तै चण्डोलकी एक जना नानीले अहिले एसएलसी दिएकी छन्। यी त केही उदाहरण मात्रै हुन्, थुप्रै छन् उनले निको बनाएका बिरामी। समयमै उपचार गरे बच्चाको केश निको पार्न सकिन्छ भन्ने उनले प्रमाणित गरिदिए।
०००
उनको जीवनमा केही केश यस्ता पनि आए जो अन्तिम चरणमा पुगिसकेका थिए, उपचार गर्दागर्दै बिते। आर्थिक अवस्था निकै कमजोर भएका अभिभावकसँग दाहसंस्कार गर्नसमेत पैसा नहुँदा उनले आफैँ वनकालीको जङ्गलमा गएर बच्चाको अन्तिम संस्कार पनि गराएका छन्।
कमलो मन, भावुक स्वभावका डा. शाह कान्ति बाल अस्पतालकाे सहायक निर्देशकबाट दुई वर्षअघि मात्रै सेवानिवृत्त भएका हुन्। उनले १७ वर्षसम्म बच्चाको क्यान्सरमै काम गरे। उपलब्धि हासिल पनि गरे।
पेडाडियम एङ्कोलोजीमा पढेर आउने नेपालकै पहिलो डाक्टर हुन्। रिटायर हुँदा आएको पैसाले उनले एकतले सानो घर बनाए। गाडीको नाममा २ लाख २२ हजारमा एउटा स्कुटी किने। अहिले त्यही स्कुटीमा दौडिरहेका छन्। पैसालाई कहिल्यै महत्व दिएनन् उनले। मात्र एकाेहाेराे लागिरहे बिरामीकाे उपचारमा।
जीवनका अनुभव र अनुभूति सँगालेर पछिल्लो समय आत्मकथा पनि प्रकाशित गरेका छन्। जुन युकेबाट प्रकाशित भयो। नेपालमा पनि उक्त पुस्तक बुक हिमालयले प्रकाशित गरेर बजारमा ल्याएकाे छ।
पुस्तकबाट आएकाे राेयाल्टी स्वरुपकाे रकमसमेत त्यस्ताखाले बिरामीकाे उपचारमा खर्च गर्ने घाेषणा गरिसकेका छन्। विगतदेखि वर्तमानसम्मका कतिपय घटनाहरू सम्झिने क्रममा उनी बताउँछन्, ‘जीवन एक प्रक्रिया न हो। जहाँ आँसु पनि छ खुसी पनि छ।’