सवारी चालककाे रोदन– सरकारले हाम्रो त बिल्लीबाठै बनायो (भिडियाे)

पछिल्लाे समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढाएको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेललगायतकाे मूल्य बढाएको हो।

त्यसैले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २७ रुपैयाँले बढेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि भएकाे छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पर्छ।

पेट्रोलियम पदार्थको मूल्य बढेसंगै सवारी चालकहरू मारमा परेका छन्। निगमले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा आफूहरू मर्कामा परेकाे सवारी चालकहरु बताउँछन्।

पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले आफूहरुको बिल्लीबाठै नै बनाएको उनीहरु गुनासो गर्छन्। 

रामेछापका २५ वर्षीय छत्रबहादुर श्रेष्ठले काठमाडाैँमा ट्याक्सी चलाउन थालेकाे सात वर्ष भयाे। विगतका दिनमा ट्याक्सी गुडाएर खान पुग्ने उनलाई हिजाेआज भने गुजारा चलाउनै मुस्किल छ। कारण हाे– लगातार बढिरहेकाे पेट्रोलियम पदार्थकाे मूल्य।

‘सरकारले पेट्रोलियम पदार्थकाे मूल्य बढाइरहेकाे छ, यस्ताे तरिकाले त हामीजस्ता जनता कसरी बाँच्न सक्छाैँ र?’, उनले भने।

दिनभरि ट्याक्सी चलाउँदा साहुलाई दिने पैसा मात्र कमाइ हुने बताउँदै उनी बिएल नेपाली सेवासँग भन्छन्, ‘घर फर्किँदा कहिले त पानी किनेर खाने पैसा पनि हुँदैन।’

सरकारले लगातार पेट्रोलियम पदार्थकाे मूल्य बढाउँदा सवारी चालक बढी मर्कामा परेकाे उनकाे बुझाइ छ।

‘यता सरकार भाउ बढाइदिन्छ, उता ग्राहक बढी पैसा तिर्न मान्दैनन्। त्यसैले यसकाे पीर हामीजस्ता चालकलाई भइरहेकाे छ’, उनले भने। 

समु राई पठाओ चलाउन थालेकाे डेढ वर्ष भयाे। पठाओ गुडाएकै भरमा घरमा थेगभर गर्ने उनी हालै अर्काे काम गर्न चाहन्छन्।

‘अर्काे काम गर्ने साेचमा छु’, उनले भने, ‘म काम गरेर खाने व्यक्ति हुँ। त्यसैले यसरी पेट्रोलियम पदार्थकाे मूल्य बढिरहने हाे भने हामीजस्ता त भाेकै मर्छाैँ। हामीजस्ता चालकलाई बाँच्ने वातावरणा बनाइिदनु पर्याे सरकार!’

पेट्रोलकाे मूल्य बढाइरहने हाे भने पठाओकाे मूल्य पनि वृद्धि गर्नुपर्ने उनकाे माग छ।

‘हामीजस्ता गरिबले जतिसुकै मारामार गरेपनि हुनेवाला केही छैन। पेट्रोलकाे मूल्य घट्दैन। सबै पैसावाल मान्छेकाे चलखेल हाे’, उनी भन्छन्। 

त्यसैगरी दिपेन्द्रकुमार न्याैपाने पनि लगातारकाे मूल्यवृद्धिबाट निराश छन्। सरकारले गत महिनामा सरकारी कर्मचारीकाे तलब बढाएपछि मूल्य वृद्धि गरेकाे उनकाे बुझाइ छ।

‘सरकारले कर्मचारीकाे तलब बढाएपछि मूल्यवृद्धि भएकाे हाे’, उनले भने, ‘चुनावमा पेट्रोलियम पदार्थकाे मूल्य बढेन, अहिले स्वाट्टै बढ्याे।’

निरन्तर बढिरहेकाे मूल्यवृद्धि राेक्नका लागि आफू सडकमा उत्रिने पक्षमा रहेकाे उनले बताए। ‘अब हामी आन्दाेलन गर्ने पक्षमा छाैँ’, उनले भने, ‘याे वृद्धिलाई हटाउन हामीजस्ता चालक नै उठ्नुपर्छ।’

त्यस्तै अर्का चालक हुन्, सिन्धुपाल्चोकका अभिषेक वाइबा। १३ वर्षदेखि गाडी हाँकिरहेका उनलाई हिजोआजकाे मूल्यवृद्धिले पिराेलिरहेकाे छ।

‘सरकारले पेट्रोलियम पदार्थको भाउ बढाइदिएर हामीलाई मर्कामा पारेको छ’, उनी आफ्नो दु:ख सुनाउँदै भन्छन्,‘दिनभरि काम गरे पनि दुई/चार पैसा बचाउन गाह्रो छ।’

यसरी पेट्रोलको भाउ बढेअनुसार नै गाडी भाडा पनि बढ्नुपर्ने उनको भनाइ छ। ‘गाडी भाडा बढे यात्रुलाई पीर, नबढे हामी चालकलाई दु:ख। जे भए पनि दुख हुने भनेकाे हामीजस्ता सर्वसाधारणलाई नै हाे।’

प्रकाशित मिति: : 2022-06-20 21:17:00

प्रतिकृया दिनुहोस्