सेयर बजार निरन्तर ओरालोतर्फ, सूचक १९३४ अंकमा  झर्यो 

File photo
File photo

सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार बजार सूचक नेप्से ओरालो लागेको छ। गत साताभरमा निरन्तर ओरालो लाग्दै आएको बजार सूचकको गिरावटको क्रम आइतबार पनि नरोकिएन। 

आइतबार नेप्से १।८९ प्रतिशत अर्थात ३७.२७ अंकले घटेर १९३४ दशमलव ११ अंकमा आइपुगेको छ। गत साता नेप्से ७७ अंक घटेर १९७१ दशमलव ३८ अंकमा ओर्लिएको थियो। ठूला कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७.२९ अंक अर्थात १ दशमलव ९१ प्रतिशतले घटेर ३७३ दशमलव ८५ अंकमा ओर्लिएको छ।

आज २३३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ। २७ हजार ६ वटा संख्यामा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो।

कारोबारमा आएका सबै उपसमूहगत सूचक राताम्मे बनेको छ। विकास बैंक, फाइनान्स, अन्य, म्युचुअल फण्ड र जलविद्युतको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ।

घटेको बजारमा नेपाल टेलिकमको उच्च कारोबार भएको छ। टेलिकमको १० करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसैगरी एनसीसी बैंकको ५ करोड ६८ लाख, सेञ्चुरी कमर्सियल बैंक ४ करोड ८२ लाख, नबिल बैंक ४ करोड ७ लाख र एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको बजारमा आधिँखोला जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ।

आइतबारको बजारमा रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेर २४६.९० रुपैयाँमा झरेको छ। बलेफी हाइड्रोपावर ८.१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक ७.६८ प्रतिशत, माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेड ७.३३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.११ प्रतिशतका दरले ओरालो लागेको छ।

प्रकाशित मिति: : 2022-06-19 17:22:00

प्रतिकृया दिनुहोस्