अपराधमुक्त राजधानी बनाउने ‘मेट्रो’ प्रमुख एआईजी धानुकको योजना: गुण्डा र बिचौलियामाथि कडा निगरानी

शनि शाक्य

काठमाडौं

‘नागरिकको सुरक्षा गर्न र विद्यमान कानुनको रक्षा गर्न खटिएको प्रहरी कर्मचारीले गुण्डा र बिचौलियासँग उठबस गर्न पाइँदैन। यसो गरेको भेटिएमा प्रहरी भनेर हुँदैन ठाउँको ठाउँ कारवाही हुन्छ,’ यो भनाइ महानगरीय प्रहरी प्रमुख एआईजी रविन्द्र धानुकको हो।

महानगरीय प्रहरी प्रमुखको कार्यभार सम्हाले लगत्तै एआईजी धानुकले काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख तथा मातहतका सबै प्रहरी प्रमुखलाई बोलाएर ब्रिफिङ गरेका थिए।

‘तपाईंहरुलाई सरकारले तलब भत्ता दिएको छ। आम नागरिकको सेवा र विद्यमान कानुनको रक्षाको जिम्मेवारी पाएको तपाईंहरुले दाँयाबाँया गरेको देखेँ र सुनेँ भने राम्रो हुनेछैन,’ उनले भनेका थिए।

त्यसको केही दिनपछि एआईजी धानुकले महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी मिलन केसीलाई मेट्रोमै तानेर अनुसन्धान अघि बढाए।

निमार्ण व्यवसायीको हत्या गर्ने गुण्डा समिरमान बस्नेतलाई बिदाको दिन पारेर जेलमै भेट्न गएको भेटिएपछि एआइजी धानुकले उनलाई मेट्रोमा तानेर अनुसन्धान अघि बढाएका हुन्।

डिएसपी केसीलाई तान्नु केही दिनअघि मात्र एआईजी धानुकले गुण्डासँग साठगाँठ र बिचौलियासँग उठबस गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका थिए।

त्यतिमात्र नभएर उनले विवादित व्यक्तिलाई बोकेर जेलमा रहेका ‘कुख्यात गुण्डा’ सँग मिटिङ गराएका थिए।

उपत्यकामा कार्यरत प्रहरीहरुले अपराधीसँग साठगाँठ गरेको यो पहिलो घटना भने हाेइन तर नेताहरुको पहुँच र हाकिमको आशिर्वादले उम्कँदै आएका बेला एआईजी धानुकले भने छाडेनन्, जसका कारण उपत्यकाभरिका प्रहरीमा अहिले हल्लीखल्ली मच्चिएको छ।

एआइजी धानुकको इन्ट्रीसँगै उपत्यकामा कार्यरत प्रहरीको पसिना छुट्न थालेको छ। गुण्डासँग साठगाँठ र बिचौलियासँग उठबस देखेमा तत्काल कारवाही गर्ने भन्दै एआईजी धानुकले दिएको चेतावनीले उनीहरुको पसिना छुटेको हो।

‘धानुक साव आउनुअघि राति १० बजे निरीक्षण गरेर सुत्न पाइन्थ्यो, अहिले त एक बजेसम्म कार्यस्थलमा तैनाथ हुनुपर्छ,’ काठमाडौंको एक वृत्तका एक डिएसपीले नाम उल्लेख नगर्ने सर्तमा बिएल नेपाली सेवासँग भने।

उनी मात्र हाेइन, अहिले काठमाडौंका प्रत्येक प्रहरी युनिटका प्रमुखलाई उस्तै तनाव छ। यसअघि १० बजेतिर जुनियरलाई जिम्मा लगाएर साइट लाग्ने हाकिमलाई एआईजी धानुकको इन्ट्रीले निद हराम गरेको छ।

‘राजधानीको इज्जत मुलुकको इज्जतसँग जोडिएको हुन्छ। राजधानी नै सुरक्षित भएन भने त्यसको म्यासेज गलत जान्छ,’ बिएल नेपाली सेवासँग कुरा गर्दै एआईजी धानुकले भने, ‘डिउटीमा रहने सिपाही मात्र हाेइन, कमाण्डर पनि तैनाथ हुनुपर्छ। म आफैँ राति १ बजेसम्म कार्यस्थलमै हुन्छु।’

त्यसैगरी एआईजी धानुकले गुण्डा र बिचौलियासँग उठबस गर्ने प्रहरीलाई तत्काल कारवाही गर्ने समेत बताएका छन्।

‘नागरिकको सुरक्षामा खटिने प्रहरीले नागरिकलाई लुट्ने र दुख दिने गुण्डासँग उठबस गर्न मिल्दैन। त्यसो गरेको पाइएमा तत्काल कारवाही हुन्छ। त्यसको सुरुवात सबैलाई थाहा भइसकेको छ,’ उनले भने।


११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ


यसअघि सजाय पाएर बसेका तथा भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गरेका गुण्डाहरुको खोजी थालिएको समेत एआईजी धानुकले बताए।

‘विगतमा सजाय पाएर बसेकाको निगरानी बढाएका छौं। अनि भूमिगत शैलीमा रहेर सहयोगी खटाउँदै गुण्डागर्दी गरेको सुनिन थालेको छ, त्यो हेर्दैछौँ, तत्काल एक्सनमा उत्रिने तयारीमा छौं,’ एआईजी धानुकले भने।

त्यसैगरी उपत्यका भित्रिने नाकामा पनि विषेश प्रहरी निगरानी बढाएको एआईजी धानुकले बताए।

उनले भने, ‘काठमाडौं उपत्यका भित्रिने नाकामा हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौँ। भन्सार छलीका सामानदेखि लागुऔषध भित्रिन नदिन हामीले हदैसम्मको सुरक्षा परिचालन गरेका छौं।’

त्यसैगरी चुरे दोहान रोक्नका लागि स्थानीय सरकारसँग समन्वय गरी अघि बढेको पनि एआईजी धानुकले बताए। ‘क्रसरबाट कुनै प्रहरीले पैसा खायो अथवा चलखेल गरेको भेटिए त्यो बाँकी रहँदैन। यो कुरा मैलै अस्ति नै भनिसकेको छु,’ एआईजी धानुकले भने।

त्यसैगरी विमानस्थलबाट हुने सुन तस्करीलाई रोक्न र अपराधीलाई आउजाउ गर्न नदिन पनि विषेश सुरक्षा टोली परिचालन गरिएको एआइजी धानुकले बताए।

एआईजी धानुकले भने, ‘पछिल्लो समयमा विमानस्थलबाट तस्करी बढेको भन्ने गुनासो आएको छ, त्यसैले मैलै विमानस्थलमा विषेश सुरक्षा टोलीलाई परिचलान गरेको छु।’

त्यस्तै लागुऔषध नियन्त्रणमा पनि उत्तिकै प्रहरीलाई चनाखो बनाएको उनको भनाइ छ। ‘तपाईंहरुलाई थाहै छ, हिजोअस्ति मात्र ५१ किलो हेरोइन बरामद भयो। यति धेरै एकै पटक बरामद गरेको नेपाल प्रहरीको पहिलो घटना हो।’

‘यो अप्रेशनले अन्तर्राष्ट्रिय तस्करको समेत फेर कामेको छ’, एआईजी धानुकले भने। यसो त धानुक जहाँ बसे त्यहाँ केही न केही छाप छाडेर गएका हुन्छन्। धानुक एसपी हुँदा २ नम्बर प्रदेशका जिल्लामा भारतबाट तस्करी हुने रोडा बालुवाको लाइन बन्द गरेका थिए। जसका कारण भारतले दुतावास हुँदै सरकारलाई त्यसो नगर्न अनुरोध गरेको थियो।

वर्षौँदेखिको सेटिङलाई भत्काउँदै धानुकले भारत जाने अवैध रोडा बालुवा रोख्दा प्रहरीकै शिर उच्च भएको थियो। त्यसैगरी उनी एसएसपी भएर काठमाडौं तथा ललितपुरको सफल कार्यकाल पुरा गरेका थिए।


पाँच ‘डेन्जर’ महिला, जसको अपराध कर्म यस्तो छ


काठमाडौंको प्रहरी प्रमुख भएर आउँदा गुण्डाहरुको भागाभाग नै भएको थियो। धानुकले १३ महिनासम्म ललितपुरको प्रहरी प्रमुख भएर काम गरे।

ललितपुरको चुरे संरक्षण तथा अन्य तस्करीलाई पनि उनले जिरोमा झारेका थिए। उपत्यकाका तीनवटै जिल्ला बुझेका धानुक मेट्रोको जिम्मेवारी पाएका छन्। उनको जिम्मेवारीसँगै उपत्यकाको शान्ति सुरक्षामा सुधार आउने सरोकारवालाहरुले बताएका छन्।

प्रकाशित मिति: : 2022-06-19 20:55:00

प्रतिकृया दिनुहोस्