जुम्लाका दलबहादुर र मञ्जुलाई चौंथो ‘गुरिल्ला अल्ट्रा म्याराथन’को टाईटल

रूकुम (पूर्व)को भूमे गाउँपालिका- ६ महतगाउँमा सम्पन्न चौंथौ संस्करणको ‘गुरिल्ला अल्ट्रा म्याराथन’मा कर्णाली स्पोर्टस जुम्लाका दलबहादुरु कुँवर विजेता बनेका छन। शुक्रबार सम्पन्न ६२ किलोमिटर लामो गुरिल्ला अल्ट्रा म्याराथन उनले ५ घण्टा ५३ मिनेट २ सेकेण्डमा पूरा गरेर टाईटल हात पारेका हुन्।

यसअघि गत चैत २६ गते जुल्मा अल्ट्रा म्याराथनमा ४९ किमिको डौड प्रतियोगितामा कुँवर दोस्रो भएका थिए। त्यतिबेला उनले उक्त दुरी ५ घण्टा ५ मिनेट ७ सेकेन्डमा पूरा गरेका थिए।

विजेता कुँवरले ट्र्याक निकै कठिन तर रोमाञ्चक रहेको बताउँदै आगामी दिनमा हुने अन्य म्याराथन प्रतियोगिताहरुमा निरन्तर सहभागी हुने बताए।

त्यस्तै रुकुम (पूर्व) भूमे– २, खाबाङका हिमाल बुढा मगर दोस्रो बनेका छन। मगरले उक्त दुरी ६ घण्टा २१ मिनेट ६ सेकेण्डमा पूरा गरे। त्यसैगरी रूकुम पश्चिमका दुर्गाबहादुर बुढाले तेस्रो स्थान प्राप्त गरेका छन। उनले सो दुरी ६ घण्टा ३० मिनेट ५७ सेकेण्डमा पूरा गरेका थिए।

त्यस्तै महिलातर्फ कर्णाली स्पोर्टस क्लबकै जुम्लाका मञ्जु रावत प्रथम भइन्। उनले ६२ किमीको दुरी ६ घण्टा ५६ मिनेट ३६ सेकेन्डमा पार गरेकी थिइन।

सोलुखुम्बुकी अनिता राईले ८ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै दोस्रो र ८ घण्टा ३२ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै रोल्पाकी आस्मति विकले तेस्रो स्थान हासिल गरिन्। भोजपुरकी अनिता राईले ८ घण्टा ५८ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै चौथो भइन।

त्यस्तै १० किलोमिटरको प्रतियोगिताकाे पुरुषतर्फ रुकुम (पूर्व) भूमे- ३ झुम्लाबाङका जीवन थापा मगरले एक घण्टा दुई मिनटमा पार गर्दै प्रथम भए भने रुकुम (पश्चिम) वाँफिकोटका केशव बुढामगरले एक घण्टा ४ मिनेटमा दुरी पार गर्दै दोस्रो स्थान र रुकुम (पूर्व) भूमेका सन्दीप बुढाले एक घण्टा ६ मिनेटमा निर्धारीत दुरी पार गर्दै तेस्रो भएका छन।

त्यसैगरी १० किलाेमिटर विधा अन्तर्गत महिलातर्फ रूकुम (पूर्व)की सुनकुमारी सुनार पहिलो बनिन्। सुनारले १० किलामिटरको दुरी १ घण्टा ४० मिनेटमा पूरा गर्दै विजेता बनिन्।

सोही प्रतियोगितामा रुकुम(पूर्व) भूमेका प्रिया पुन मगरले दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन्। उनले उक्त दुरी १ घण्टा ५० मिनेटमा पूरा गरेकी थिइन्।

विनिता शेर्पालीले २ घण्टा ९ मिनेटमा दुरी पार गर्दै  तेस्रो स्थान हासिल गरिन।

६२ किमी विधामा पुरस्कार पहिलाे, दाेस्राे, तेस्राे र चाैंथाे क्रमश: रू. ५० हजार, ३० हजार,  १५ हजार र ८ हजारसहित मेडल र कप राखिएको थियो। १० किमीमा पुरस्कार हिलाे, दाेस्राे, तेस्राे र चाैंथाेलाई क्रमश: रू. १० हजार, ६ हजार, ३ हजार र २ हजार प्रदान गरिएकाे छ।

पाचौंदेखि दशौं स्थान हासिल गरेकालाई पनि नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियाे।

१० किलोटिरको रुट महत हुँदै लाबाङ– र्धाशालाबाट पुनः महत। ६२ किलोमिटर म्याराथनको रुट महतगाउँबाट सुरु भई लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठुलो लेक हुँदै महत पुगेर टुंगिएको थियो।

विजेताहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कमला रोकाले धावक/धाविकालाई बढाई दिँदै प्रमाण पत्र, मेडल, कप र नगद्वारा पुरस्कृत गरेकी थिइन।

माओवादी सशस्त्र द्वन्द्वकालको आधार क्षेत्रमा पर्यटन विकास तथा प्रवर्धनका लागि वर्षेनी म्याराथनको आयोजना गरिएको भूमे युवा विकास केन्द्रका संयोजक सुनिलकुमार रोकाले बताएका छन।

माओवादी द्वन्द कालको इतिहासलाई स्मरण गर्न र प्रत्यक्ष र अप्रत्यक्ष भोगाइबाट पाठ सिक्नपर्ने केन्द्रका सचिव अजय मगरको भनाइ छ। यो खेललाई विशुद्ध सहासिक रुपले हेरिदिन समेत उनले आग्रह गरे। गुरिल्ला पदमार्ग अन्तर्गत रूकुम (पूर्व) महतगाउँबाट सुरु भएको म्याराथन लाबाङ जलजलाहुँदै रोल्पाको थबाङ मारीङ र महतसम्मको ६२ किलोमिटर लामो चौथो गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता २०७५ देखि आयोजना गरिएको हो। कोरोना महामारीको कारण २०७७ मा रोकिएको थियो।

'चौथो गुरिल्ला अल्ट्रा म्यारथन २०७९' को संस्करणमा जुम्ला, भोजपुर, सोलुखुम्बु, ताप्लेजुङ, रोल्पा, रुकुम (पश्चिम र पूर्व)लगायत जिल्लाका ९९ जनाले भाग लिएका थिए। जसमध्ये महिला १९ र पुरुष ८० जनाको सहभागि जनाएका थिए।

रुकुम (पूर्व)मा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले प्रवर्धन गर्दै आएको र भूमे युवा विकास केन्द्रले आयोजना गर्दै आएको छ।

प्रतियोगितामा प्रतिनिधि सभाका सदस्य पूर्व मन्त्री कमला रोकासहित पूर्व मन्त्री दलजित शेर्पाली, लुम्बिनी प्रदेश सांसद तेजबहादुर ओली, पूर्व सांसद जुनकुमारी रोका, रुकुम (पूर्व)का जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा, निवर्तन अध्यक्ष रामसुर बुढा मगर र प्रसाशकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ लगायतले धावक खेलाडीहरुलाई हौसला दिन म्याराथन सुरुवात स्थल महतगाँउ पुगेका थिए।

प्रकाशित मिति: : 2022-06-18 05:42:00

प्रतिकृया दिनुहोस्