‘मेन्था’ उत्पादन आधा घट्यो

File photo
File photo

कैलालीको टीकापुर क्षेत्रमा यस वर्ष जडीबुटी (मेन्था) उत्पादन अघिल्लो वर्षको तुलनामा आधा कम भएको छ। यस वर्ष मेन्था खेती ढिलो रोपाइँ र सिँचाइ अभाव भएपछि उत्पादन घटेको हो।

गत वर्ष यहाँ दुई हजार १०० लिटर मेन्थाको तेल उत्पादन भएको थियो तर यस वर्ष एक हजार ४०० लिटरमात्र उत्पादन भएको छ।

जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरले यस वर्ष दुई हजार ५०० लिटर तेल उत्पादन गर्ने लक्ष्य लिएको थियो।

कार्यालयले किसानलाई खेतीका लागि न्यूनतम मूल्यमा बीउ उपलब्ध गराउने, निःशुल्क प्रशोधन, प्राविधिक सल्लाह दिने गरेको छ।

टीकापुरका दिलबहादुर चौधरीले यस वर्ष एक बिघामा मेन्थाखेती गरेका थिए। प्रतिकट्ठा औसतमा चार लिटर मेन्था तेल उत्पादन हुनुपर्नेमा यस वर्ष एक बिघा जमिनमा जम्मा १० लिटर मात्रै उत्पादन भयो। मेन्थाको तेल प्रतिलिटर रु एक हजार १५० मा बिक्री हुन्छ। 

'गत वर्ष राम्रो उत्पादन भएको थियो। यस वर्ष खेती गर्नुमात्रै भयो' दिलबहादुरले भने,  'खेती गर्न बेर्ना जडीबुटी प्रशोधन कार्यालयले दिन्छ, उत्पादन भएपछि प्रशोधन पनि उसैले गर्छ, किसानले काटेर कार्यालयसम्म पुर्याएर मात्र दुःख हो। त्यसैले सजिलो थियो तर यस वर्ष उत्पादन राम्रो भएन।'

टीकापुर नगरपालिका वनगाउँकी अस्मिता चौधरीले १० कट्ठा क्षेत्रफलमा मेन्था राेपेका थिए। उनले फागुनको पहिलो साता रोपे। तर उनको मेन्था खेती राम्रो उत्पादन भएन। यस वर्ष मेन्था खेतीले घाटा मात्र नभई निराश बनाएको उनको गुनासो छ।

धान रोप्नुभन्दा पहिला आम्दानी प्राप्त हुने खेतीका रुपमा रहेको मेन्था खेतीप्रति उत्साहित भएका किसानले यस वर्ष नोक्सानी बेहोेरेका छन्।

खेती गर्न सहज, लगानी कम लाग्ने खेती भए पनि यो वर्ष लागत मूल्यसमेत प्राप्त नहुँदा किसानलाई घाटा भएको वनगाउँका अर्का किसान पार्वती चौधरीले बताइन्। 

'मेन्था खेतीबाट आम्दानी भएको रकम धानखेती गर्दा काम लाग्थ्यो' पार्वतीले भनिन्, 'आकाशे पानी नपरेका कारण पनि यस वर्ष उत्पादन राम्रो हुन नसकेको हो।'

मेन्था धान र तोरीखेती पछिको तेस्रो बालीका रुपमा गरिन्छ। यहाँका किसानले तेस्रो बालीका रुपमा सहजै खेती गर्न सकिने भएकाले मेन्थाखेती गर्ने गरेका छन्।

यस वर्ष टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका क्षेत्रमा १०१ किसानले ४० बिघा क्षेत्रफलमा मेन्थाखेती गरेका जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरले जानकारी दिएको छ।

एक सय १० दिनमा तयार हुने मेन्थाखेती यस वर्ष रोप्ने समयमा किसानले ढिलाइ भएको र सिँचाइ पर्याप्त नहुँदा खेती राम्रो नभएको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्वासेले बताए।

'मेन्थाखेती माघ महिनामा रोपिसक्नुपर्ने हुन्छ, तर गएको माघ महिनामा वर्षा भइरहेकाले किसानको खेत सुख्खा नहुँदा मेन्थाखेती गर्न ढिलाइ भयो। त्यसपछि आवश्यक सिँचाइ अभाव भयो' बेल्वासेले भने, 'एक-दुई पटक वर्षा भएको भए, सिँचाइ कुलामा पानी भएको भए खेती राम्रो हुन्थ्यो, त्यसो हुन सकेन। जसले उत्पादनमा असर परेको छ।'

मेन्थाको तेलबाट रुघाखोकी लाग्दा प्रयोग हुने सञ्चो लगायतका तेल उत्पादन हुने गरेका छन्। कार्यालयले किसान आफैँले प्रशोधन गरेको तेल पनि किन्ने गरेको छ।

कार्यालयसँग प्रशोधनका लागि पर्याप्त मेशिन छन्। तर बेर्ना उत्पादनका लागि जमिन अभाव छ। कार्यालयसँग जम्मा तीन हेक्टर जमिन छ। दुई हेक्टरमा बेर्ना उत्पादन हुने गरेको छ। कार्यालय परिसरमा उत्पादन हुने बेर्ना ४० बिघाका लागि मात्र पुग्ने गरेको बेल्वासे बताउँछन्।

'कार्यालयसँग १०० बिघा जमिनको मेन्था प्रशोधन गर्नसक्ने मेसिन छन्। मेसिनले क्षमता जति मेन्था प्रशोधन गर्न पाएको छैन। कार्यालयसँग हाल छ वटा अत्याधुनिक प्रशोधन मेसिन छन्। तीन घण्टामा तीन टन कच्चापदार्थ प्रशोधन गर्न सकिन्छ' उनले भने, 'यी मेसिन २४सै घण्टा चलाउन सकिन्छ। दैनिक २४ टन कच्चा पदार्थ प्रशोधन गर्न सकिन्छ। मेसिनले नियमित काम पाउन सकेको अवस्था छैन। दैनिक २४० लिटर तेल उत्पादन लिन सकिन्छ तर कच्चा पदार्थ अभाव छ।' दुर्गा देवकोटा

प्रकाशित मिति: : 2022-06-17 14:24:00

प्रतिकृया दिनुहोस्