म्याग्दीका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन्।
सङ्घीय संरचनामा दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा भर्खर मात्रै वडा र पालिकाको नेतृत्व सम्हालेका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकालको विकासको खाका यसै वर्षको नीति तथा कार्यक्रम र बजेटबाट कोर्नेछन्।
पाँच वर्षे कार्यकालको सुरुआतको गाउँ/नगर अधिवेशन भएकाले पनि कस्तो खालको नीति तथा कार्यक्रम र बजेट ल्याउँछन् भनेर आम चासोको साथ हेरिएको छ।
बेनी नगरपाकिालले असार १० गते नगरसभा गर्ने तयारी गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ७१ करोड १३ लाख बराबरको बजेट ल्याउने गृहकार्य गरिरहेको छ।
सङ्घ र प्रदेश सरकारले पठाएको अनुदानमा नगरपालिका अनुमानित आम्दानीलाई समेत जोडेर बजेट निर्माणको तयारीमा जुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए।
नगरपालिकाले बजेटको सीमा निर्धारण गरी वडा र विषयगत समितिमार्फत योजना छनोट सुरु गरेको छ।
वडा नं ७ र ८ लाई रु ५०/५० लाख, वडा नं १, ४, ६ र १० लाई रु ५५/५५ लाख र वडा नं २, ३ र ९ लाई रु ६०/६० लाख बजेटको सीमा तोकिएको छ।
आर्थिक विकास समितिलाई रु दुई करोड, सामाजिक विकास समितिलाई रु दुई करोड ८० लाख, पूर्वाधार निर्माण समितिलाई रु चार करोड २० लाख, सुशासन तथा संस्थागत विकास समितिलाई रु ६५ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिलाई रु ८५ लाख बजेटका सीमा तोकिएको छ।
वडालाई तोकिएको सीमाबाट वडास्तरीय र विषयगत समितिलाई निर्धारण गरिएको बजेटको सीमामा रहेर नगरस्तरीय योजना छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।
नगरभित्र भूगोल र जनसङ्ख्याका आधारमा बजेटको सीमा निर्धारण गरिएको र टुक्रे योजनालाई हटाउने नीतिलाई प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख सुरत केसीले बताए।
उनका अनुसार नगरपालिकामा वडास्तरका योजना रु तीन लाख र नगरस्तरका योजनामा रु पाँच लाखभन्दा कम बजेटका हुने छैनन्।
बजेटमा बेनी–पात्लेखेत सडक, खुलामञ्च, नगरबाट वडा कार्यालय जोड्ने बेनी–पुलाचौर, बेनी–भकिम्ली र बेनी–भकुण्डे सडकलाई प्राथमिकता दिएर योजना तर्जुमा गरिने जनाइएको छ।
त्यसैगरी सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सुझाव दिन गठित कार्यदलको सिफारिस बमोजिम शिक्षा क्षेत्रमा नगरपालिकाले विशेष सम्बोधन गर्ने तयारी गरिएको छ।
रघुगङ्गा गाउँपालिकाले भौतिक पूर्वाधारसँगै सशक्तीकरण र रोजगार सिर्जना हुने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी गरेको छ।
दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्ष पदमा दोहोरिनुभएका भवबहादुर भण्डारीले पहिलो कार्यकालमा भौतिक विकासको आधार तयार भएको बताउँदै यस वर्षदेखि नयाँ ढङ्गले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न लागिएको बताए।
रघुगङ्गामा वडास्तरका योजनालाई घटाइएको छ। वडा नं २ र ३ लाई रु २५/२५ लाख, वडा नं ६ र ८ लाई रु २२/२२ लाख र अन्य सबै वडालाई रु २०/२० लाखको बजेटको सीमा दिइएको छ। वडास्तरका योजनाका लागि रु एक करोड ७४ लाख बजेटको सीमा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।
पूर्वाधार निर्माणसँगै शसक्तीकरण, सीपमूलक तालिम, रोजगार सिर्जना गर्ने क्षेत्र, पशुपालन र कृषिमा उत्पे्ररित गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट आउने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।
असार ४ गतेभित्र वडास्तरीय योजना छनोट सकेर ५ गते विषयगत समितिको योजना छनोट गरी ९ गतेभित्र गाउँसभा गर्ने तयारी गरेको रघुगङ्गाले सामाजिक सुरक्षा भत्तासहित रु ५० करोड बढीको बजेट ल्याउने तयारी गरेको छ।
मङ्गला गाउँपालिकाले असार १० गते गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। अहिले वडास्तरमा बजेटको सीमा निर्धारण गरी पठाइएको र वडाबाट आएपछि विषयगत समितिमार्फत पालिकास्तरका योजनाको टुङ्गो लगाइने प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए।
मङ्गलामा वडा नं १ लाई रु ६५ लाख, वडा नं २ लाई रु ८५ लाख, वडा नं ३ लाई रु ५० लाख, वडा नं ४ लाई रु ३२ लाख र वडा नं ५ लाई रु ७५ लाखको बजेटको सीमा निर्धारण गरिएको छ।
भूगोल र जनसङ्ख्यालाई आधार बनाएर वडास्तरीय योजनाका लागि बजेटको सीमा निर्धारण गरिएको बताइए पनि वडा नं ३ र ४ का स्थानीयवासीले भने बजेट सीमामा विभेद गरिएको भन्दै विरोधसमेत जनाएका छन्। मङ्गलामा रु ४१ करोडको हाराहारीमा बजेट ल्याउने तयारी छ।
अन्नपूर्ण गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। पहिलो चरणमा वडा स्तरका योजनाका लागि रु चार करोड ८० लाल बराबरको बजेटको सीमा तोकेर वडास्तरमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए।
उनका अनुसार वडा नं १ र २ लाई रु ५५/५५ लाख, वडा नं ३, ४, ७ र ८ लाई रु ६०/६० लाख, वडा नं ५ र ६ लाई रु ६५/६५ लाख बजेटको सीमा तोकिएको छ।
वडास्तरीय योजना टुङ्गिएपछि विषयगत समितिमार्फत पालिकास्तरीय योजनाको टुङ्गो लगाएर कार्यपालिकाबाट अनुमोदन भई गाउँसभामा पेश गर्ने तयारी छ।
मालिका गाउँपालिकाले रु ४५ करोड बराबरको बजेट ल्याउने गरी गृहकार्य थालेको छ।
सात वडालाई कम्तीमा रु ५२ लाखदेखि बढीमा ६५ लाखसम्मको सीमा निर्धारण गरी वडास्तरका योजनाका लागि रु चार करोड बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए।
गाउँसभाको मिति कार्यपालिका बैठकमार्फत टुङ्गो लगाइने उनले बताए।
धवलागिरि गाउँपालिकाले समेत आन्तरिकरुपमा बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ।
विभिन्न समितिको बैठक बसेर तयारीलाई अगाडि बढाइएको र वडा र विषयगत समितिलाई बजेटको सीमा कार्यपालिका बैठकपछि मात्रै निर्धारण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए। कमल खत्री