बालेनको देवत्वकरण गर्दै समर्थक

प्रेम केडी

काठमाडौं
Breaknlinks
Breaknlinks

बुधबार दिनभर एउटा समाचारले सामाजिक सञ्जाल रङ्गियाे, काठमाडौँका महानगरपालिकाका मेयर बालेन्द्र साहले हिमालयन टेलिभिजनका पत्रकारमाथि गरेको हर्कत। साेही कारण मेयर बालेन पुन: विवादमा तानिए। फोहोर व्यवस्थापन सम्बन्धी रिपाेटिङ गर्न टेकु पुगेका पत्रकार प्रिन्स मिश्र र अभिष्ट लामालाई उनले दुर्व्यवहार गर्दै भिडियो समेत डिलेट गर्न लगाएकाे समाचारमा उल्लेख छ।

देशकाे राजधानी समेत रहेकाे काठमाडाैँ महानगरपालिकाका मेयरबारे आउने समाचारमा सबैको चासो रहने नै भयो। त्यसमाथि पनि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनैतिक दलका उम्मेद्धारहरुलाई भारी मतान्तरले पाखा लगाएर चर्चामा आएका मेयर साह काठमाडौँबासीको मात्र नभएर सारा नेपालीको आशाकाे केन्द्रमा छन्। तर, पद धारण गरे सँगै बालेनको चौतर्फी आलोचना सुरू भयो। बालेनलाई कुर्सीको अहमताले घमण्ड जाग्दै गएको भनेर टिप्पणी हुन सुरू भयाे। तर, बालेनका समर्थक भने बालेनको देवत्वकरणमै व्यस्त देखिन्छन।

बालेनका समर्थकहरु घटनाबारे बुझ्नभन्दा पनि बालेनलाई काम गर्न नदिएको भनेर सामाजिक सञ्जालमा आक्रोश पोख्नमै व्यस्त छन। बालेनका समर्थकहरुमा यो छ कि बालेन भगवान हुन, अनि बालेनबाट गल्ती नै हुँदैन। धार्मिक ग्रन्थहरु नै पढ्दा पनि भगवानमा पनि कमी कमजोरीहरु पढ्न पाइन्छ। तर, बालेनको गलत कामको आलोचना गर्न नै नपाइने भयो। केही महिनाअघि बालेनविरुद्ध नकारात्मक समाचार लेखेको भन्दै एक अनलाइनको फ्लोअर घटाउने अभियान नै चलाइएको थियो।

हुन त बालेन सबैले आश गरेका व्यक्ति हुन। राजनैतिक वितृष्णाका कारण पनि बालेन र उनी जस्ता स्वतन्त्र उम्मेद्धारहरुलाई अधिकांश जनताको साथ छ। तर, काम गर्ने सिलसिलामा कहिलेकाहीँ कमिकमजोरी हुन्छ, जसलाई औँल्याउनु सञ्चार माध्यम र नागरिकको कर्तव्य हो। मिडियाले सवल पक्षमात्र निकालिदेओस् र आफ्ना कमी कमजोरी लुकाइदियोस् भन्ने सोच्नु नै गलत हो।

केही समयअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको भन्दै आफ्नै कार्यकर्ताबाट एमाले नेता घनश्याम भुसाललाई कारबाहीको माग गरिएको थियो। एमालेमा ओली र उनको कार्यशैलीको कोही एक नेता कार्यकर्ताले आलोचना मात्र गर्‍याे भने पनि एमालेमा उसलाई टिक्न कठिन हुन्छ। तल्लो तह हुँदै माथिल्लो तहका नेताहरुबाट समेत गालीको वर्षा हुन्छ। एमालेमा ओलीलाई देवत्वकरण गर्ने प्रथा भएजस्तै बालेन्द्रलाई पनि उनका समर्थकले देवत्वकरण गरिरहेका छन। गलत कार्यको खबरदारी गरिनुपर्छ चाहे त्यो दलका नेता हुन या स्वतन्त्र नेता। देवत्वकरण गर्ने प्रथाले नै हो आज राजनितिक दल र तिनका कार्यकर्ताप्रति जनतामा वितृष्णा जागेको।

बालेनलाई पनि यसरी नै देवत्वकरण गर्ने हो भने बालेन हौसिन सक्नेछन र जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ बन्न सक्छ। त्यसैले बेलैमा सजग बनौँ राम्रा कामको समर्थन गरौँ, गलत कार्यको आलोचना गरौँ। अन्य राजनैतिक दलमा आस्था राख्दा वा राजनैतिक दलका नेतालाई समर्थन गर्दा झोले कार्यकर्ताको ट्याग भिराउने बालेनका यस्ता अराजक समर्थकलाई चाहिँ के को ट्याग भिराउने ?

प्रकाशित मिति: : 2022-06-16 16:04:00

प्रतिकृया दिनुहोस्