गैरआवसीय नेपाली संघ (एनआरएनए)का तीन अध्यक्ष मध्ये एक हुन्, कुल आचार्य। केही महिनाअघि मात्रै सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनी हाल संघलाई सुदृढ बनाउने अभियानमा जुटेका छन्।
गैरआवसीय नेपालीलाई गैरआवसीय नेपाली नागरिकता दिने कानुनी व्यवस्था मिलाउनकाे लागि उनी अहिले दाैडधुपमा छन्। यसै क्रममा नेपालमा रहेका आचार्यसँग बिएल नेपाली सेवाका लागि कमल प्रभात विकले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:
अस्तव्यस्त गैरआवसीय नेपाली संघ (एनआरएनए)लाई कसरी सम्हाल्दै हुनुहुन्छ ?
गैरआवसीय नेपाली संघ ठूलो सञ्जाल भएकाेले केही असमझ्दारी भए हाेलान् तर अस्तव्यस्त नै त न भनौँ। महाधिवेशनमा नेतृत्व लिन चाहनेहरू धेरै भएकाेले त्यस्ताे देखिएकाे हाे। अहिले हामी सबै एकै ठाउँमा बसेर सामूहिक रूपमा काम गरेका छाैँ। मलाई विश्वास छ, यो सामूहिक कामले अस्तव्यस्त नबनाइकन कन्ट्रोलिङ गरेर संघलाई अगाडि बढाउँछ।
महाधिवेशनको तिक्तता सकियाे कि अझै बाँकी छ ?
त्यस्तो तिक्तता राखेर भविष्य राम्रो हुँदैन। हामी त्यो तिक्कता बोकेर हिँड्ने पक्षमा छैनौँ, यदि कसैमा तिक्तता बाँकी छ भने पनि म के अनुरोध गर्न चाहन्छु भने रिसले आफैलाई खाने हो त्यसैले रिस गर्नु हुँदैन हाँसी/खुसी अगाडि बढ्नुपर्छ। हामी त्यही बाटोमा छौँ।
अध्यक्ष भएपछि के–के काम गर्नुभयो ?
संसारभरिका नेपालीलाई नेपासँग जोड्ने, कसरी हुन्छ नेपालमा पुँजी भित्र्याउने र नेपालमा डलर भित्र्याउनेलगायत विषयमा बढी फोकस गरेका छौँ। यही कुराहरुकै लागि भोलि (बिहीबार) नै एउटा सेमिनार हुँदैछ। संसारभरका ८० लाख नेपालीहरू नेपालसँग जोडियोस् र नेपालले पनि बाहिर बस्ने नेपालीहरुलाई पनि हाम्रै नेपाली भनेर माया गर्दिउन् भन्ने कुरामा ध्यान दिएका छाैँ। खासगरी राेकिएकाे गैरआवसीय नागरिकताको विधेक संसदबाट पास होस् भनेर हामी लविङ गरिहेका छौँ।
श्रमिकहरुको हक/हितको लागि सामाजिक सुरुक्षा कोषको व्यवस्था होस् भनेर काम गरिरहेका छौँ भने भर्खरै नेपाल सरकारले सरलिकरण गरेकाे डलर एकाउन्ट जुन छ, त्यसैलाई प्रयोग गर्नुहोस् भनेर लविङ गरिरहेका छौँ। त्यस्तै, सरकारले जुन वैदेशिक रोजगार बचन पत्र सुरु गरेको छ त्यो पनि गैरआवसीय नेपालीको हितमा हो भनेर हामीले संसारभरिका नेपालीहरुलाई आव्हान गरेका छौँ।
एनआरएनमा सुरुका दिनदेखि उठेको विषय दोहोराे नागरिकता तथा नागरिकताको निरन्तरता स्वरुप संविधानले व्यवस्था गरेको गैरआवसीय नेपाली नगरिकता जुन छ त्यो छिटोभन्दा छिटो ऐनमा व्यवस्था गर्ने गरी बढी फोकस गरेका छौँ।
तीन–तीन जना अध्यक्ष भएर संघ चलाउँदा कस्तो हुने रहिछ ?
यो भनेको हाम्रो अहिलेको परिस्थितिले सिर्जना गरेको कुरा हो। यसलाई हामीले सहजताका साथ अगाडि लिएर जानुपर्ने अवस्था हो र हामी त्यही अनुसार काम गरिरहेका छौँ। सल्लाहमै काम गरिरहेका छौँ। त्यसैले हामीले गरेको सामूहिक नेतृत्वको जुन प्रयास छ, त्यसलाई तपाईंहरुले पनि सहयोग गरिदिनुहोस् र यो अभ्यास पनि सफल हुन्छ। गैरआवसीय नेपाली संघ भनेको एउटा सामजिक संस्था हो। यस्ता संस्थाहरुमा मिलेर काम गर्दा जति फाइदा हुन्छ, झै–झगडा गरेर हुँदैन।
यसरी काम गर्दा समस्या हुने रहेन्छ, होइन ?
कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड विचार भने जस्तै आ–आफ्नो विचार आउनु त स्वभाविकै हो। त्यही भएर नै हामीहरु बस्नुपर्ने छलफल गर्नुपर्ने, मिटिङ गर्नुपर्ने अवस्था हुन्छ। त्यसैले हामीले स्वाच्छ हिसाबले यो अभियानलाई सफल गर्छौँ भनेर सुरुवात गरेपछि त्यस्तो ठूलो असहज भएको छैन।
अध्यक्षको कुर्सीबाट हेर्दा अहिले संसारभरका एनआरएनएहरुको अवस्था कस्तो छ ?
संसारभरका एनआरएनएको अवस्था भन्नुहुन्छ भने पहिलाभन्दा अहिले धेरै राम्राे छ। हामी संसारभरि राम्रोसँग स्थापित हुन सफल भएका छौँ। त्यसैले कहीँ पनि एनआरएनएहरुलाई दु:ख पर्यो, अप्ठारो पर्यो भने हामी सहयाेग गर्ने अवस्थामा छौँ। हाम्रो संसारभर नेटवर्क भइसकेको छ।
त्यस्तै नेपाल सरकारमा आएर गर्नुपर्ने केही कामहरु भए भने हामीले सरल रुपमा गर्न सक्ने वातावरण बनाएका छौँ। त्यसैले हामी फेरि पछाडिको बाटोमा फर्किएर झैँ–झगडा गर्ने छैनौँ। त्यतातिर तपाईंहरु पनि नगइदिनुहोला। यी कुराहरुलाई टुङ्ग्यान अक्टोबरमा अधिवेशन गर्ने घोषणा पनि गरेका छौँ। हामी के चाहन्छौ भने यो संस्थामा बिर्गिएको जुन छवि छ त्यसलाई टुङ्ग्याएर यो संस्था अघि लैजाने छौँ।
त्यसका लागि रणनीतिहरु के–के छन् ?
आउने अक्टोबारमा हामीले विज्ञ समूहमा विधान सम्मेलन गर्दैछौँ। त्यसबाट हामी विधान चेञ्ज गरेर अगाडि बढ्छौँ। त्यसपछि अक्टोबर २०२३ मा अधिवेशन गर्छौँ।
गैरआवसीय नागरिकता विधेकको प्रक्रिया कहाँ पुग्यो ?
आशा गरौँ, भोलि नै ससदबाट पास हुन्छ भन्ने कुरामा हामीलाई आशा छ। र, पास हुन्छ भन्नेमा हामीले विश्वास लिएका छौँ। हाम्रो माग भनेको दोहोरो नागरिकता हो, नेपाली नागरिकताको निरन्तरता हो। संविधानले जे व्यवस्था गरेको छ त्यसको स्वागत गर्दै कानुनमा व्यवस्था गर्नुपर्छ भनेर हामी लविङ गरिरहेका छौँ। त्यसकै लागि भोलि सेमिनार छ तपाईंहरुले देखि हाल्नुहुन्छ। आशा छ यो छिटोभन्दा छिटो टुङिगन्छ।
त्यसपछि संसारभरका नेपालीहरुले चाहना भएमा नागरिकता प्रयोग गर्न पाउनुहुन्छ। त्यसले घाटा १ प्रतिशत पनि हुँदैन, नाफै–नाफ हुन्छ। बाहिर बस्ने साथीहरुले जुन सम्पत्ति के हुन्छ भनेर चिन्ता लिनुभएको छ, त्यो सम्पत्तिको सुरक्षा हुन्छ। डराएर सम्पत्ति बेचेर विदेशमा पलायन हुने कुरा रोकिन्छ। र, नेपालको पुँजीमा अझै ठूलो सहयोग पुग्छ, लगानी गर्ने वातावरण बन्छ।
अर्को, नागरिकता भयाे भने लगानी गर्नमा अझै सहज हुन्छ। त्यसैले नेपाललाई फाइदा हुने र यो मातृभूमिको गुण तिर्ने अवसर हो। त्यो अवसरलाई सदुपयोग गर्ने बेला आउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ। र, संसारभर भएका नेपालीहरुलाई नेपालमा जोड्ने मुल मेरुदण्ड गैरआवसीय नेपाली नागरिकता हो।
तपाईंहरुले नेपालमा गर्न खोजेका मुख्य कुराहरु के–के हुन् ?
हामीले धेरै ग्रुपमा लगानी गरेका छौँ। सबैभन्दा ठूलो कुरा लगानी गर्ने रोजगारी दिने, उद्योग खोल्ने, अस्पताल खोल्ने, बाटोघाटो बनाउनेदेखि लिएर जुन कामहरु हामीले गरिरहेका छौँ, त्यसकाे निरन्तरता हाे। बाहिर बस्ने नेपालीहरुलाई सबैभन्दा समस्या के भयो भने विदेशी पासपोर्ट लिइसकेपछि के गर्ने त ? यहाँ ल्याएको लगानी सुरक्षित हुन्छ कि हुँदैन ? लागनी पासपोर्टमा गर्ने कि नागरिकतामा गर्ने ? भन्ने हाे। नेपाल सरकारले सम्मानपूर्वक नेपाली नागरिकता दियो भने त्यसले सहजीकरण गर्छ। हाम्रो मुख्या उद्देश्य भनेकै अबका नेपालीहरु विदेश पस्न नपरोस् भन्ने हो।
विदेशमा सिकेकाे ज्ञान र सीप नेपालमा ल्याउने कुरामा कसरी काम गर्नुुहुन्छ ?
ज्ञान र सीपको कुरामा गैरआवसीय नेपाली संघ र नेपाल सरकारले पनि गर्नुपर्ने कुरा छ। हामीले पनि ३ वर्षअगाडि नै विज्ञ सम्मेलन गर्यौँ, श्वेतपत्र बनाएर नेपाल सरकारलाई बुझायौँ तर सरकरले त्यो किसिमले गरिदिएन। जस्तै चीन र जापानमा सिकेका सीप हुन्छ ती कुराहरु नेपालमा ल्याउने नीति बनाउनुपर्यो। हामीलाई स्वातग गर्न सक्ने वातावरण भयो भने पो हामी आकर्षसित हुन्छौँ। अहिले पनि बाहिर बस्ने नेपालीले नगरेका होइन तर त्यसलाई अझै सहज बनाउनु आवश्यक छ।
नयाँ पुस्तालाई नेपालसँग जोड्ने काम कसरी गर्नुभएको छ ?
दुई वटा कुरा छन।
पहिलो कुरा, नागरिकताको व्यवस्था। आफूसँग नागरिकता भयो भने बाहिर बस्ने नेपालीहरुले जिम्मेवार महसुस गर्नुहुन्छ।
दाेस्राे भनेको संसारभरका नेपालीले ल्याएर पैसा राख्ने। सिम्पल भाषमाभन्दा लगानी गर्नु हो। पैसा भयो भने त खोज्दै आइन्छ नि। त्यसैले नेपालसँग नयाँ पुस्तालाई जोड्ने भनेको नागरिकता दिने र सम्पत्ति ल्याएर राखिदिने। त्यसो गरेपछि मसँग नागरिकता पनि छ, सम्पत्ति पनि छ म नेपाल जानपर्छ नेपालमा केही गर्नुपर्छ भन्ने कुराको फिलिङ्स हुन्छ।
नेपालका धेरै युवाहरु नेपालमा केही छैन भनेर विदेशिने गर्नुहुन्छ तपाईंलाई कस्तो लाग्छ अन्य देशको तुलनामा नेपालमा सम्भावना नभएकै हो ?
गर्ने मान्छेले जहाँ गएपनि गर्न सक्छ। त्यसमाथि नेपाल प्रचुर सम्भावना भएको देश हो। जुन हामी विदेशिनुपर्ने अवस्था थियो त्यो अहिले छैन। त्यसैले अहिले म के भन्न चाहन्छु भने जहाँ गएपनि सुख छैन। त्यसैले योजना बनाएर आफ्नै जन्मभूमिमा काम गर्न सकियो भने त्यो भन्दा राम्रो केही हुँदैन। विदेशमा बसेर परिवारसँग टाढिनुपर्ने पीडा सहनुपर्दैन। नेपाल जस्तो सुन्दर देशमा अत्यन्तै सम्भावना छ। त्यसैले नेपालमा रहेका युवाहरुले बाहिर ताक्नुभन्दा पनि यही काम गर्दा उपयुक्त हुन्छ।
बाहिरबाट हेर्दा नेपालको समस्या के हो जस्तो लाग्छ ?
अवश्य पनि म एउटा विकसित देशमा बस्दै गर्दा नेपाल र बेलायतको तुलना गर्दिनँ। म यहाँ समस्या छन भनेर किन भन्दिनँ भने यहाँ त अवसर छ। आज म बेलायतमाभन्दा नेपालमा लगानी गर्न खोजिरहेको छु भनेपछि नेपालमा अवसर छ भन्न चाहान्छु।
अब हाम्रो देश अविकसित हो, त्यस्तै किसिमले राजनीति तल/माथि हुन्छ। काम गर्न विभिन्न अप्ठाराहरु छन्, जसको पहुँच हुन्छ उसले मात्रै गर्न सक्ने अवस्था छ तर पनि के भने अवसर पनि छ। त्यसैले यो अप्ठारो हो भनेर मलाई भन्न नलागउनुहुहोस् म त्यतातिर जान चाहन्न नेपालमा गर्न सजिलो छ।
अब यति ठूला देशको बीचमा नेपाल छ। चीन र भारतको आर्थिक हैसियत कहाँबाट कहाँ पुग्यो, विश्वको पहिलो नम्बरमा आउन थाले। हामीलाई त अलिकति उनीहरुको कपी मात्रै गरे पनि पुग्छ। त्यसैले त्यताको कपी गर्न लाग्नुपर्ने अवस्था छ, अहिले। तर, त्यसको लागि पोलिसि सिस्टममा सुधार ल्याउन आवश्यक छ। र, सरकार त्यो लयमा पनि छ। त्यसैले नेपालमा सधैँ समस्या छ भनेर नहिँड्नु।