रूस–युक्रेन युद्धः दैनिक २०० जनासम्म सैनिकले ज्यान गुमाउँदै

बिएल संवाददाता

किभ, युक्रेन
Getty Images
Getty Images

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका छन्।

पूर्वी डोन्बास क्षेत्रमा रूसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताएका हुन्।

मस्कोसँग शान्तिवार्ता पुनः सुरू गर्न किभ तयार नभएको पनि उनले उल्लेख गरेका छन्। सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रूसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ।

रूसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बीबीसीलाई जनाएका छन्।

रूसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनले बताएका छन्। यो सङ्ख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी हो।

गत फेब्रूअरी २४ तारिखमा सुरू गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रूसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः शुरू हुन सक्ने पोदोलियाकले स्पष्ट पारेका छन्। युद्धको अग्रपङ्क्तिमा दैनिक १०० देखि २०० को बीचमा युक्रेनी सैनिकले ज्यान गुमाइरहेको भन्नु भनेको पहिला अनुमान गरिएको सङ्ख्याभन्दा उच्च हो।

प्रकाशित मिति: : 2022-06-10 20:06:00

प्रतिकृया दिनुहोस्