आलोकलाई ललितकला पुरस्कार

पोखरेली युवा सांस्कृतिक परिवारले प्रदान गर्ने ललितकला पुरस्कार आलोक गुरुलाई दिने भएको छ।

कलामा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा दिइने ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत हुने भएका हुन्। वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०७८ पाउने कलाकार आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरालाई कर्मथलो बनाएका छन्।

क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् गुरुङ। ‘कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो’ भन्ने मान्यता राख्ने गुरुङले हजार भन्दा बढि मुहारचित्र बनाएका छन्।

निरन्तर सिर्जनामा व्यस्त गुरुङको एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४मा पोखरामा, दुईव्यक्ती (दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी २०३१ बागलुङ समूह त्रिचकला प्रदर्शनी तथा सामूहिक कलाकार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन्।

गुरुङको अर्को बिषेशता भनेको लाइभ डेमोस्ट्रेशन हो । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पुयाएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिएका छन् ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की , मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

प्रकाशित मिति: : 2022-06-06 15:38:00

प्रतिकृया दिनुहोस्