म्यान्मारका २९ वर्षीय युवक पो साइन (परिवर्तन) फोटो–पत्रकारिता छोडेर सैन्य ‘जुन्ता’ विरूद्ध सशस्त्र संघर्षमा सामेल भएको एक वर्षभन्दा बढी भएको छ।
रंगुनका अनेकौं समाचार संस्थाका लागि दश वर्षसम्म फोटोग्राफी गरेका उनी आजकल बन्दुकसँग रमाउँछन्।
‘आँखाअघिको अन्याय टुलुटुलु हेर्न सकिनँ। हत्या गरिएका निर्दोष नागरिकको फोटो खिचेर पत्र–पत्रिकामा छाप्न सकिनँ। अन्ततः मैले विद्रोह गर्ने सोच बनाएँ। अनि क्यामरा थन्काएर बन्दुक चलाउन युद्ध मैदानमा उत्रिएँ,’ काँधमा बन्दुक र कम्मरमा पानी बोकेर हिँडिरहेका पो साइनले भने।
उनी जातीय द्वन्द्वले आँगो सल्किएका कैयौं प्रान्तमा पुगेका छन्। बेदनाका कहालीलाग्दा कथाहरू आफ्नो क्यामेरामार्फत् आम-सञ्चारसम्म फैलाएको बताउँछन्, उनी।
म्यान्मारमा दर्जनौं सशस्त्र समूहले लामो समयदेखि सैन्य जुन्तासँग अधिकार र स्वायत्तताको लागि लड्दै आएका छन्।
सैन्य ‘कू’यता गाउँदेखि शहरसम्म सरकारविरूद्ध लाखौं युवा–युवतीहरू युद्ध–मैदानमा उत्रिएका छन्। उनी आफूलाई सेनाविरूद्ध लडिरहेको एक सच्चा सिपाहीको रूपमा चिनाउँछन्।
करेन प्रान्तको एउटा घनघोर जंगलमा भेटिएका उनी अर्को एउटा चर्को लडाइँका लागि तैनाथ छन्। यसअघि पाँचवटा लडाइँमा भाग लिएको बताउँछन्, पो साइन। जहाँ सयौं सरकारी सैनिक मारिए। दर्जनभन्दा बढी सैन्य इलाका कब्जा गरेको उनी दाबी गर्छन्।
लेन्सदेखि बन्दुकसम्म
पूर्वपत्रकार पो साइन आजभोलि क्यामेराबाट अलग्गै छन्। काँधमा बन्दुक र कम्मरमा गोली बोकेर हिँड्छन्।
राइफल उनको पहिलो साथी हो। जसरी एकताका उनी फोटो खिच्नको लागि क्यामरा बोक्थे। बेग्लाबेग्लै दृश्यका लागि लेन्स फेर्थे।
‘क्यामरा र बन्दुक दुबै वस्तु चलाउन सीप चाहिन्छ। शान्तिका लागि फोटो खिच्थेँ, लेन्स घुमाउथेँ। मुक्तिकाे लागि युद्ध–मैदानमा उत्रिएको छु। तानाशाहीलाई ताकी–ताकी गोली हान्छु,’ उनी भन्छन्।
सशस्त्र समूह जनरक्षा बलभित्र आफू सामान्य लडाकू मात्रै भएको बताउँछन्। सेक्सन कमाण्डरका लागि पदोन्नतिको प्रस्ताव गरिएपनि उनी तयार भएनन्। तर अग्रपंक्तिका लागि एक असल सिपाही बनेका छन्, उनी।
टीमसँग राम्रो समन्वय गर्छन्। कमाण्डरप्रति आज्ञाकारी छन्। प्रशिक्षकमार्फत् सिकेका अनेकौं कुराहरू लडाकूबीच बाँड्दै हिँड्छन्।
जनआन्दोलनको एक महिनासम्म क्यामरा बोकेर प्रदर्शनकारीसँगै हिँडेको उनी बताउँछन्। अघिल्लो वर्षको मार्च १४ मा रंगुनको एउटा उपनगरमा सरकारी सैनिकले दर्जनौं नागरिकको सामूहिक हत्या गरेपछि उनी हतियार उठाउन राजी भएका हुन्।
शान्तिको आवाज सत्ताले नसुनेपछि आफू पनि युद्ध मैदानमा होमिएको पो साइन बताउँछन्। सेनाले शान्तिपूर्ण प्रदर्शनकारीलाई घातक गोलाबारी गरेको उनी आफैँले पनि कैयौँपटक देखेका छन्।
शहरको महल त्यागेर जंगलको एउटा नयाँ घर पालमा जीवन काटिरहेका छन्। परिवार र आफन्त उतै छोडेर आफन्तबिनै जंगलमा बस्छन्। कहिलेकाहीँ बा-आमा सम्झिन्छन्, जब बन्दुकसँगै बिरामी पर्छन्, उनी।
क्रान्तिकारी लडाकू क्रान्ति सफल नभएसम्म पछि हट्दैन। सशस्त्र समूहका अधिकांश लडाकूहरू २० देखि ३० वर्षसम्मका छन्।
युद्ध–मैदानमा कामदार, पत्रकार, चिकित्सक, कलाकार, निजामती कर्मचारी र कतिपय सेना–प्रहरी पनि छन्। उनीहरू सैन्य जुन्ताको बर्बर दमनविरूद्ध हतियार उठाउन बाध्य भएको बताउँछन्।
६० वर्षदेखि म्यान्मारमा आतंक मच्चाइरहेको सैन्य जुन्तालाई जरैदेखि उखेल्ने र प्रजातन्त्र स्थापना गर्ने लडाकूहरूको एउटै मिशन छ। दुईवटा युद्धमा दुई जना साथी गुमाएको युवा लडाकू पो साइन बताउँछन्। साथीको मृत्युले उनलाई हृदयविहीन बनाएपनि बलियो लडाकू बन्न थप प्रेरित गरेको छ।
पो साइनजस्ता थुप्रै क्रान्तिकारी युवाहरूले सैन्य प्रमुख मिन आङ ह्लाङ नेतृत्वको वर्तमान सरकार हारेपछि मात्रै आफ्नो भविष्य उज्यालो हुने विश्वास गर्छन्।
‘हामीहरू एकदिन विजयी प्राप्त गर्नेछौं। त्यो दिन घर फर्कने छौं। र आफ्नो अधिकार फिर्ता लिने छौं,’ बन्दुक बोकेर साथीसँग रमाइरहेका उनी बताउँछन्।