डाक्टर भगवान कोइराला नेपालका जानेमाने डाक्टर हुन्। मुटुरोग विशेषज्ञ डा. कोइराला यतिबेला नेपालमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामको वालवालिकाको अस्पताल सञ्जाल स्थापना गर्ने भन्दै ‘पैसा माग्दै’ हिडिरहेका छन्। ‘भगवान पैसा माग्दै’ भन्दा अलि ठाडो सुनियो होला तर ‘लिटरल्ली’ यही हो।
यही क्रममा यतिबेला उनी अमेरिका आइपुगेका छन्। नेपालबाट अमेरिका जो आउँछ, अपवादलाई छोडेर आफ्नो नाम र काम देखाएर पैसै माग्न आउँछ। काम देखाएर पैसा माग्नेहरूमा पर्फरहरू पर्छन्। जस्तो कि गायक प्रकाश सपुत । केही सातायता उनी पीर गाएर पैसा मागिरहेका छन् । केही महिना अघि ‘म त नेपालकी छोरी’ भन्दै आस्था राउत पनि पैसा मागिरहेकी थिइन्, त्योभन्दा अघि राइ इज किङ भन्दै राजेश पायल राई पनि पैसा नै मागिरहेका थिए।
हो, उनीहरू प्रत्यक्ष रूपमा हात थापिरहेका थिएनन्। तर, उनीहरूका नाममा यहाँ आयोजना गर्नेहरूले साम, दाम, दण्ड, भेद सबै लगाएर माग्छन् नै। माग्छन् भन्दा पनि उठाउँछन् नै। जिल्ला, जात, धर्म, क्षेत्र, राजनीति, साइनो जे जे को होस् सबैको प्रोक्सिमिटी लगाउँछन्। त्यतिले पुगेन भने धम्क्याउँछन् पनि, टिकट किनी दिनु भनेर फोन गरेर, भ्याइस मेसेज छोडेर न रातमा सुत्न दिन्छन्, न दिनमा काम गर्न दिन्छन्। अमेरिकाको ठूलो नेपाली डायस्पोरा रहेका सहरहरूमा हिजोआज यो एक किसिमको फोबिया नै भएको छ।
यो त काम गरेर माग्नेहरूको प्रसंग भयो। अब नाम भजाएर माग्नहेरूको नयाँ अध्याय सुरू भएको छ। त्यसको ब्राण्डेड सुरूवात महाबीर पुनले गरेका थिए नेपाल अविष्कार केन्द्रको नाममा। त्यही श्रृंखलामा जोडिन आइपुगेका छन्, डा. भगवान कोइराला।
डा. भगवान कोइरालाले एक चिकित्सकका रूपमा विरामी हेरेवापत पैसा लिए होलान्, यो स्वभाविक हो तर उनले मागेका चाँहि थिएनन्। तर, यति भन्दाभन्दै पनि उनले काम गर्ने सरकारी वा निजी अस्पतालले पैसा जम्मा नगरी विरामी भर्ना नगर्ने र डिस्चार्ज नगरी होस्टाइल बनाउने अनगिन्ति काम गरेका छन्। तर, यसमा उनी प्रत्यक्ष संलग्न छैनन्।
डा. कोइराला अमेरिकाका ठूला नेपाली डायस्पोरामा पुगिरहेका छन् र आफ्नो योजनाको प्रस्तुति दिएर पैसा मागिरहेका छन्। पैसै मागे पनि यो एउटा पर्फर्मरले प्रस्तुति दिएर मागेजस्तो हैन। पर्फर्मरले तत्कालका लागि केही मनोरञ्जन दिएर कामका आधारमा पैसा माग्छ, तर नाम बेचेर पैसा माग्नेहरूले सपना देखाएर माग्ने हो। डा. कोइराला दोस्रो कोटीमा पर्छन्, उनी यतिबेला सपना देखाएर पैसा मागिरहेका छन्।
डा. कोइरालाका लागि जो पैसा जम्मा गरिदिने अभियानमा छन्, अपवादलाई छोडेर उनीहरू पैसाका मामलामा विश्वसनियता गुमाइसकेका 'मनुवा' छन् । उनीहरू यो वा त्यो नाममा गैरआवासीय नेपाली संघ अमेरिकाको छातामा छन् जुन संस्थामा अमेरिकामा त बदनाम छ नै, गैरआवासीय नेपाली सञ्जाल पुगेका विश्वका विभिन्न देश र घरदेश नेपालमा पनि बदनाम छ। हार्डडिस्क काण्ड गरेर चुनाव जितिन्छ, एनआरएन आइसीसीका लागि पैसा उठाइन्छ तर लुच्चा भएर यो वा त्यो वहानामा दिइदैन, अमेरिकामा यही नामका एउटा हैन दुईवटा संस्था हुन्छन्, एनआरएन आइसीसीका भएभरका सबै पद अमेरिकामै ल्याइन्छन् तैपनि पद पुगेको हुँदैन, तीनलाखभन्दा बढी नेपाली भएको नेपाली डायस्पोरामा २० हजार हाराहारीमा सदस्य छन् तर तीमध्ये पनि आधाभन्दा बढी त उम्मेद्वारले नै पैसा तिरिदिएका छन्।
एनआरएनको छातामुनि बाहेक विभिन्न स्थानीय सामाजिक संघसंस्थामा रहेका पदाधिकारी पनि डा. भगवानलाई पैसा जम्मा गरिदिने अभियानमा छन्। तर, तीमध्ये पनि अधिकांश पहिलै दिन वाचा गरिएका सहयोग राशी पनि नदिएर कालो सूचीमा चढेका छन्, विभिन्न संघसंस्थाका आसामी छन्।
जब यिनीहरूको स्थिति यस्तो छ भने कसरी र कुन मुखले देलान् डा. कोइरालालाई डलर। तर, पनि पेनी नदिएर बदनाम भएकाहरू फेरि पनि डलर दिने बोली लगाइरहेकै छन्।
प्रश्न चाहनाको हैन, विभिन्न कारणहरूको हो। चाहेर पनि अमेरिकाको नेपाली समुदायले यति धेरै पैसा उबार्न सक्दैन जति ऊ बोली लगाइरहेको छ। केही मुठ्टीभरका मानिसहरू जसलाई नोक्सानमा ब्यापारको वासलात देखाउनुछ, जो डक्टरजस्तो कमाउ पेशामा छ र उसलाई आफ्नो करको दायराबाट फाइदा लिनु छ, उनीहरूले पैसा उबार्न सक्दछन्। तर, उनीहरूले घोडा चढ्दा अरूहरू जसरी धुरी चढ्ने प्रयत्न गरिरहेका छन्, त्यही अस्वभाविक प्रतिस्पर्धाले उनीहरूलाई आदतको ढटुवा बनाएको हो।
प्रश्न यो मात्र पनि हैन, अमेरिकाबाट चाहरे पनि धेरै पैसा नेपाल पठाउन सकिन्न किनकि यो देश मनी लाउण्ड्रिङको मामलामा अत्यन्तै कडा रूख अपनाउँछ। र, एनआरएन अमेरिका पनि यस कोणबाट शंकाको घेरामा मात्र हैन, कारबाहीको दायरामा तानिइसकेको छ।
अमेरिकाको सन्दर्भमा प्रश्न अर्को पनि छ, त्यो के भने अमेरिकाको आम नेपाली समुदाय सहज अवस्थामा छैन। यहाँ जो आएको छ, अपवादलाई छोडेर नेपाल फर्कन आएका होइनन्। यहाँको कम्फोर्ट जोनमा बसेर नेपाली नागरिकता लुकाएर वा ग्रीन कार्डमै बसेर नेपाली भैरहन भने एउटा पुस्तालाई मोह छ। तर, उनीहरूको अर्को पुस्तालाई त्योसँग खासै लिनु/दिनु नै छैन। उनीहरू आफ्नो आमा-बाबु पुस्ताको बाँच्ने तरिका देखेरै दिक्क छ।
कोही मानिस मन पर्न सक्छ र उसको खुलेर प्रशंसा पनि हुन सक्छ तर जति नै प्रशंसा गरे पनि ऊ भगवान बन्न सक्दैन। त्यसैगरी कोही मानिस मन परेन भन्दैमा जति नै गाली गरे पनि ऊ राक्षस हुन सक्दैन। मानिस अन्तमा मानिस नै हुने हो। डा. भगवान कोइराला पनि मानिस मात्रै हुन्, कसैको अति प्रशंसाले भगवान हुन सक्दैनन्।
प्रस्तुत पृष्ठभूमिमा पहिलो पुस्ताका आप्रवासी नेपालीलाई मातृभूमीप्रति चासो र चिन्ता हुनु स्वभाविक हो, तर यी दुईवटा 'च' ले मात्र अमेरिकामा जीवन चल्दैन। पछिल्लो समय अमेरिकाको नेपाली समाज स्रोतले इच्छाहरू सम्बोधन गर्न नसक्दा क्रमश: सुकुलगुण्डा समाजमा रूपान्तरण हुँदैछ।
योसँगै अर्को पनि प्रश्न छ, त्यो के भने डा. कोइराला जुन सपना देखिरहेका छन्, त्यो कुनै नयाँ सपना हैन र त्यो ठूलो सपना यसरी मागेर पनि देख्न सकिदैन। त्यसका लागि अमेरिकाका ठूला लबिस्टहरूसँग कुरा गर्नु बाञ्छनीय हुन्छ जुन कोणबाट त्यसका लागि सहजै स्रोत जम्मा हुन सक्छ।
रह्यो, डा. भगवान कोइरालाको प्रश्न, उनी औसतभन्दा माथिका इमान्दार मानिस हुन् र उनी एक गजवका प्रोफेसनल चिकित्सक हुन्। तर, अमेरिकाको नेपाली समुदायका धेरैजसो देखिने सदावहार अनुहारहरू जसरी भावुक भएर उनलाई भगवान नै भनेर देवत्करण गरिरहेका छन्, उनी त्यो हैनन्। उनलाई ठिक्कको दूरीबाट हेर्यो भने मात्रै उनी जे हुन्, त्यही देखिन्छन्।
एउटा बहुचर्चित भनाइ छ, कोही मानिस मन पर्न सक्छ र उसको खुलेर प्रशंसा पनि हुन सक्छ तर जति नै प्रशंसा गरे पनि ऊ भगवान बन्न सक्दैन। त्यसैगरी कोही मानिस मन परेन भन्दैमा जति नै गाली गरे पनि ऊ राक्षस हुन सक्दैन। मानिस अन्तमा मानिस नै हुने हो। डा. भगवान कोइराला पनि मानिस मात्रै हुन्, कसैको अति प्रशंसाले भगवान हुन सक्दैनन्।
नेपालमा भन्ने नानी-बाबुको भविष्यका लागि अमेरिका आएको भन्ने । अनि, १० मा ३ भएको स्कूल डिस्ट्रिक्टमा बसेर छोराछोरी पढाउने, त्यो पनि फ्रिजको भरमा छोराछोरीलाई घरमा छोडेर । जीवन चलाउनलाई अमाजनमा १२ घण्टा हान्ने अनि यो वा त्यो नाममा आएका माग्नहेरूलाई दिएर नानी-बाबुहरूको भविष्य अमेरिकी प्रतिस्पर्धा गर्न सक्ने कसरी बन्छ ?
यो पंक्तिकारलाई थाहा छ, ऊ प्रिय कुरा लेखिरहेको छैन। तर, यो पनि थाहा छ कि अधिकांशको मनमा यो कुरा छ। तर, उनीहरू अप्रिय हुने भयले सत्य ओकल्न सकिरहेका छैनन्। बढ्दो महंगीमा अमेरिकाको ठूलो नेपाली डायस्पोरा रहेको सहरमा बसेर ‘ब्लुकलर वर्क’ गरिरहेका नेपालीलाई यी सबै माग्ने परम्परा धान्न मुस्किल छ । यस्तो अवस्थामा दुईवटा विकल्प मात्र बाँकि छ, कि समाज निरपेक्ष भएर बस्ने कि फोनको स्वीच अफ गरेर ढाँट्दै बाँच्ने।
यो वा त्यो नाममा अमेरिकाको नेपाली समाजमा माग्न आउँनेहरूले यो डाइनामिक्सलाई बुझ्नैपर्छ । र, यहाँको सुकुलगुण्डा चरित्रको समाजले पनि अनुत्पादक खर्चलाई घटाएर आफ्नो र आफ्ना नानी-बाबुको भविष्यमा लगानी गर्नुपर्छ। नेपालमा भन्ने नानी-बाबुको भविष्यका लागि अमेरिका आएको भन्ने । अनि, १० मा ३ भएको स्कूल डिस्ट्रिक्टमा बसेर, फ्रिजको भरमा छोराछोरीलाई घरमा छोडेर जीवन चलाउन अमाजनमा १२ घण्टा हान्ने, अनि यो वा त्यो नाममा आएका माग्नहेरूलाई दिने प्रतिस्पर्धामा लाग्ने कि नानी-बाबुहरूको भविष्यचाँहि प्रतिस्पर्धी बनाउनतिर लाग्ने ? ढिलोचाँडो, प्रश्नको घनले आफ्नै टाउकोमा हान्नुपर्ने हुन्छ।
सत्य यही हो, यो तीतो सत्यलाई ढिदो चाँडो स्विकार्नुको बिकल्प अमेरिकाको नेपाली समाजसँग छैन। रह्यो माग्ने भन्ने शव्द चयनको कुरा, लिटरल्ली सत्य त यही हो किनकि हात घुमाएर कान समाए पनि कान समाउनु नै हो।
घुम्दै फिर्दै रूम्जाटार भनेझै फेरि पनि डाक्टर साहेबको ध्यानाकर्षण गराऔं, डलर दिन्छु त भने होला तर पेनी पनि दिन मुस्किल छ। किनकि, अपवादलाई छोडेर अमेरिकाको नेपाली समाजका सदस्यहरू अहिले जुन जुन शीर्षकमा दिन्छु भनेर बोली लगाइरहेका छन्, उनीहरूको त्यो गच्छे नै छैन।