लिटल फ्लावर र महेन्द्रनगर क्रिकेट फाइनलमा

File photo
File photo

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब आज फाइनलमा प्रवेश गरेको छ। 

लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो। 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको उक्त क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो। 

१६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो। 

उसका वसन्त सिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशालविक्रम केसीले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन।

बलिङतर्फ महेन्द्रनगरका विपिन धामीले तीन, राहुल भण्डारी र सन्तोष भट्टले समान दुई÷दुई विकेट लिए।   

त्यसअघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९-३९ रन बनाए। उसका दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए।

बलिङतर्फ देउखुरीका दिवान पुनले तीन, दिनेश अधिकारी र प्रतिस जिसीले समान दुई÷दुई तथा अनिल खरेलले एक विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ सुशील खड्का घोषित भए।

आजको जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ। लिटल फ्लावर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

यही जेठ ५ गतेबाट सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।

उक्त खेलको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार पाँच सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लबको सहभागिता रहेको छ।
 

प्रकाशित मिति: : 2022-05-27 15:40:00

प्रतिकृया दिनुहोस्