चाँदीझैं टल्कने हिमशृङ्खला, कान्जिरोवा हिमालको शिर सजाएर मुस्कुराइरहेको जुम्ला कुनै स्वप्नभूमिभन्दा कम देखिँदैन। यहाँ हिमालसँगै बिहान हुन्छ अनि हिमालसँगै साँझ पर्छ।
जाडोयाममा एकाबिहानै सिमलको भुवाझैं फुसफुस झरेको हिउँ देख्दा मन यत्तिकै रोमाञ्चक भइदिन्छ। यसकारण हरेक दिनको थकान अनि तनावलाई छलेर स्वर्गीय आनन्दमा लिप्त हुन जुम्ला अत्युपयुक्त ठाउँ साबित हुन्छ।
ऐतिहासिक महत्व
इतिहास हाम्रो गौरव हो। के कति घटनाक्रम छिचोल्दै देश आजको अवस्थामा आइपुग्यो भन्ने कौतुहलता सबैमा हुन्छ। यो मानेमा पनि ऐतिहासिक दृष्टिकोणले अति नै महत्वपूर्ण स्थान जुम्ला एउटा घुम्नै पर्ने स्थान हो भन्न सकिन्छ।
खस भाषाको उद्गमस्थल सिंजा उपत्यका ऐतिहासिक सिंजा साम्राज्यको राजधानीसमेत थियो। पाँच भाइ पाण्डवका मूर्ति राखिएको पाण्डव गुफा पनि ऐतिहासिक महत्व बोकेको स्थान हो।
१२औं शताब्दीका राजा नागराजले राज्य स्थापना गरेको पनि सिंजन भूमि पनि जुम्ला नै हो।
नेपाल एकीकरणअघि बाइसे राज्यहरुको केन्द्र रहेको जुम्ला इतिहासमा एक शक्तिशाली राज्यको रुपमा स्थापित थियो। यसकारण पनि इतिहासको रोचकतामा भिज्न चाहने हरकोहीका लागि जुम्ला एउटा घुम्नै पर्ने स्थान हुनसक्छ।
धार्मिक महत्व
धार्मिकस्थलहरुका हिसाबले पनि जुम्ला निकै महत्वपूर्ण ठाउँहरुमा गनिन्छ।
चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर, चिमरामालिका भगवती मन्दिर, ठाकुरज्यु मन्दिर जस्ता पवित्र धार्मिकस्थलहरुले जुम्लालाई पवित्र पर्यटकीयस्थलका रुपमा स्थापित गराएका छन्।
प्राकृतिक सुन्दरता
प्राकृतिक सुन्दरताका हिसाबले हेर्ने हो भने जुम्ला देशकाे सबैभन्दा सु-सम्पन्न जिल्लाहरुको कोटीमा पर्दछ। गुठीचौर, तातोपानी, सिंजा, चन्दननाथ, छुम्चौर, पाटन क्षेत्र आदि ठाउँहरु जुम्लाका घुम्नै पर्ने स्थान हुन्।
चाँदीझैं टल्कने हिमाल, सल्लाका हरिया जङ्गल, छङछङ बग्ने तिला, हिमाजस्ता नदीहरु, विभिन्न खोलानाला, तालतलैया अनि जुम्लाका हरेक कुनाकन्दराको दृश्यावलोकन गरी प्राकृतिक सम्पदाको स्वादपान गर्ने हरकोही ‘स्वर्ग जुम्लामै छ’ भन्न हिचकिचाउँदैन।
त्यसैले प्राकृतिक सुन्दरतामा भुतुक्क हुने सम्पूर्णका लागि जुम्ला पहिलो गन्तव्य हो भन्न सकिन्छ।
संस्कृति र चालचलन
संस्कृति कुनै पनि ठाउँको शान हो, त्यहाँको पहिचान हो। जुम्लाका संस्कृति र चालचलनले यहाँको मौलिकता झल्काउँछन्।
यहाँ बसोबास गर्ने जातजाति, तिनका भाषा अनि भेषभुषा, चालचलन अनि रहनसहन यहाँका पहिचान हुन्।
यहाँ पाइने अतिथि सत्कार अनि सद्भाव संसारमै पाइँदैन। मौलिक संस्कृति र सभ्यतालाई जीवन बनाएका जुम्लीहरुको मीठो सत्कार अनि आतिथ्यताको स्वाद लिन जुम्ला आउनैपर्छ।
(लेखक कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनमा कृषि विज्ञान आठौं सेमेस्टरका विद्यार्थी हुन्। उनी हाल जुम्लामा स्याउ उत्पादनबारे अध्ययन गरिरहेका छन्।)
तस्बिरहरू सबै राज अधिकारी