नेपालकै पहिलो मेयरको रुपमा कान्तिका सेजुवालको नाम आउँछ। पाँच वर्ष अगाडि निर्वाचित भएर चन्दननाथ नगरपालिकामा आएकी उनको कार्यकाल सकिन अब थोरै दिनमात्रै बाँकी छ।
बिहीबार बिहान सात बजे आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलन गरेनकी उनी निकै भावुक देखिन्थिन्। उनको बोली निकै सालिन र भव्य देखिन्थ्यो।
वैशाख ३० गते निर्वाचन सकिएर मत परिणाम आई नयाँ जनप्रतिनिधिको सपथ हुन्जेलसम्मका लागि रहेको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा पत्रकार सम्मेलन गरेकी हुन्। सार्वजनिक वृत्तमा कतिले उनलाई सफल मेयर भन्छन् भने कतिले असफल र काम गर्न नसक्ने रुपमा मूल्यांकन गरिरहेको समयमा उनी आफैँले आफ्नो कार्यकालको समीक्षा गरेकी छिन्।
कोरोनाका तीनवटै लहरमा केन्द्र र प्रदेश सरकार असफल भइरहँदा स्थानीय सरकारले आफूलाई अब्बल सावित गर्ने मौका पाए। त्यही बीचमा चन्दननाथ नगरपालिकाको नाम अग्रस्थानमा आउँछ। क्वारेन्टाइन व्यवस्थापन र कोभिड नियन्त्रणमा मेयर सेजुवालले खेलेको भूमिका देशभर चर्चाको विषय बन्यो।
‘मलाई देशकै पहिलो महिला मेयर बनाउने नगरबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई हृदयदेखि नमन गर्न चाहन्छु,’ उनले भनिन्, ‘मेरो राजनीतिक जीवन यहिँबाट सुरु भयो। यसलाई प्राथमिकताका साथ चर्चा गरिदिने पत्रकार, बुद्धिजीवी साथीहरुप्रति आभारी छु।’
भौतिक पूर्वाधार र आधारभूत संरचनाविनै घोषणा गरिएको नगरपालिकामा आफू आउँदा थुप्रै चुनौतीहरु रहेपनि धेरै कुरा व्यवस्थापन गर्दै अघि बढेको उनले बताइन्। उनले भनिन्, ‘पाँच वर्षको अवधिमा विकास, समृद्धि र नागरिकको हकहितका लागि समय व्यतित गरेँ। नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म विकास गर्न सक्यौं।’
उनका अनुसार पाँच वर्षको अवधिमा चालुतर्फ १ अर्ब ४५ करोड ४६ लाख ९५ हजार ९ सय र पुँजीगततर्फ १ अर्ब १० करोड ४० हजार २६ गरी जम्मा २ अर्ब ४५ करोड ९७ लाख ५९ हजार ९ सय २६ रुपैयाँ बराबरको बजेटमा नागरपालिकाले विकास निर्माणलगायतका काम गर्न सक्यो। विकास निर्माणका गतिविधिमध्ये ७० प्रतिशत रकम भौतिक पूर्वाधार र बाँकी ३० प्रतिशत बजेट कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा खर्च भएको छ।
एयरपोर्ट, दानसाँघु, क्याम्पस, केटिएस, कोटेसाँघु धिमी खाली सडक, कालेखोलीदेखि ल्याण्ड फिल्ड साईड निर्माणसम्मको सडक र विजयनगर सडक आरसीसी गर्न सक्नु ठिन्के र जुगाड खोलामा गरी दुईवटा लघुजलविद्युत आयोजना सम्पन्न गर्नु, प्याराफिडना निर्माणलगायतका विकास निर्माणमा लगानी गर्नु नगरपालिकाका प्रगति हुन्।
जनता माविमा ४ करोड ७० लाखको भवन, चन्दननाथ नमूना माविमा ४ करोड ७० लाखको भवन, भगवती माविमा आईसीटी ल्याब, कर्णाली मावि अनामनगरमा नेपाली सेनाको सहयोगमा भवन तथा बास्केट कोण निर्माण, वडा नम्बर १, २, ३, ६ र ९ मा नगर स्वास्थ्य चौकीहरु निर्माणाधीन अवस्थामा रहेको उनले बताइन्।
‘हामीले भँगेरी खोला सिँचाई कुलो निर्माण, ढाँणथपला सिँचाई कुलो निर्माण, माझ कुलो निर्माणलगायत सिँचाई कुलाहरु निर्माण गरेका छौं,’ उनले भनिन्, ‘दमाई लोहारबाडा मन्दिर निर्माण, दानसाँघु जुवाखोला तटबन्धन, बुढीचौर मन्दिर, भण्डारीबाडा हुँदै ताल्चा सडक निर्माणको काम सिमित बजेटमा गरेका छौं।’
कालेखोलीदेखि ठिन्केसम्म बाटो निर्माण, भण्डारी गाउँ थेप्चे मुलनुन ढुस्का हुँदै सिमल बाटो निर्माण, खोलिकोट र मालिका मन्दिर निर्माण, विपद् व्यवस्थापन कार्यालयदेखि धाईफालासम्मको बाटो निर्माण, खोलिकोट, केटीएससम्म पिच गर्ने लगायत भौतिक विकासले नगरमा आवतजावतको सहज बनाएको उनको मत छ।
समग्रमा मेयर सेजुवालले गरेको विकासमा अधिकांश बजेट सडक निर्माणमा खर्च भएको देखिन्छ। त्यसबाहेक ११ वटा विद्यालयमा आधुनिक शौचालय निर्माण, नगरका विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरी किशोरीहरुको विद्यालय छुट्ने दर कम गर्न सक्नु पनि उनका उपलब्धि हुन्।
सार्वजनिक शौचालय निर्माण, तटबन्धनलगायत गतिविधिले नागरिकले राहत महशुस गरे पनि बजेट अभावलगायत विभिन्न कारणले नागरिकका सबै चाहनाहरु पूरा गर्न नसकिएको उनले स्वीकार गरिन्। जेष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले तोकेको बाहेक थप २० किसिमका औषधिहरु निःशुल्क वितरण गरी उनीहरुको स्वास्थ्यको ख्याल गर्ने कामलाई नगरले प्राथमिकता राखेको उनले बताइन्।
लामो समय बजार फोहोर रहनु, युवाहरुले बजारको फोहोर संकलन गरी नगरपालिकाको गेटमै थुपारिदिनुलाई उनले युवाहरुले नगरलाई सचेत गराएको भनी धन्यवाद दिएकी छिन्। आज पनि बजारमा खानेपानी अभाव छ। निकट भविष्यमा यो अभाव हटाउन बृहत धौलिगाड खानेपानी आयोजनामा नगरले ५० लाख लगानी गरेको छ।
उनको चुनावी घोषणापत्रमा कर्णाली विश्वविद्यालय स्थापना गर्ने उल्लेख थियो। ‘घोषणा गरेको धेरै काम गर्न सकिएपनि विश्वविद्यालयको काम अगाडि बढाउन नसेकोमा आत्मग्लानी छ,’ उनले भनिन्, ‘तीन वर्ष कोभिडसँग जुध्दाजुध्दै हामीले आफ्ना कति योजनाहरु भुल्यौं। कतिपटक कर्मचारी र आफ्नै सहयात्री साथीसँग जुधेर काम गर्न नसक्दा जनतालाई सन्तुष्ट पार्न सकिएन भन्ने महशुस गरेकी छु।’
कोरोनाको तीनवटै लहरमा नगरले २६ हजार बढीलाई पीसीआर, आरडीटी र एन्टिजेन परीक्षण गरेको थियो। कोरोना कहरको बेला होम आइसोलेसनमा बस्नेलाई स्वास्थ्य किट, पोषण झोला, भिटामिन सी र क्यालसियम घरघरमा पुगेर कोसेली झोला उपलब्ध गराइ नागरिकको हौसला बढाइएको उनले बताइन्।
उनका अनुसार कोरोनाको बेला २५ लाख बराबरको राहत वितरण गरिएको थियो। कोरोनाले छ जनाको ज्यान गएपछि प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराइएको थियो।
‘कोरोनाको बेला शिक्षण सिकाइलाई सहज बनाउन भिडियो निर्माण तथा रेडियो कक्षा संचालन,बाल विवाह न्यूनीकरणका लागि सडक नाटक तथा सचेतना कार्यक्रम गरिएको थियो,’ उनले भनिन्, ‘एकदेखि तीन कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाईमा सहजीकरण गर्नको लागि ४५ वटा बस्तीमा टोल शिक्षा कार्यक्रम र एकदेखि ती कक्षासम्म स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्नु पनि नगरका उपलब्धि हुन्।’