फेब्रुअरी २४, बिहीबारकाे दिन युक्रेनकाे राजधानी किभलाई बादलले ढप्क्क ढाकेकाे थियाे। दिन नै अत्यास लाग्दाे थियाे। यहाँका सबै मानिसहरू आफ्नै गति र चालमा थिए। मोहमद अब्दी पनि कामकाे लागि किभ जाने तयारीमा थिए। उनकी श्रीमतीले सात वर्षीया छोरीलाई स्कुल पठाउने तयारीमा थिइन। त्यही बेला पूरै किभ नै हल्लिने गरी विस्फाेटकाे आवाजा आयाे। अपार्टमेन्टमा बसेका तीनै जना एउटै अङ्गालाेमा कस्सिए।
छिनभरमै युक्रेनका अधिकांश स्थानहरूमा रूसी सेनाले बमबारी गर्न थाल्याे। रूसी सेनाले युक्रेनमाथि आक्रमणकाे सुरूवात गरेका समाचारहरू विश्वभर फैलियाे। सबै क्षेत्रमा युद्धकाे तरङ्ग छायाे। अब द्वन्द्व कसरी अघि बढ्छ भन्ने डरले उनीहरू निकै भयवित महसुस गरे।
रुसले सर्वत्र युद्ध सुरु गरेको थाह पाएर उनीहरूबीच बच्ने योजनाहरूबारे छलफल सुरू भयाे। अब्दी हतारहतार आफ्नो झोला बोकेर १४ तले आवासीय भवनको सिँढीबाट ओर्लिए।
‘युद्धले अचानक मेरो परिवारको उद्देश्यहरू परिवर्तन गर्यो र हामीले तुरुन्तै कसरी भाग्न सक्छौं भनेर सोच्न थाल्यौं,’ युक्रेनबाट भागेका अब्दीले जर्मनीबाट फोनमा अल जजीरासँग भने।
जब तिनीहरूले आफ्नो भवनबाट नजिकैको बस स्टेशनको लागि हिँडे त्यतिबेला अन्य हजारौँ मानिसहरु ज्यान बचाउन भाग्न खोजिरहेका देखे। सहरका सडक जाम थियाे। सबै मानिसहरू हतारहातर दाैडिरहेका थिए।
आफ्नी श्रीमतीसँग सोमालियामा भएको सशस्त्र द्वन्द्वबाट भागेका सोमाली शरणार्थी अब्दी सन् २०१५ मा इथियोपिया र रुस हुँदै युक्रेन आएका थिए। पूर्वी अफ्रिकी राष्ट्रमा पत्रकारको रूपमा काम गरिसकेका ३१ वर्षीया उनी सुरक्षित रूपमा युरोपेली देशमा आउन पाउँदा खुसी दिए। तर, सात वर्षपछि उनी फेरि युद्धबाट भाग्न खोज्दै थिए।
उनीहरू किभ छाडेर देशको युरोपेली सिमाना नजिकै पश्चिमी युक्रेनमा पुग्न निक्कै कष्ट भाेग्नु पर्याे। तर, यसरी भाग्नेहरूमा उनीहरू मात्रै थिएनन, हजाराैँ मानिसहरू साथमा थिए।
‘पोल्यान्डको सीमामा जाने बाटोमा हामी सम्भावित रुसी सेनाको हवाई हमलाबाट डराएका थियौं। म निरन्तर हाम्रो भविष्य वरपरको अनिश्चितताको बारेमा सोचिरहेको थिएँ,’ अब्दीले भने।
उनले कहिल्यै सोचेका पनि थिएन युरोपमा जस्तै युद्धकाे सामना गर्नपर्छ भनेर। उनकाे आँखा अगाडि सोमालियामा भाेगेकाे सबैभन्दा खराब समयको बारम्बार सम्झना आइरह्याे।
तीन दिनको यात्रापछि उनले कठिन र डरले भरिएको जीवनको वर्णन गरे। उनीहरू युक्रेन-पोलिश सीमामा आइपुगे थिए, जहाँ उनीहरूले मध्यपूर्व एसिया र अफ्रिकाका शरणार्थीहरूलाई भेटेका थिए।
‘मैले पहिलो स्थानमा मेरो देश छोड्नुको कारण युद्ध थियो। त्यही युद्धले युरोपमा मेरो दोस्रो घर ध्वस्त पार्यो। र, म फेरि जर्मनीमा शरण खोज्दै छु,’ उनले भने।
उनीहरूकाे परिवार अहिले मध्य जर्मन सहरको स्टुडियो अपार्टमेन्टमा बस्छ। जहाँ उनीहरूले संयुक्त राज्य अमेरिका पुग्ने आशा राखिरहेका छन्। तथापि, यो गाह्रो हुन सक्छ।
मार्च महिनामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका करिब १ लाख शरणार्थीहरूलाई स्वीकार गर्ने बताएको छन। तर, यस्तो प्रक्रियाले कसरी काम गर्छ भन्ने स्पष्ट छैन।
वाशिंगटनका पश्चिमी सहयोगीहरूले पनि युरोपमा युक्रेनी शरणार्थीहरूलाई अर्बौं डलरको मानवीय सहायता घोषणा गरेका छन्। तर, त्यो सहायता युद्धबाट प्रभावित गैरयुक्रेनी शरणार्थीहरूले प्राप्त गर्न सक्छन भन्ने प्रष्ट छैन।
रूसको आक्रमणअघि युक्रेन युरोप प्रवेश गर्न खोज्ने शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट देश थियो, धेरै अफ्रिका, एसिया र मध्य पूर्वका युद्धग्रस्त देशहरूबाट थिए।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीकोअनुसार सन २०२१ को अन्त्यमा युक्रेनमा लगभग ५ हजार शरणार्थीहरूलाई मानवीय सहयोगको आवश्यकता थियो। सोमालीयाका पूर्व शरणार्थी अब्दुल्लाही वेइस, जो अहिले कासेल जर्मनीमा शरणार्थीहरूको लागि वकालत गर्छन्। उनी युक्रेनबाट भागेका मानिसहरूलाई स्वागत गर्न व्यस्त छन्। ‘यो युरोपमा शरणार्थी हुनको लागि उत्तम समय होइन,’ उनले अल जजीरालाई भने।
यो दुर्भाग्यपूर्ण अवस्था हाे। धेरै शरणार्थीहरूले आफ्नो जन्मभूमि छोडेको कारणले फेरि प्रभावित भएका छन्। र, अझै पनि बस्नको लागि सुरक्षित ठाउँ खोजिरहेका छन्। उनीहरूका लागि अहिलेको संस्कृति भिन्नता र युरोपेली देशहरूले शरणार्थीहरू जो युक्रेनी नागरिक होइनन्, स्वीकार गर्ने अनिच्छुकताका कारण जर्मनहरूसँग एकीकरण गर्न गाह्रो हुनेछ।
- अल जजीराको सहयोगमा सुरेन्द्र रानाकाे प्रस्तुति