सैनामैनालाई चिउरीको महको स्रोत केन्द्र बनाइने

नरेश चौधरी

सैनामैना
Breaknlinks
Breaknlinks

सैनामैनामा रहेका सामुदायिक वनको संरक्षण गर्दै हरियाली बनाउने र माहुरीका लागि चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धता छ।

सैनामैना नगरपालिकाको प्रथम मेयरका रुपमा निर्वाचित हुँदा सुरु गरेको यो अभियानलाई अब निर्वाचित भएपछि सार्थक बनाउने उम्मेदवार चित्रबहादुर कार्कीको प्रतिबद्धता छ।

सैनामैनालाई हरियालीसहितको सुन्दर सहर बनाउने प्रतिबद्धता अनुरुप माहुरीको पनि स्रोत केन्द्र बनाउने उनको संकल्प छ। सैनामैनामा रहेका सामुदायिक वन र खुला क्षेत्रको संरक्षण गर्दै तिनमा चिउरीका विरुवा रोप्ने र त्यसैमा माहुरीको चरणका लागि वातावरण मिलाइने कार्कीको भनाइ छ।

अहिले रहेको माहुरीको स्रोत केन्द्रलाई संरक्षण र विस्तार गर्दै जडीबुटीयुक्त मह उत्पादनमा केन्द्रीत गराउने लक्ष्यका साथ यस्तो अभियान सुरु गरिएको उनले बताए। सैनामैनालाई मह उत्पादनको स्रोत केन्द्र बनाउन पहिलो कार्यकालमा सुरु गरिएका कार्यक्रमलाई यस कार्यकालमा पूरा गरिने उनको प्रतिबद्धता छ।

सैनामैनामा १७ वटा सामुदायिक वन रहेका छन्। यी वनको संरक्षण र हरियाली विस्तारका काममा केही नमुना प्रयास भएका छन्। सैनामैनामा एमालेका प्रतिनिधि निर्वाचित भएपछि ती नमुना कामको निरन्तरता हुने र अझ विशिष्टिकृत हुने दाबी गरिएको छ। एमालेले जारी गरेको नयाँ चुनावी प्रतिबद्धतामा नौला कार्यक्रमको निरन्तरता र नयाँ कामको प्रभावकारितामा जोड दिइएको छ।

अब कृषि क्षेत्रमा गरिने कामको एउटा बुँदाका रुपमा माहुरीको स्रोत केन्द्र बनाउने पनि एमालेको प्रतिबद्धतामा उल्लेख छ। जडीबुटीयुक्त पुष्परसका विरुवाहरु वनमा रोप्ने, हेरचाह गर्न हेरालु राख्ने र तिनैमा माहुरीको चरण बनाइ औषधिय गुणको मह उत्पादनमा सहयोग गर्ने लक्ष्यका साथ सुरु गरिएको कार्यक्रमलाई अब विस्तार गरिने प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ।

यसअघि भएका केही प्रयास

सैनामैनाले कृषिलाई समृद्धिको पहिलो आधार बनाएको छ। कृषि क्षेत्रको विकास, विस्तार र सम्बर्द्धनका लागि नगरपालिकाले आवश्यक उपकरण, मल बीउ, प्राविधिक ज्ञान र कृषि उपजको बजारिकरणका लागि समेत सहयोग गर्दै आएको छ।

नगरपालिकाले विभिन्न समयमा माहुरीपालक किसानलाई घारमा अनुदान उपलब्ध गराएको थियो। माहुरी पालक किसानलाई विशेषज्ञता तालिम प्रदान गर्ने र किसानहरुको समूह गठन गरी प्रोहोत्सान गरिएको छ। चुरे क्षेत्रमा माहुरी उत्पादनको मुख्य पुष्परस प्रदायक करिब ५० हजार चिउरीका रूखहरु रोपिएको थियो। ती विरुवाका लागि हेरालुसमेत राखिएको छ।

माहुरीपालक किसानहरु खुशी

माहुरीका लागि पुष्परसको चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धताले यहाँका माहुरीपालक किसानहरु खुशी भएका छन्। सयौं घार माहुरीपालन गर्दै आएका किसानहरुले पुष्परसका विरुवा रोप्ने र माहुरीका लागि आवश्यक चरण बनाउने एमालेको संकल्पले उत्साहित भएको बताएका छन्।

सैनामैना नगरपालिकामा चुनिएका एमालेका प्रतिनिधिले आफूहरूको कृषि कर्ममा महत्वपूर्ण काम गरेको र अहिले फेरि नयाँ संकल्प गरेको भन्दै किसानहरु खुशी भएका छन्।

सैनामैना–४ का माहुरीपालक किसान लेखनाथ न्यौपानेले किसानलाई प्राथमिकतामा राख्नु खुशीको कुरा भएको बताए। उनले सहयोग पाएमा विभिन्न प्रकारका मह उत्पादन गर्न सकिने बताए। न्यौपानेले विगत चार वर्षदेखि माहुरीपालन गर्दै आएका छन्।

विदेशबाट फर्केर कृषिमा होमिएका न्यौपानेलाई नगरपालिकाको अनुदान कार्यक्रमले हौसला बढाएको छ। १० घारबाट सुरु भएको व्यवसायमा अहिले ५० घर माहुरी छन्।

मौरीपालक कृषक समूह नै गठन गरेर व्यवसायिक काममा यहाँका किसानहरु जुटेका छन्। १८ जना सदस्य रहेको समूहले माहुरीका लागि आवश्यक चरण क्षेत्रको पहिचान गर्ने, जडीबुटीयुक्त मह उत्पादनका लागि तालिम लिएका छन्। पुष्परसका विरुवा रोप्ने कुराले किसानहरु खुशी भएका छन्। १८ जना सदस्य आबद्ध समूहमा १७ सय माहुरीका घारबाट मह उत्पादन हुँदै आएको छ।

कति हुन्छ मह उत्पादन ?

सैनामैनामा हाल करिब १८०० घार माहुरी रहेका छन्, जसबाट बार्षिक ५०० क्वीन्टल मह उत्पादन हुँदै आएको छ। यसलाई विस्तार गर्ने तयारी छ। उत्पादित महलाई नगरपालिकाको सहयोगमा माहुरीपालक समूहले महको लेबलिङ भई ब्रान्ड गरी बिक्री वितरण गर्दै आएका छन्। व्यावसायिक रूपमा माहुरी पालनको लागि सैनामैना उपयुक्त रहेको माहुरीपालक किसानहरुले बताउँदै आएका छन्।

वनको संरक्षण र बहुउपयोगको योजना

सैनामैनामा भएका प्राकृतिक वन तथा रुखहरूको संरक्षण गर्नुका साथै वनको बहुउपयोग गर्ने योजना रहेको प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ।

चुरेमा रहेका वन र तराईमा रहेका वनको थप अध्ययन गरेर दुबै ठाउँमा उपयुक्त हुने विरुवा रोप्ने, भूस्खलन रोक्ने र जडीबुटीको अलग प्लट बनाउने योजना रहेको कार्कीले बताए। सैनामैनामा एमालेले प्राकृतिक रूपमा नै वनको पुनःस्थापना गर्ने र बहुउपयोग गर्ने रणनीतिका साथ नयाँ कार्यक्रम बनाएको प्रतिवद्धतामा उल्लेख छ।

प्रकाशित मिति: : 2022-05-04 13:38:00

प्रतिकृया दिनुहोस्