उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको धोतारापमा स्थानीय र सांसद धनबहादुर बुढाको समूहबीच झडप भएको छ। स्थानीयलाई तर्साउन बुढाले धोतारापमा उतारेका युवा र स्थानीयबीच शुक्रबार दिउँसो ठूलो झडप भएको हो।
सांसद बुढाले अन्य ठाउँबाट ल्याएका सयौं युवाहरुले यहाँका स्थानीयलाई आफ्नो पार्टीमा नआएको भन्दै कुटपिट थर्न थालेपछि स्थानीय मिलेर प्रतिकार गरेका हुन्।
स्थानीय र बुढाको समूहबीच झडप हुँदा एक गर्भवती महिलासहित दर्जनौँ स्थानीय घाइते भएका छन्।
स्थानीय ग्याल्पो थापा भोटेका अनुसार शुक्रबार बिहान सांसद बुढाको समूहले गाउँमा छिरेर स्थानीयलाई आफ्नो पार्टीमा नआएको भन्दै धम्काउन थालेपछि विवाद उत्पन्न भएको थियो।
सांसद बुढाले केही दिनअघि ‘विरोधीलाई तह लगाउने’ भन्दै काइके गाउँपालिकाका अध्यक्ष अंगतकुमार रानाको सहयोगमा ५ सय बढी युवाहरुलाई धोतारपमा उतारेका थिए। उनीहरुले नै गाउँलेहरुलाई दिनदिनै धम्काउने तथा कुटपिट गर्दै आएका थिए।
उनीहरुको ज्यादती बढी भएको भन्दै शुक्रबार स्थानीय एकजुट भएर उनीहरुलाई गाउँ निकाला गर्न खोज्दा झडप भएको भोटेले बिएल नेपाली सेवालाई जानकारी दिए।
शुक्रबार भएको झडपमा सांसद बुढा आफैँ सहभागी थिए। धोमा भइरहेको ‘धनु आतंक’ बारे प्रहरी प्रशासनलाई जानकारी हुँदाहुँदै पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ।
स्थानीयले सांसद बुढा समूहको प्रतिकारमा उत्रेपछि बुढा भने हेलिकप्टर मगाएर त्यहाँबाट फरार भएका थिए। बुढा फरार भएसँगै उनले यहाँ ल्याएका युवाहरुको बिचल्ली भएको छ। स्थानीयले उनीहरुलाई खोजी–खोजी लखेट्न थालेका छन्।
सांसद बुढाले प्रहरी प्रशासनलाई हातमा लिएर धोतरापमा आंतक मच्चाएको स्थानीयको गुनासो छ। धेरै पटक प्रहरी प्रशासनलाई यो विषयमा खबर गर्दा पनि बेवास्ता गरिएकाले यो घटनामा प्रहरी प्रशासनको पनि ठूलो हात रहेको स्थानीयको आरोप छ।