हुल बाँधेर उपल्लाे डाेल्पा छिरे बाहिरी मान्छे, चुनाव बिथाेल्न सक्ने भन्दै स्थानीय त्रसित

चुनाव बिथाेल्न सक्ने भन्दै स्थानीय त्रसित

छलफल गर्दै स्थानीय।
छलफल गर्दै स्थानीय।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाउँपालिकामा बाहिरबाट हुलकाहुल मानिसहरू प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएकाे छ।

स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गर्ने बहानमा ठूलाे संख्यामा बाहिरीबाट आएका मानिसहरूले मतदातालाई प्रभावित गर्ने सक्ने भन्दै स्थानीयहरू सशंकित भएका हुन्।



‘सांसद धनबहादुर बुढाकै कारण डोल्पाकाे गठबन्धन धरापमा’

‘५०/६० जनाको सङ्ख्यामा काईके गाउँपालिकाबाट युवाहरु प्रवेश गरेका छन्। जसकारण स्थानीयमा एक किसिमको त्रास छाएको छ,’ धो'का स्थानीय ग्याल्वो थापा भोटेले भने,‘एकीकृत समाजवादीका नेता धनबहादुर बुढाको राजनितिक कार्यक्रम हो भने हुलकाहु युवाहरु ल्याउन आवश्यक थिएन, आफ्ना कार्यकर्ता भए यहाँकै प्रयोग गर्न सकिन्थ्यो। यो चाहिँ विभिन्न माध्यामबाट मतदातालाई प्रभाव पार्ने खेलको रुपमा बुझेका छौँ।’

यस विषयमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापासँग बुझ्दा नेता धनबहादुर बुढाको कार्यक्रम रहेकाले गएको बताएका छन्।

‘हामी शान्ति सुरक्षा कायम गर्न कटिवद्ध छौँ, विगतमा जे जस्तो भएपनि अहिले कुनै हुलदंगा हुन दिने छैनौँ, हिँउदमा झरेका प्रहरी पोष्टहरुमा सुरक्षाकर्मी पठाइरहेका छौँ, नपुगे थप गर्छौ,’ उनले भने।

त्यस्तै साेही कुरालाई मध्येनजर गरी यहाँका स्थानीयल थप प्रहरीकाे माग गरेका  छन्।

आसन्न स्थानीय निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको थप एक–एक वटा पोष्ट राख्न स्थानीयले माग गरेका छन्।

विगतका निर्वाचनमा यहाँका तल्लो डोल्पाबाट जाने विभिन्न राजनितिक दल सम्बद्ध युवाहरुको आफू अनुकुलका व्यक्ति र पार्टीलाई भोट हाल्न दबाब दिएका कारण नागरिकले पूर्णरुपमा मताधिकार प्रयोग गर्न नपाएको भन्दै यसपटकको स्थानीय तह निर्वाचनमा जनताले पूर्णरुपमा मताधिकारको ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ।

स्थानीयको भेलाबाट निर्णय गरेरै दरखास्त दिने दिनबाट चुनाव सम्पन्न नहुञ्जेलसम्म थप सुरक्षा पोष्ट माग गरेका हुन्।

भेलाबाट निर्वाचन अवधिभर धो'का कुनै होटेल र घरपरिवारमा बाहिरका मान्छेलाई खाने बस्ने व्यवस्था नहुने समेत निर्णय पारित भएकाे छ।

विगतमा जे जस्तो भएपनि यसपटक नागरिकले स्वतन्त्र रुपमा मतदान गर्न पाउने ग्यारेन्टी राज्यले गर्नु पर्ने धो'का स्थानीय ग्याल्वो थापा भोटेकाे भनाइ छ।

निर्वाचनलाई निष्पक्ष धाधँलीरहित बनाउने विषयमा आज पनि गाउँलेहरुको बृहत् भेला गरेर छलफल थालेका छन्।

भने, जुनसुकै पार्टीले राजनितिक कार्यक्रम गर्न पाउने भएपनि निर्वाचन आचारसंहिता विपरितका कार्यक्रम गर्नेलाई कारवाही गरिने प्रहरीले बताएकाे छ।

प्रकाशित मिति: : 2022-04-19 15:55:00

प्रतिकृया दिनुहोस्