उत्तर कोरियाली जासुसलाई गोप्य सैन्य सूचना बेचेको आरोपमा दुई जना पक्राउ

GETTY IMAGES

एक सन्दिग्ध उत्तर कोरियाली गुप्तचरलाई देशको गुप्त सैन्य सूचना उपलब्ध गराएको आशङ्कामा दुई जनालाई दक्षिण कोरियाको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये एक सैन्य अधिकारी छन् भने अर्का व्यक्ति क्रिप्टोकरेन्सी सटहीका प्रमुख कार्यकारी हुन्।

उनीहरूलाई दक्षिण कोरियाली संयुक्त सैन्य कमान्डको 'लग इन' विवरण चुहाएको आरोप लागेको छ। उक्त विवरण दिएबापत उनीहरूले ठूलो रकम लिएको आरोप छ।

सन् १९५० देखि १९५३ सम्म चलेको युद्धपछि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध तनावपूर्ण छ। "एक उत्तर कोरियाली गुप्तचरको निर्देशनबमोजिम एक सेवारत अधिकारी र अर्का गैरसैनिक व्यक्तिले मिलोमतो गरी गुप्त सैन्य जानकारीको जासुसी गरेको यो नै पत्ता लागेको पहिलो घटना हो," प्रहरीले भनेको छ।

क्यामराजडित घडी र एउटा यूएसबी उपकरणको सहायतामा ती विदेशी जासुसलाई गत ज्यानुअरी र मार्चबीच सैन्य सूचना उपलब्ध गराइएको दाबी गरिएको बीबीसीले जनाएकाे छ।

दुवै आरोपितहरू एप्रिलको सुरुमै पक्राउ परेका थिए। उत्तर कोरियाली जासुस भनिएका व्यक्ति को हुन् र कहाँ छन् भन्नेबारे केही खुलाइएको छैन।

दक्षिण कोरियाली अभियोजनकर्ताहरूले भर्चूअल मुद्रासम्बन्धी कार्यालयका प्रमुखको नाम ली भएको र सैन्य अधिकारीको नाम क्याप्टेन बी भएको मङ्गलवार सार्वजनिक गरेका छन्। उनीहरूबारे थप विवरण सार्वजनिक गरिएको छैन।

दुवै जनालाई राष्ट्रिय सुरक्षा कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ। अधिकारीहरूले ती क्रिप्टोकरेन्सी व्यवसायीलाई गत वर्षको जुलाईमा सम्पर्क गरिएको र "एक जना काममा खटाइएका सक्रिय अधिकारी भर्ना गरेर गोप्य सैन्य कुराको अनुसन्धान गर्न" भनिएको आरोप लगाएका छन्।

त्यसको अर्को महिना ती व्यवसायी क्याप्टेन बी भनिएका सैन्य अधिकारीको सम्पर्कमा पुगेको दाबी गरिएको छ। उनले उत्तर कोरियाली जासुसको निर्देशनमा ती व्यवसायीले सैन्य अधिकारीलाई गोप्य सैन्य सूचनाको बदला बिटकोइन दिने वाचा गरेको आरोप छ।

प्रकाशित मिति: : 2022-04-30 06:01:00

प्रतिकृया दिनुहोस्