'भारत भ्रमण' निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

SOPA Images Limited/Alamy Live News

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रूससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने  बताएका छन्।

भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रूसले राजधानी कीभमा ताजा हमला गर्न सक्ने बताएका छन्। 

भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न भारतीय समकक्षीलाई प्रोत्साहन गर्ने उनले बताएका छन्। तर, भारतले रूससँगको लामो समयदेखिको सम्बन्ध तोड्ने सम्भावनालाई भने उनले अस्वीकार गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनबीच शुक्रबार नयाँ दिल्लीमा भेट वार्ता हुँदैछ। भेटका क्रममा जोनसनले आफ्ना भारतीय समकक्षीलाई रूस–युक्रन युद्धमा युक्रेनको पक्षमा उभिन मोदीलाई मनाउन प्रयास गर्ने अनुमान गरिएको छ। 

‘मैले युक्रेनको बारेमा नरेन्द्र मोदीसँग कुरा गरिसकेको छु र वास्तवमा भारतीयहरूले बुचामा भएको घटनाको निन्दा गरेका छन,’ उनले भने।

प्रधानमन्त्री जोनसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यवहार गर्नु भनेको गोहीसँग ‘बार्गेनिङ’ गर्नुजस्तै भएको बताएका छन्। रूसले पछिल्लो समय आफ्नो सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनबाट रूसी सेनालाई हटाएको आफूले हेर्न चाहेको उनले बताएका छन्। 

सन् २०१४ मा रूसमा बिलय भएको क्रिमिया प्रायद्वीपबारे जेलेन्स्कीले छलफल गर्न सक्ने उनले बताएका छन्। युक्रेनी जनताले आफ्नो भविष्यको निर्णय आफै गर्ने उनको भनाई थियो। ‘युक्रेनबिना युक्रेनको बारेमा केही निर्णय गर्नु हुँदैन् ’, उनले थपे। 

प्रकाशित मिति: : 2022-04-21 08:17:00

प्रतिकृया दिनुहोस्