नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यतिबेला देशव्यापी चुनावी दौडाहामा छन्। वैशाख ३० गते स्थानीय चुनावको मिति नजिकिँदै गर्दा ओली विगत एक महिनामा पूर्वको इलामदेखि पश्चिमको बझाङसम्मका २५ भन्दा बढी जिल्लामा पुगेका छन्।
मुलुकका विभिन्न स्थानहरूमा गइरहँदा उनले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले बहुमत स्थानमा जित्ने दावी गरिरहेका छन्। पार्टीको बेइज्जत गर्नेहरू र गुटबन्दी गर्नेहरू बाहिरिएर पार्टीमा शुद्धीकरण आएकोले पार्टी थप बलियो भएको उनको भनाइ छ। पार्टीका संगठित सदस्य सङ्ख्या ११ लाख पुगेको र एमालेप्रति जनआकर्षण बढेकाले एमाले फुटपछि झनै बलियो र शक्तिशाली भएको पुष्टि विभिन्न आधारमा गर्न सकिन्छ।
संगठित सदस्य नै ११ लाखभन्दा बढी
एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा एमालेको संगठित सदस्यको संख्या ११ लाख नाघेको छ। गत वर्ष मंसिरमा सम्पन्न १० औँ महाधिवेशनमा नेकपा एमालेको सङ्गठित सदस्य ८ लाख ५५ हजार रहेको थियो। यसबीचमा २ लाख ५० हजारभन्दा बढी एमालेका सदस्य थपिएका छन्।
चुनाव नजिकिएसँगै कांग्रेस, माओवादी, जसपा, लोसपालगायतका पार्टी परित्याग गरी दिनप्रतिदिन एमालेमा प्रवेश गर्नेहरूको संख्या बढ्दैछ। पछिल्लो समयमा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेतादेखि कार्यकर्ताहरूको संख्या जोडदा एमालेमा संगठित सदस्य १३ लाख नाघ्ने अनुमान गर्न सकिन्छ। यस आधारमा एमाले विगतभन्दा झनै बलियो र शक्तिशाली देखिन्छ।
२०७४ सालको चुनावी परिणाम
अघिल्लो निर्वाचन अर्थात् २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा चुनाव भएको थियो। त्यसबेला एमाले सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको थियो तर कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा पनि अपेक्षाकृत नतिजा ल्याउन सकेका थिएनन्।
निर्वाचन आयोगका अनुसार पाँच वर्षअघि ३५ हजार २ सय १८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। उक्त चुनावमा एमालेले एक्लैले झण्डै ४२ प्रतिशत स्थानीय तहमा जनप्रतिनिधि जितेको थियो।
एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २५६० र वडा सदस्य १० हजार ९ सय १२ जना एमालेबाट निर्वाचित भएका थिए।
त्यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा गठबन्धन गरेको कांग्रेसबाट ११ हजार ४ सय ५४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। कांग्रेसले २६६ प्रमुख, २२३ उपप्रमुख वा उपाध्यक्ष, २२८६ वडा अध्यक्ष र ८ हजार ६ सय ७९ वडा सदस्य जितेको थियो। कांग्रेसले स्थानीय तहको ३२.५ प्रतिशत जनप्रतिनिध आफ्नो पक्षमा पार्न सफल भएको थियो।
कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र तेस्रो ठूलो दलका रूपमा स्थापित भएको थियो। जुन १५.४ प्रतिशत मात्रै हो।
उक्त चुनावमा कांग्रेस माओवादीले सहकार्य गरे पनि सोचेअनुसार परिणाम हासिल गर्न सकेका थिएनन्। यतिखेर पनि परिस्थिति उस्तै देखिन्छ। गठबन्धन असफल भएको त्यतिबेलाको परिणामका आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ।
मनोवैज्ञानिक त्रासमा नेपाली कांग्रेस
यतिबेला नेपाली कांग्रेस एमालेसँग एक्लै चुनावमा जान डराइरहेको छ। विगतमा माओवादीसँग एकता गरेर चुनाव लडेको कांग्रेसले निराशा हात पारेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग कति त्रस्त देखिन्छन् भन्ने कुरा केन्द्रीय समितिको बैठकमा गठबन्धनबिना चुनाव जित्न सकिदैन भन्ने अभिव्यक्ति दिएकाले बुझ्न सकिन्छ।
विगतको निर्वाचनले कांग्रेसभित्र एक खालको मनोवैज्ञानिक त्रास सृजना गरिदिएको छ।
अदालतको परमादेशबाट नौ महिनादेखि सरकारमा रहेको गठबन्धनका दलहरू एमालेविरूद्ध एक भएका छन्। दलीय आधारमा एक्काएक्लै चुनाव लड्ने हिम्मत र सामथ्र्य देखाउन भने सकेका छैनन्। उनीहरूको उद्धेश्य, ध्येय र चिन्ता आफ्नो पार्टीले चुनाव जित्ने भन्नेभन्दा पनि एमालेलाई कसरी हराउने भन्ने नै देखिन्छ। संयोग त्यसबेला पनि कांग्रेस माओवादीको सत्ता गठबन्धन थियो र प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै थिए। अहिले पनि एमाले विपक्षमै छ, सत्तामा प्रधानमन्त्री देउवा नै छन्। कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नभइसकेकोले पनि यो चुनाव कांग्रेसका लागि त्यति सहज देखिदैन। यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ।
विभाजनको क्षतिपूर्ति पूर्वमाओवादीबाट
गत स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १४ हजार ९७ (करिब ४२ प्रतिशत) पद जितेको थियो । एमाले विभाजित भएपछि गत असोजमा तीमध्ये १ हजार ५ सय १ जना (करिब १० प्रतिशत) ले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।
कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत एमालेका संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ। यसको क्षतिपूर्ति एमालेमा पूर्व माओवादी केन्द्रका वरिष्ठ नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेता र हालसालै माओवादी केन्द्रबाट प्रदेश, जिल्ला, पालिका र वडातहसम्म माओवादीको ठूलो पंक्तिसहित करिब ७ प्रतिशत एमालेमा समाहित भएको सङ्ख्यालाई हेर्ने हो भने एमाले पहिलेभन्दा शक्तिशाली र मजबुत भएको आँकलन गर्न सकिन्छ। माधव नेपालले लिएर गएका नेता कार्यकर्ताको पुर्ताल पूर्वमाओवादीबाट भइसकेकोे छ। यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ।
मधेशमा एमालेप्रतिको आकर्षण बढ्दो
२०७४ को स्थानीय तहको निर्वाचनका बेला केपी शर्मा ओलीलाई मधेस विरोधी नेता र एमालेलाई मधेस विरोधी पार्टीको विम्बको रूपमा प्रयोग गरिएको थियो।
त्यसबेला एमाले खुलेर मधेस पस्ने सम्भावना नै थिएन। मधेसमा एमालेविरूद्धको जनमतको बिगबिगी थियो त्यति बेला देशका विभिन्न ठाउँमा भएका सयौं आमसभामा अध्यक्ष ओलीले सम्बोधन गरे पनि मधेसका दुईवटा आमसभामा मुस्किलले पुग्ने वातावरण बनेको थियो। राजमार्ग छेउका क्षेत्रहरू बर्दिबास र चन्द्रनिगाहपुरमा मधेसवादी दलको अवरोधका बीच अध्यक्षले आफ्नो उपस्थिति देखाएका थिए। यतिखेर दैनिक हजारौंको संख्यामा मधेशका नेताकार्यकर्ताहरू सशरीर अन्य पार्टी त्यागेर एमाले प्रवेश गरिरहेका छन्। मधेश एमालेमय बनिरहेको छ। यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ।
स्थानीय तहका जनप्रतिनिधि एमालेमै
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमाले एक्लैले करिब ४२ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको थियो।
एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २५६० र वडा सदस्य १० हजार ९ सय १२ जना एमालेबाट निर्वाचित भएका थिए।
एमालेबाट जम्मा ९ प्रतिशत नेता माधव नेपालसँग गएको बताइन्छ। कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत एमालेका संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ। यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ।
एमालेमा प्रवेशको ओइरो
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्ता र मतदाताहरू धमाधम एमालेमा आइरहेका छन्। राष्ट्रिय जनमोर्चाको ठूलो हिस्सा एमालेमा प्रवेश गरेको छ। गत चुनावमा एमालेलाई मधेस प्रदेशमा बन्देज जस्तै थियो। एमालेले त्यहाँ प्रचार समेत गर्न पाएको थिएन। अहिले आकर्षण एमालेमा छ।
पहिलेदेखि नै नेपालको चुनावी परिणाम नियाल्ने हो भने संगठित मतदाता एमालेमै छन्। असंगठित समेत घरका नयाँ सदस्यको दवावमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नेकपा एमालेले गरेका काम, भावी लक्ष्य हेरेर देश एमालेबाट बदलिन्छ भन्दै एमालेमा आइरहेका छन्। यस अर्थमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ।
ओलीप्रति युवापुस्ताको आकर्षण
यतिखेर विशेष गरी युवा पुस्ता एमाले र केपी शर्मा ओलीप्रति आकर्षित देखिन्छ। अहिलेको चुनावमा अत्याधिक ठूलो संख्यामा युवा र नयाँ मतदाता छन्। त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ। एमालेका संगठित सदस्यमध्ये झन्डै ५० प्रतिशत युवा छन्।
उनीहरूको मनोविज्ञान नेकपा एमाले नजिक छ। गतिशील संगठन, जनतामा घुलनशील नेता कार्यकर्ता एमालेमै छन्। ओली सरकारले गरेका दूरगामी कामहरूको प्रभाव युवा जगतमा परेको छ। रेल, इन्धन पाइपलाईन, सुरूङ्ग, भत्किएका संरचना पुर्ननिर्माण, खानी उत्खनन, उद्योग स्थापना, रोजगारीको सृजना सबैतर्फ हेर्दा देख्नेगरी काम भएको छ। विकास र समृद्धिको पहल अन्य दलले भन्दा बढी एमालेले नै गरेको छ। एमालेले नै सुरू गरेको वृद्ध भत्ता आज एक जना वृद्धले जिविको चलाउन सक्ने माध्यम बनेको छ। यिनै कुराले गर्दा कुरा एमालेप्रति आम जनताको विश्वास र भरोसा अझ बढ्दै छ।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमाले एक्लैले करिब ४२ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको थियो। यसपटक चुनावी तालमेल नभए जित्न नसकिने भन्दै गठबन्धन दलहरू मिलेर निर्वाचन लड्ने निष्कर्षमा पुगेका हुन्। तर पाँच दलीय स्वार्थगत गठबन्धनको चुनावी तालमेललाई आम मतदाताले कसरी लिन्छन् भन्ने अर्को कुराले धेरै अर्थ राख्दछ।
त्यसो त चुनावी परिणाम सिधा हिसाब गरेजस्तो आउदैन। एमालेले लिने चुनावी रणनीति कस्तो हुन्छ, कस्ता उम्मेदबार छान्छ भन्ने कुरा प्रमुख हो। एमाले विभाजन हुँदाको क्षतिपूर्ति अन्य दलबाट भइसकेकाले स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो दल बन्ने सम्भावना झन् बलियो बन्दै गएको छ। समग्रमा भन्दा फुटपछिको एमाले विगतभन्दा बलियो र थप शक्तिशाली भएको देख्न सकिन्छ।
ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन्।