अनेकाैँ सपना बाेकेर २०५३ सालमा राजधानी काठमाडाैँ छिरेका अमित चक्रवती अहिले एक सफल व्यवसायीकाे रुपमा परिचित छन्।
विराटनगरमा हुँदाखाँदाको पसल बेचेर राजधानीमा रम्ने योजनाका साथ काठमाडौं छिरेका अमित आज काठमाडाैँकै मुटु मानिने नक्साल क्षेत्रका एक सफल युवा व्यवसायीको बिल्ला भिरेका छन्। आफ्नो सफलतामा उनी मात्रै हाेइन, परिवार नै खुसी छन्।
नक्सालस्थित टगांलमा उनले आफ्नो व्यवसाय सञ्चालन गरेका छन्। टगांलमा रहेकाे ‘गिन्जा’ उनकाे पसल हाे। साेही पसलका सञ्चालक हुन्, अमित। उनकाे पसलमा सबै वर्गकाे लागि मिल्ने कपडा पाइन्छ।
किलोमिटरलगायत विभिन्न ब्राण्डका कपडा बेच्ने उनीकहाँ सर्वसाधारणदेखि कलाकार, अनि वकीलदेखि डाक्टरसम्म आउने गर्छन्।
आफ्नो पसलमा कपडा किन्न आउने ग्राहकहरुको सन्तृष्टिमा आफ्नो खुसी देख्ने अमित अहिले ग्राहकले गरेको माया र आफूले पाएको सफलताप्रति निकै दंग छन्।
सुरुवाती दिनमा सानो पसलबाट कपडा बेच्न थालेका उनले अहिले साेही व्यवसायलाई निकै अगाडि बढाएका छन्। अमितको पसलमा ‘सपिङ’ गर्न दिपकराज गिरी, दिपाश्री निराैलालगायतका परिचित कलाकार आउने गर्छन्। ‘उहाँहरु मेरो पसलमा कपडा किनेर खुसी हुनुन्छ। उहाँहरुको खुशी देखेर म नि उत्तिकै उत्साहित छु’, उनले भने।
ग्राहकहरु सन्तृष्ट भएको कारण आफ्नो पसल राम्रोसँग चलेको उनले बिएल नेपाली सेवासँग बताए। आफूले सञ्चालन गरेको पसलबाट ४ जनाको परिवार पाल्न सहज भएको भन्दै उनले भने, ‘मेरो लागि सबथोक भनेकै पसल हो।’ कपडा व्यवसाय गरेका उनी आफ्ना साथी भाईहरुलाई समेत भन्ने गर्छन्, ‘सानोतिनो व्यापार गर!’
विदेश पलायन हुने युवालाई समेत उनी बाहिर नजान आग्रह गर्छन्। ‘आजभोलि सबैजसाे युवा लाखौँलाख पैसा तिरेर विदेश जान्छन्। बाहिरको तातो घाममा सकिनसकी काम गर्छन्’, उनी भन्छन्, ‘आफूले खाइनखाई कमाएको पैसा बैंकमा थुपार्छन्। यसरी भोको पेट बसेर हुन्छ चाहिँ के? बरु आफैँ बिरामी भइन्छ। आफू नै बिरामी भएपछि कमाएको सबै पैसा उपचारमा खर्च हुन्छ। अनि पछुताउने गर्छन्। त्यसैले आफू स्वस्थ हुनु जरुरी छ।’
घरको खम्बा नै आफू भएको बताउने उनी आफ्नो स्वास्थयप्रति निकै चासो राख्छन्। त्यसैले त उनी उमेरले ४३ वर्ष पुगेपनि २५ वर्षका युवकजस्तै देखिन्छन्। ‘म नै स्वस्थ रहिनँ भने मैले मेरो परिवार कसरी पाल्ने?’,अमितले भने। आफूलाई परिवार पाल्न पसलले सजिलो बनाएको उनी बताउँछन्। त्यसैले त उनी दैनिक २ घण्टा जसो शारिरीक व्यायाममै समय बिताउने गरेका छन्।
कसरी सुरु भयो कपडा पसल?
०५३ मा उनी काठमाडौं आए। सहर पसेका उनले यहिँ पसल खोल्ने निधो गरे। त्यसैले अमितले गाउँमा भएको पसल बेचेर।
०५६ सालदेखि उनले मोरङस्थित विराटनगरकाे वडा–२२ मा भएको कस्मेटिक पसल छोडेर काठमाडौंको मैतीदेवीमा कपडा पसल राख्न थाले।त्यसबेला पसल खोल्न ७ लाख खर्च गरेका उनले अहिले त्यही पसललाई ५० लाखको बनाइसकेका छन्।
‘आफूले गरे के चाहिँ नहुँदो रहिछ र’, उनले भने। बाआमाले व्यवसाय गरेका कारण नै आफू पनि व्यवसायी बन्न चाहेको उनले बताए।
‘मेरो मातापिताले पसल राख्नुभएको थियो, त्यसैले मलाई पनि सोच आयो व्यवसायी बन्ने’, विगत सुनाउँदै उनले भने, ‘त्यसैले मलै पनि पसल सुरु गरेको हो।’
आफूले गरेको कामप्रति सन्तृष्ट रहेका उनी भन्छन्, ‘म मेरो व्यापारप्रति धेरै सन्तुष्ट छु। अरुको काम गर्नुभन्दा आफैँले नै व्यवसाय गर्नु राम्रो हो।’
आफ्नो पसल भएपछि समय दिनुपर्ने भन्दै अमितले भने, ‘पसलमा आउने ग्राहकहरुलाई भगवान जत्तिकै पुज्ने गरेको छु।’ आफूकहाँ कपडा किन्न आएका ग्राहकहरुको चित्त बुझाउनु नै आफ्नो उदेश्य रहेको उनले बताए।
‘यदि कसैलाई मेरो कपडाप्रति असन्तृष्टि छ भने म त्यसैलाई समाधान गर्न तयार छु’ उनले भने, ‘मेरोबाट कपडा किनेपछि कपडामा खराबी आउँछ भने त्यो मेरो जिम्मेवारी हो।’ कपडा बेच्न थालेको १३ वर्ष भएको बताउँदै उनले भने, ‘अहिलेसम्म किलोमिटरको कपडा राम्रो छैन भन्नेहरु भेटिएका छैनन्।’
किलोमिटर कस्तो ब्राण्ड हो?
अन्य ब्राण्डहरुभन्दा फरक ब्राण्ड हो- किलोमिटर ब्राण्ड। जुन भेदनाममा बनेका कपडा हुन्। याे ब्राण्डको कपडा धेरै राम्रो हुने गरेको उनी बताउँछन्।
‘मेरो पसलको राम्रो पक्ष नै किलोमिटरको ब्राण्ड हो, जुन ब्राण्डलाई सबैले मन पराउनु भएको छ। यो ब्राण्डको कपडा राम्रो पनि हुन्छ’ उनले भने, ‘यो ब्राण्डको कपडा महँगो पनि हुन्छ।’
उनीकहाँ भेदनामबाट मात्र होइन, चाइना, थाइल्याण्डलगायतका देशहरूबाट पनि कपडा आउने गर्छ। जसको मूल्य ४ हजारदेखि २५ हजारसम्मको पर्छ।
‘मान्छेले चाइनाको सामान रहिछ भनेर मुख बिगार्छन् तर हामीले चलाउने गरेको आइफोन पनि चाइनामा बनेको मोबाइल हो’, उनी भन्छन्, ‘देशको नाम सुनेर हैन, कपडा हेरेर राम्रो-नराम्रो छुट्याउनुपर्छ।’
विगतका दिनहरुमा बाहिरबाट ल्याउने कपडा आजभोलि ठप्प भएको उनले बताए। ‘सरकारले बाहिरबाट आउने सामानहरु बन्द गरेको छ। यसले हामी व्यवसायीहरुलाई मर्का परेको छ’, उनी दुखेसाे पाेख्छन्।
त्यसैले आजभोलि व्यापार नभएको उनी बताउँछन्। ‘अहिले त्यति व्यापार भएको छैन’, अमितले भने, ‘तर टिकटकको सहायताले केही सामान बेच्न सकेको छु।’
टिकटकमा सक्रिय रहने उनलाई टिकटक प्रयोगकर्ताहरूले फोन गरेरै सामान लिने गरेका छन्। ‘सामान मन पर्यो भनेर पसलमै किन्न आउने गर्छन्’, उनी सुनाउँछन्, ‘टिकटकले व्यापार गर्न सहज बनाएको छ।’ उनको अबको सपना भनेको व्यापारलाई निरन्तर दिनु हो।
फोटो/भिडियो : मदन नेपाली