युवा व्यवसायी कृष्णराज तिमल्सिना भन्छन् : धनी बन्न विदेश जानुपर्दैन

स्वदेशमै उत्पादन भएका कपडा बलियो र स्तरीय हुन्छन् भन्ने कुरा स्थापित गर्ने अभियानमा जुटिरहेका र कम मूल्यमा उच्च गुणस्तरको कपडा नेपाली बजारमा उपलब्ध गराउने सफल युवा उद्यमी हुन्, कृष्णराज तिमल्सिना। उनको जन्म वि. स. २०४४/१०/२५ गते रामेछाप जिल्लाको गुन्सी भदौरे धारापानीमा भएको हो।

व्यवसायमा रुचि राख्ने तिमल्सिना कपडामा देशलाई आत्मनिर्भर बनाउँछु भन्ने सोच राखेर अगाडि बढेरहेका छन्। उनै दिगो उद्यमशीलता, समृद्ध भविष्यका सफल कृष्णराज तिमल्सिनासँग गरिएकाे कुराकानी प्रस्तुत छ:-


तपाईं आफ्नो बाल्यकाललाई कसरी सम्झनु हुन्छ ?

एउटा साधरण किसान परिवारमा जसरी एउटा बालक हुर्किन्छ, त्यसरी नै मेरो बाल्यकाल बित्यो। गाउँले परिवेश गाउँको काम गरेर हुर्किएँ। गाई वस्तु, घाँसपात, दाउरा र खेतीपाती गरेरै हुर्किएको मान्छे हुँ, म। मैले कक्षा १ देखि १० सम्म गाउँको स्कुलबाट पढेर उच्च शिक्षाकाे अध्ययन मेरिल्याण्ड कलेजबाट गरेकाे छु। त्यसपछि पढाइलाई ३ वर्ष थाती राखेँ। उद्यम संचालन पश्चात स्तानक तह (बिए) र स्नातकोत्तर (मास्टर) तह सकाएँ। त्यसपछि पढाइलाई अगाडि बढाउन पाइनँ।

तपाईं कसरी व्यवसायमा लाग्नु भयाे ?

लगभग ५ वर्ष भयाे, म यस क्षेत्रमा आवद्ध भएको। कक्षा १२ मा पढ्दा कपडा पसलमा काम गर्थेँ। लगभग २ वर्ष काम गरेँ, त्यसपछि  काम गदैं जाँदा बीचमा विदेश गएँ। २ वर्ष बसेर फर्केपछि नेपालमै केही गरुम भन्ने सोच आयाे अनि कपडा पसल खोलेँ। काम गदै व्यवसायलाई बढाउँदै जाने क्रममा बाहिरबाट कपडा ल्याएर ग्राहकलाई कम मूल्यमा दिन सक्छु कि भन्ने खोजीमा कयौं देशमा पुगेंँ। त्यस्तै किसिमको गुणस्तर भएको कपडा यही नेपाल मै पनि बनाउन सकिन्छ र यही उत्पादन गरी ग्राहकलाई अझैं पनि सस्तो मूल्यमा दिन सकिन्छ भन्ने हिसाबले संचालन गरिएको हो।

सुरुवातमा कति लगानीबाट सुरु गर्नु भएकाे थियाे ?

०६६/६७ सालतिर ६/७ लाख देखि १० लाखसम्म लगानी गरेर सुरुवात गरेको हो।

सुरुवातमा के–के उत्पादन गर्नुभयो ?

सुरुमा उत्पादनभन्दा पनि हामीले अन्त्य देशबाट कपडा ल्याएर बेच्ने गरिन्थ्यो। तर, यहाँ कारखाना खोलेदेखि अरु देशबाट कपडा नल्याइने यही बनाएर बस्ने गरियो। यहाँ यो किसिमको कपडा उत्पादन हुन्छ भन्नु भन्दा पनि सबै कपडा उत्पादन गरिन्छ। र, बच्चादेखि केटाकेटी, बुढापाकासम्मको कपडा उत्पादन हुन्छ, अहिले।

यस कारखानाबाट उत्पादन भएको कपडा कुन–कुन ठाँउमा पुग्छन् ?

अहिले नेपालमा मात्र छ। नेपालमै मात्र दिएर हामीलाई फुर्सद छैन। अरु देशबाट माग आएको पनि हो र पठाउन पनि सकिन्छ। तर, यहीँ नेपालमा बनाइएको कपडा मेड इन नेपाल भनेर यही बेच्ने भनेर अरू देशमा पठाएका छैनाैँ।

तपाईं यही क्षेत्रलाई रोज्नुको कारण ?

देशमा अवसर छैन भन्दै विदेश जानेहरुको लाइन लामाे छ। तर, अवसर नपाएकोभन्दा पनि सीप नभएर विदेश जानेको संख्या ज्यादा छ जस्तो मलाई लाग्छ तर पनि हाम्रो देशमा निकै क्षमतावान युवा छन्। ती सबै युवालाई स्वदेशै रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रमा केही मात्रामा भए पनि टेवा पुर्‍याउने उद्देश्यले म यो क्षेत्रमा छु।

यस क्षेत्रमा सफलता पाउनु भएकोमा कोप्रति आभारी  हुनुहुन्छ ?

यस व्यवसायमा प्रवेश गरेर सफलता पाएकोमा म कोहीप्रति आभरित छैन। किनकी सुरुवातको समयमा मलाई मेरो आफ्नाले एक रुपैयाँ पनि सहयोग गरेका थिएनन्। जति पनि मैले सफलता हासिल गरेको छु, त्यो सबै मेरो लगनशीलता र मेहनतको फल हो।

तपाईं यस व्यवसायमा आवद्ध हुँदाको अविस्मरणीय क्षण केही छ ?

यो व्यवसाय संचालन गरेको २ वर्षपछि सबै ऋण चुक्ता गरेर मैले काठमाडौंमा ६ आनाको जग्गा लिएको थिएँ। म त्यो दिन जतिको खुसी कहिलै भएकाे थिएनँ।

अरुले तपाईंलाई कसरी चिनिदिएको भए हुन्थ्यो भन्ने छ ?

अहिले म एउटा असल र सफल युवा उद्यमी भनेर चिनिएँ। तर, मलाई पछि देशको लागि सहयोग गर्ने समाजसेवी बनेर चिनिनँ मन छ।

यस व्यवसायमा आउन चाहनेहरुलाई तपाईंंको सल्लाह/सुझाव के छ ?

+२ सकेपछि आम विद्यार्थीहरु २० देखि ३० लाख खर्च गरेर विदेश जान चाहन्छन्। त्यही पैसा यही देशमा विभिन्न उद्योगधन्दा तथा केही व्यवसाय संचालन गर्‍यो भने आफू पनि स्वदेशमा रोजगारी र देश पनि धनी हुन्छ।

यो क्षेत्रमा आउने युवाहरुलाई राम्रो छ, आए हुन्छ, भन्छु म त। अहिलेको फष्टाउँदो व्यवसाय पनि हो। तर, व्यवसाय सुरुवात गर्नुभन्दा पहिले तालिम तथा ज्ञान लिएर आयो भने भविष्य एकदमै उज्जवल छ।

(बिएल नेपाली सेवाका लागि प्रशिक्षार्थी पत्रकार तारा श्रेष्ठले गरेको कुराकानी)

प्रकाशित मिति: : 2022-04-09 10:36:00

प्रतिकृया दिनुहोस्