उर्जा क्षेत्र सहयोग सम्बन्धी नेपाल–भारत संयुक्त भिजनमा के छ ?

नेपाल र भारतले शनिबार ऊर्जा क्षेत्र सहयोग सम्बन्धी ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको समयमा नयाँदिल्लीबाट उक्त भिजन जारी गरिएको हो। 

जारी गरेपछि दुवै देशका प्रधानमन्त्रीले भारत–नेपाल संयुक्त भिजनलाई उर्जा क्षेत्रको ठूलो उपलब्धी बताएका थिए। भिजनमा दुवै देशका प्रधानमन्त्रीले केही बुँदामा सहमती जनाएका छन्। 

नेपालमा विद्युत उत्पादन आयोजनाहरूको संयुक्त विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको विकास, पारस्परिक लाभ, बजारको माग र प्रत्येक देशको लागू घरेलु नियमका आधारमा दुवै देशको विद्युत बजारमा उपयुक्त पहुँचसहितको द्वि–दिशात्मक ऊर्जा व्यापार, राष्ट्रिय ग्रिडको समन्वयात्मक सञ्चालन र नयाँ सूचना, प्रविधि र ज्ञानको संस्थागत आदानप्रदान लगायत ऊर्जा क्षेत्रमा पारस्परिक रूपमा लाभदायक द्विपक्षीय सहयोग विस्तार र सुदृढ गर्ने अभूतपूर्व अवसरहरू रहेको कुरालाई भिजनमा दुवै प्रधानमन्त्री स्वीकारेका छन्। 

सबै सहभागी पक्षहरूबीच पारस्परिक रूपमा सहमत सर्तहरू र सर्तहरूको अधीनमा बिबीआइएन फ्रेमवर्क अन्तर्गत आफ्ना साझेदार देशहरूलाई समावेश गर्न यस्तो सहयोग विस्तार गर्न सकिने भिजनमा उल्लेख छ। बिबीआएन बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन हो। 

‘तिनीहरूको सम्बन्धित राष्ट्रिय नीतिहरू र जलवायु परिवर्तन प्रतिबद्धताहरूको आधारमा, नवीकरणीय ऊर्जा उत्पादन, विशेष गरी जलविद्युतलाई तिनीहरूको ऊर्जा साझेदारीको आधारशिला बनाउन,’ भिजनमा बिबीआइएनलाई समेट्नुको कारण उल्लेख गरिएको छ। 

नेपालको नवीकरणीय उर्जा क्षेत्रमा, विशेषगरी जलविद्युत क्षेत्रमा भारतीय लगानीले दुवै देशलाई रोजगारी सृजना गर्ने भिजनमा जनाइएको छ। आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउन, निर्यात आम्दानीमा बृद्धि गर्न र औद्योगिक तथा वित्तीय क्षमताको थप विकासमा योगदान पुर्याएर दुवै देशलाई फाइदा पुर्याउने क्षमता  उर्जा क्षेत्रमा रहेको र यसमा आपसी सहमतिमा साझेदारी गर्ने कुरा पनि भिजनमा समेटिएको छ। 

नेपालले भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत क्षेत्र लगायत सम्भाव्य नवीकरणीय ऊर्जा परियोजनाहरूको विकास, निर्माण र सञ्चालनमा लगानी गर्न आह्वान गरिएको छ। यसमा पारस्परिक लाभकारी साझेदारी मार्फत ‘स्टोरेज’ परियोजनाहरुमा समेत काम गर्न सकिने जनाइएको छ। 

दुवै देशका प्रधानमन्त्रीहरू यस संयुक्त भिजनको आधारमा परियोजनाको कार्यान्वयनलाई प्राथमिकतामा राखी गति प्रदान गर्न सहमत भएका छन्। उनीहरुले पारस्परिक सम्मान र समानताको आधारमा एकअर्काको राष्ट्रिय विकास र समृद्धिलाई निरन्तरता दिने सहमति समेत भिजनमा गरेका छन्।

प्रकाशित मिति: : 2022-04-02 19:18:00

प्रतिकृया दिनुहोस्