अन्ततः गैरआवासीय नेपाली संघ विभाजित भएरै छाड्यो। दुई फग्ल्याटा नै भएको त भन्न मिल्दैन तर सानो भए पनि विभाजनचाँहि भएकै हो। यस्तो होला भनेर चोइटिनेले पनि ठानेका थिएनन्, नचोइट्याउनेले पनि । जे भयो, सबै नसोचेकै भयो, अझ भनौं ख्यालख्यालमै यो सबै भयो।
खासमा सुरूमा चोइटिनेको संख्या ठूलै थियो, उनीहरूले देखाउन विधानको कुरा गरे पनि पदकै लागि घुक्र्याउन खोजेका थिए। उनीहरूको मनसाय बुझेर संस्थापन पक्षले खुद्रामा होइन, थोकमै पदको घाँस हालिदियो । यही बीचमा उनीहरूलाई राजनीतिक पार्टीको पगाहा पनि लाग्यो। त्यसपछि उनीहरू ठूलै जत्थामा मूलधारमै फर्किए।
राजनीतक पगाहामा भएका फर्किए पनि शेष घले र उनका डाइहार्ट अनुयायी बाँकी नै थिए। घलेलाई भने बद्री केसीलाई अध्यक्ष बन्न दिनुभन्दा बरू एनआरएनए टुक्र्याउनु नै थियो। उनी आफ्नी श्रीमतीलाई अध्यक्ष बनाउन नपाएयता इगोले यति ग्रस्त छन् कि उनलाई सन्निपात नै भइसकेको छ। उनको यही जिद्दीपनले दुर्घटनामा परिन्छ भन्ने मेसो पाएकाहरू बीचैमा फर्किए, नपाएकाहरू नराम्ररी दुर्घटनामा परे।
यो दुर्घटनामा पर्ने सबै खराब थिएनन्, केही एनआरएनका लागि योगदान दिएका र केही योगदान दिनसक्ने मानिस पनि थिए। दुर्भाग्य नै भन्नुपर्छ, घलेको ब्रेक फेल भएको गाडीमा चढेर उनीहरू नराम्ररी पछारिए। पछारिएकामध्ये केहीले घलेले दिएको पद त पाए तर त्यो मूतको न्यानोभन्दा बढी केही हैन। अहिले नै थाहा भइसक्यो, समयक्रममा छर्लङ्गै हुनेछ।
संसारभरका एनआरएनले घले र उनका अनुयायीलाई संस्था नै फुटाउने खलपात्रका रूपमा बुझे। उनीहरूको निधारमा कहिलै नमेटिने गरी कलंकको टीका लाग्यो। अब उनीहरू एनआरएन अभियानमा कहिल्यै उठ्नै नसक्ने गरी सीमान्तकृत भए। विचराहरू, केका लागि संस्था फुटाउने गोटी बने, त्यो पनि उनीहरूलाई थाहा-पत्तो भएन।
अब त उनीहरूलाई घले एनआरएनको बात लागिगयो, त्यसैले अहिलेका लागि उनीहरूसँग घलेको निर्देशन पछ्याउनुको विकल्प पनि छैन। त्यसैले पनि श्वास रहुन्जेल आश भनेझै अहिले उनीहरू आफू नै आधिकारिक हौं भन्ने दाबी लिएर प्राधिकार संस्था परराष्ट्र मन्त्रालय पुगेका छन्। तर, उनीहरूलाई पनि थाहा छ कि आफ्नो पक्षले आधिकारिकता पाउने सम्भावना तिलको दाना जति पनि छैन।
किनकि, मुलुकको राष्ट्रपति र प्रधानमन्त्री नै सहभागी भएको पक्षलाई मान्यता नदिएर अर्को पक्षलाई त्यही पद्धतिको परराष्ट्र मन्त्रालयले मान्यता दिने कुरै हुँदैन। जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्ने कुरा यही हो।
घले एनआरएनएले धेरै गर्न सक्ने भनेको अदालतमा मुद्दा हाल्ने हो। तर, अदालतले विश्व सम्मेलन र निर्वाचन फुकुवा नगरेकै बेला गरेको यो समूहको निर्वाचनले अदालतमा पनि कुनै रङ्ग ल्याउन सक्ने ठाउँ छैन । संस्थापन पक्षले भने अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश नदिएको बेला निर्वाचन गरेर त्यो तगारो पनि पार गर्यो । जतिबेला निर्वाचन भयो, त्यतिबेला अन्तरिम आदेश दिन नपर्ने भनेर अदालत बोलिसकेको थियो।
एनआरएनएको नेतृत्वमा रहेका मान्छे खराब हुन सक्छन् तर संसारभरका नेपालीलाई गोलबद्ध गर्न सक्ने संस्था भनेको यही हो । यसका लागि अहिलेसम्म ठूलो स्रोत, साधन र समय खर्च भैसकेको छ। आधाबाटोमा रहेका तमाम काम सम्पन्न गर्न पनि तत्कालका लागि यो संस्थाको विकल्प देखिदैन।
भनिन्छ नि– कानुनका नौ सिङ हुन्छन्। मुद्दा लड्ने केही सिङ त घलेका महंगा वकिलले निकाल्लान् । मुद्दा पनि हाल्लान्। अझ बेञ्च सपिङ गर्न यति पैसा चाहिन्छ भनेर भन्लान् । घलेको इगोको नाडी छामेका उनीहरूले राम्ररी नै अष्ट्रेलियन डलर झार्न सक्लान्। तर, जति नै गरे पनि घलेको त्यो प्रयत्न सफल हुने छाँट देखिँदैन । ढिलोचाँडोको कुरा मात्र हो, प्रकारान्तरमा घले एनआरएनको इतिहासमा एक खतरनाक खलपात्र अर्थात् ‘गब्बरसिङ’ सावित हुनेछन्। उनलाई इतिहासले एक हठी, सन्की र दुस्साहसी भूतपूर्व अध्यक्ष जसले आफ्नो इगो शान्त गर्न संस्था नै चोइटाए भनेर सम्झनेछ।
यसपटक विश्व सम्मेलनको नाममा भएको हर्कतका कारण घले त स्खलित भए नै, मूलधार भनिने पक्ष पनि एनआरएको इतिहासमै सबैभन्दा बढी लज्जित भयो। एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले त परदेशमा रहेका नेपालीलाई सबै कुरा छोडेर एनआरएनमा नलाग्न सार्वजनिकरूपमा आग्रह नै गरे। उनले १० औंला जोडेर आफूलाई पापको भारी नबोकाउन गरेको अनुरोध जो कोही एनआरएनका लागि पनि पीडादायी क्षण थियो।
वास्तवमा एनआरएन स्थापनाका लागि डा. उपेन्द्र महतोले जति स्रोत, साधन, समय लगाए, त्यसको कुनै हिसाब किताब नै छैन। त्यसरी स्थापना गरेको संस्था यसपटक जुन अवस्थामा पुग्यो, त्यसले दिएको पीडा उनको अनुहारमा सजिलै देख्न सकिन्थ्यो। सम्मेलनको उद्घाटन सत्रमा दिएको उनको मन्तव्य स्तव्ध पार्ने खालको थियो।
ठूलो दुःख गरेर स्थापना गरेको एनआरएनए फुट्यो पनि, बाँकी रहेको संस्थापन पक्षको गरिमा पनि लिलिपुट भयो। अगुवा एनआरएनहरू पदका लागि यति लिच्चड देखिए कि यस्तो लाग्थ्यो उनीहरू एनआरएन अभियानमा लागेकै पदका लागि हो। यही क्रममा अध्यक्ष तीन, उपाध्यक्ष ११, महासचिव २, उपमहासचिव ५, सचिव १०, कोषाध्यक्ष ३, सहकोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष ३ लगायत यति धेरै पद बनाइए कि कुनै पनि पदाधिकारी कम्तीमा पनि दुईजना छन्। यो सबै जोड्दा पदाधिकारी सङख्या नै ७४ पुगेको छ। अझ यसो भनौं, जसले जे माग्यो, त्यही पद सिर्जना गरियो। यतिसम्म कि सदस्यका लागिसमेत योग्य नहुने उपाध्यक्ष भए।
एक वाक्य शुद्ध लेख्न नसक्ने सचिव भए, डेबिट–क्रेडिटको सामान्य ज्ञान नभएका कोषाध्यक्ष भए। यसअघि पटक–पटक चुनाव हारेकालाई त खुदो नै पल्ट्यो, त्योभन्दा माथिको पद पाए। एउटै देशमा सिंगो कार्यसमिति पुग्ने गरी मात्र होइन, थप पद पनि आए । अमेरिकालाई मात्र हेर्ने हो भने यही सबै पदाधिकारी छन्, महासचिव त एक होइन, दुई छन्।
यो तस्बिरले के देखायो भने घरदेशमा होस् वा परदेशमा, नेपाली भनेकै पदका लागि जन्मेका प्राणी हुन्। कुनै पनि संस्थामा उनीहरू सहभागी हुने भनेकै पदका लागि हो। अनि पदचाहिँ के का लागि भन्दा कामका लागि होइन, भिजिटिङ कार्डका लागि मात्र हो। इतिहास साक्षी छ, एनआरएनमा पद लिएका धेरैले कार्ड छापेर बाँड्नेभन्दा बढी काम गरेका छैनन्।
एनआरएनएको यो बिजोग सम्मेलनले यस्तो भाष्य सिर्जना गर्याे कि अब एनआरएन भन्न पनि लाज हुनेछ। अब एनआरएनएको कुनै पदाधिकारी भन्यो भने मानिसहरू उनीहरूको अनुहार हेरेर हाँस्नेछन्। अब हरेक संस्थामा धेरै पदाधिकारी भए भने मानिसहरूले उदाहरण दिँदा कस्तो एनआरएनएजस्तो भन्नेछन्। परदेशमा मात्र होइन, घरदेशमा पनि। प्रकारान्तरमा यसले यस्तो नजीर बसाइदियो कि अब यो संस्थाको गौरवपूर्ण इतिहास बिरलै दोहोरिएला। असम्भव नै नभनौं तर सजिलै शीर उठ्ने सम्भावना देखिँदैन।
आखिर यसका लागि दोषी को हो ? यसको सबैभन्दा ठूलो खलनायक रूपमा शेष घले देखिए पनि सारमा कुल आचार्य हुन्। उनकै पदलिप्सा र जिद्दीपनका कारण एनआरएनएमा ‘कांग्रेस’ पस्यो र प्रकारान्तरमा यो परिणाम आयो। आचार्यलाई उचाल्ने सबैभन्दा ठूलो खलसंस्था एनआरएनए अमेरिका हो। अमेरिकामा विभिन्न गुटमा बाँडिएका कांग्रेसीहरूले संस्थापन पक्षसँग प्रतिनिधिको झ्याउला उठाए, जब कांग्रेसले उनीहरूको पुच्छर निमठ्यो, उनीहरूले रोजी छाडी पद पाउने भए, त्यसपछि उनीहरू युटर्न भए र आफूले सपनामा पनि नचिताएका पदहरूको भारी बोकेर मूतको न्यानो तापिरहेका छन्।
के अब यो संस्थाको औचित्य नै सकिएको हो त ? निश्चित पनि यो संस्थाको आवश्यकता र औचित्य हिजोभन्दा आज अरू बढी छ। नेपालीका लागि नेपालीको मूल मर्म लठिभद्र छ, एकपटकको नेपाली सधैँको नेपाली नागरिकता ऐनमा आएर अड्किएको छ। गैरआवासीय नागरिकताका लागि उचित संशोधन आवश्यक छ। नेपालमा प्रवेश गर्दा भिसा शुल्क नलाग्ने व्यवस्था गर्न अरू पैरवी चाहिएको छ।
उता, श्रीमतीलाई अध्यक्ष बनाउन नसकेर रन्थनिएका घले भने उचालिएर यति पर घचेटिए कि उनी फर्कनै नसक्ने ठाउँमा पुर्याइए। परिणामतः एनआरएन पनि सग्लो रहेन, मूलधारे एनआरएनएमा पनि यो बहुपदीय गाईजात्रा देखियो।
तर, पनि एनआरएनए आज जुन अवस्थामा आइपुग्यो, यसको पृष्ठभूमिमा मात्र होइन, अन्तिममा गाँठो पार्ने ठाउँमा शेष घले नै देखिए। अरूले धकेलेर पर पुर्याए पनि उनले संस्था जोगाउनका लागि आफ्नो इगो त्यागेको भए संस्था पनि सग्लो रहन्थ्यो, अहिलेको बहुपदीय गाईजात्रा पनि देखिने थिएन।
धेरैलाई लाग्ला, एनआरएन पतनको यो सीमा हो। तर, त्यसो होइन, यो त पतनको अर्को चरणको शुरूवात हो। अब यो विन्दुबाट यो गाईजात्रे कार्यसमितिले बाँकी १८ महिनामा योभन्दा विरूप तस्बिर देखाउने सम्भावना नै बढी छ। किनकि, अहिले नेतृत्वमा रहेकामध्ये धेरैलाई संस्थाको माया नै छैन, उनीहरू पदका लागि मात्र त्यो संस्थामा छन्। यो नियतको कुरा हो।
अर्को कुरा, केहीलाई छोडेर अधिकांश पदाधिकारी त्यो हैसियतकै छैनन् जसले संकटमा परेको एनआरएनएलाई पार लगाउन सक्छन्। यो ल्याकतको कुरा भयो। जब नियत पनि साफ छैन, ल्याकत पनि देखिँदैन र इच्छाशक्तिको पनि कुनै गुञ्जायस हुँदैन, त्यसपछि संस्था सही बाटोमा आउन सक्ने सम्भावना ज्यादै थोरै हुन्छ। अहिलेका लागि यसो भन्न सकिन्छ कि समयले यो संस्थालाई एउटा विकराल प्रश्नचिह्नमुनि ल्याएर उभ्याइदिएको छ।
जब संस्था यस्तो अवस्थामा छ, स्वभावकि रूपमा अर्को प्रश्न पनि उठ्छ। त्यो के भने, के अब यो संस्थाको औचित्य नै सकिएको हो त ? निश्चित पनि यो संस्थाको आवश्यकता र औचित्य हिजोभन्दा आज अरू बढी छ। नेपालीका लागि नेपालीको मूल मर्म लठिभद्र छ, एकपटकको नेपाली सधैँको नेपाली नागरिकता ऐनमा आएर अड्किएको छ। गैरआवासीय नागरिकताका लागि उचित संशोधन आवश्यक छ। नेपालमा प्रवेश गर्दा भिसा शुल्क नलाग्ने व्यवस्था गर्न अरू पैरवी चाहिएको छ।
यी सबै गर्न सक्ने एकीकृत एनआरएनए अझै पनि खाँचो छ। संस्थाको नेतृत्वमा रहेका मान्छे खराब हुन सक्छन् तर संसारभरका नेपालीलाई गोलबद्ध गर्न सक्ने संस्था भनेको एनआरएनए नै हो। यसका लागि अहिलेसम्म ठूलो स्रोत, साधन र समय खर्च भैसकेको छ। आधाबाटोमा रहेका तमाम काम सम्पन्न गर्न पनि यो संस्थाको कुनै विकल्प छैन।
जे जस्तो भए पनि अहिले जुन नेतृत्व चयन भएको छ, यसले एनआरएनए चोइटिए पनि विभाजन हुनबाट रोकेको छ। अहिलेको यो जम्बो नेतृत्वसामु अप्ठ्यारोमा परेको एनआरएनएलाई सही बाटोमा ल्याउने अवसर प्राप्त छ। यसले तत्कालका लागि पाँचवटा काम गर्नुपर्ने हुन्छ।
पहिलो, अर्काको उक्साहटमा लागेर चोइटिएकालाई आत्मालोचना गर्ने मौका दिनुपर्छ र उनीहरूलाई मूलधारमा समाहित गरेर सग्लो एनआरएनए बनाउनुपर्छ।
दोस्रो, यो संस्थामा रहेका विखण्डनबादीहरूलाई चुनीचुनी किनारा लगाउनुपर्छ जसले गर्दा यस्ता खराब प्रवृत्तिले कहिल्यै टाउको उठाउन नसकोस्।
तेस्रो, एनआरएनएको गुमेको शाख र प्रतिष्ठा कायम राख्न सबैले बिगतका गल्तीहरूको प्रायश्चित गरेर अघि बढ्नुपर्छ।
चौथो, आवश्यक पैरवी गरेर गैरआवासीय नागरिकतालाई व्यवस्थित गर्दै नागरिकता ऐन आउने व्यवस्था गर्नुपर्छ।
पाँचौँ, अहिलेको एनआरएनएको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै तत्काल नेपाल जाँदा भिसा शुल्क नलाग्ने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ। यसो गर्न सकियो भने तत्कालका लागि एनआरएनएको गिर्दो शाखलाई केही मात्रामा भए पनि ब्रेक लगाउन सकिन्छ।
यी सबै काम गरिएन र फेरि पनि गाईजात्रा मात्रै देखाइरहियो भने एनआरएनएको गरीमा त धुलिसात हुन्छ नै, औचित्य पनि सकिन्छ। कामना गरौं, त्यस्तो स्थिति नआवोस्।