भारतमा बढ्न थाल्याे औषधिको मूल्य, नेपालमा कस्तो असर पर्ला?

भारतीय बजारमा अत्यावश्यक औषधिको मूल्य पनि मुद्रास्फीतिको मारमा परेको छ। 

आगामी अप्रिलदेखि आठ सयभन्दा बढी अत्यावश्यक औषधिको मूल्यमा १० प्रतिशतसम्म बृद्धि हुने अनुमान गरिएको छ। जसमा ज्वरो, मुटु रोग, उच्च रक्तचाप, छाला रोग र रक्तअल्पताको उपचारका लागि प्रयोग हुने औषधिहरू पनि छन्। 

पेनकिलर जस्ता अत्यावश्यक औषधि र पारासिटामोल, फेनिटोइन सोडियम, मेट्रोनिडाजोल जस्ता एन्टिबायोटिक महँगो हुन थालेका छन्। भारतीय केन्द्र सरकारले पनि छिट्टै नै औषधिको मूल्य बढ्ने संकेत गरेको छ।

राष्ट्रिय फार्मा मूल्य निर्धारण प्राधिकरणका अनुसार यी औषधिको मूल्य मुद्रास्फीति दरको आधारमा तोकिएको हो।

कोरोना महामारीदेखि नै उद्योगहरूले लगातार औषधिको मूल्य बढाउन माग गर्दैआएका छन्। निर्धारित औषधिको मूल्यमा १० दशमलव ७ प्रतिशत वृद्धि स्वीकृत गरेको छ। मूल्यवृद्धिको सबैभन्दा ठूलो मारमा कोरोनाका बिरामीहरू पनि पर्नेछन्। 

विज्ञहरूका अनुसार केही प्रमुख एपीआईको मूल्य विगत दुई वर्षमा १५ देखि १३० प्रतिशतसम्म बढेको छ।

पारासिटामोलको मूल्य १३० प्रतिशतले बढेको छ। यस्तै, सिरप र ओरल ड्रपसँगै अन्य औषधि तथा चिकित्सा विधिमा प्रयोग हुने ग्लिसरिनको मूल्य २६३ प्रतिशत र पोपाइलिन ग्लाइकोलको मूल्य ८३ प्रतिशतले बढेको छ। मध्यवर्ती सामग्रीको मूल्य ११ प्रतिशतबाट १७५ प्रतिशत पुगेको छ। बढ्दो लागतलाई मध्यनगर गर्दै सन् २०२१ को अन्त्यतिर औषधि उद्योगले भारतीय केन्द्र सरकारलाई औषधिको मूल्य बढाउन अनुरोध गरेको थियो।

गत वर्षकाे नोभेम्बरमा एक हजारभन्दा बढी भारतीय औषधि निर्माताहरूले सरकारलाई तत्काल मूल्यमा दश प्रतिशत बृद्धि गर्न अनुमति दिन आग्रह गरेको थियो। अल इन्डिया ड्रग एक्शन नेटवर्कसँग सम्बद्ध चिनु श्रीनिवासन भन्छन्– नियन्त्रणको नाममा औषधिको मूल्य दश प्रतिशतले बढ्नेछ।

नेपालमा पनि अधिकांश अत्यावश्यक औषधि भारतबाटै भित्रिने गरेकाे छ। अहिले पनि गाउँ–शहरका बिरामी औषधिको अभाव खेपिरहेकै हुन्छन्।

स्वास्थ्यचौकीमा औषधि नपाइएपछि निजी मेडिकलबाट औषधि किन्नुपर्ने बाध्यता बिरामीले लामो समयदेखि भोग्दै आइरहेका छन्। यस्ताे अवस्थामा औषधि बृद्धिकाे असर नेपाली गाउँ–बस्तीसम्मै पर्ने देखिन्छ।

तर नेपालमा भन्दा पारासिटामोलको भाउ भारतमा महँगो पर्ने गरेकाे कतिपय नेपाली चिकित्सककाे दाबी छ।

प्रकाशित मिति: : 2022-03-26 07:06:00

प्रतिकृया दिनुहोस्