रूस–युक्रेन युद्धले आम मानिसको ध्यान खिचेको छ। युक्रेनी नागरिकका कहाली लाग्दा दृश्यले प्रायःका आँखा रसाइरहेका छन्।
द्वन्द्वले कसैको भलो गर्दैन। मानिसहरू शान्तिको खोजीमा भौँतारी रहेका छन्, चाहे युक्रेन होस् या म्यान्मार। भनिन्छ, सत्यको जीत हुन्छ। त्यसैले युक्रेन र म्यान्माली जनताले एकदिन युद्धलाई शान्तिमा बदल्नेछन्।
रूसी आक्रमणपछि युक्रेन र गत वर्ष म्यान्मार सैन्य ‘कू’ पछि देखिएका तमाम दृश्य एकैखाले छन्। विस्तारै युक्रेनमा रूसी आक्रमण फितलो भएकाे देखिन्छ। रूसले हतियार र तोपखाना प्रयोग गरी युक्रेनमाथि अन्धाधुन्ध हवाई आक्रमण गरिरहेको छ।
युक्रेन छिरेका रूसी सुरक्षा फौजहरू चारैतिर घेरिएका छन्। उल्टै तोपखाना खोसेर युक्रेनीहरूले रूसी सैनिकमाथि आक्रमण गरिरहेका छन्। रूसले जानाजानी युक्रेनका नागरिक, अपार्टमेन्ट र अस्पताल लक्षित आक्रमण गर्दै आएको छ। देख्दा–सुन्दा यस्तो लाग्छ, म्यान्मारको तानाशाही ‘जुन्ता’ सेनाले जस्तै रूसी सेनाले पनि युक्रेनमाथि घेराबन्दी गरेको छ।
तस्बिर : युक्रेनको राजधानी किभमा भएको बम आक्रमणपछि ध्वस्त भएको भवन। र, म्यान्मार जुन्ता सैनिकले ध्वस्त पारेको बस्ती।
जनसरकार खोसेर म्यान्मार सेनाले दर्जनाैँ गाउँ नै ध्वस्त पारेको छ। जुन्ता सरकारले कम्तिमा ६ हजारभन्दा बढी घर जलाएको छ। यो अमानवीय र सेनाका लागि दण्डात्मक कार्य हो। म्यान्माली जनताले दशकौंदेखि सैन्य शासन भोगिरहेका छन्। कूर सैनिक आतंकविरूद्ध विद्रोह पनि भइरहेको छ।
गतवर्षको ‘कू’पछि छायाँ सरकारको रूपमा राष्ट्रिय एकता सरकारलाई जनताले भारी समर्थन गरेका छन्। रूस र म्यान्मारको सैनिक कमजोर मनोबलका साथ युद्ध मैदानमा उत्रिएका छन्। हारको मानसिकता बोकेर हिँडिरहेका छन्।
यो युग युद्धको होइन। संसारले शान्ति पर्खिरहेको छ। मृत्यु वा चोटले कोही बलियो वा कमजोर बन्दैन। म्यान्मारको जुन्ता तानाशाही र रूसले अर्धसैनिकलाई पनि भाडामा बोलावट वा प्रयोग गरेको छ। म्यान्मारको जुन्ता प्रशासन विस्तारै जनशक्ति देखेर डराइरहेको छ। यो अवस्था रूसका लागि पनि धेरै टाढा छैन।
विश्वभरका शान्तिप्रेमी मानिस युक्रेनको पक्षमा प्रकट छन्। युद्ध मैदानमा लड्न नसकेर गिरफ्तारीलाई तीव्र पारेका छन्, रूसी र म्यान्माली फौजले।रूसले राज्यको नियन्त्रणमा नभएको मिडियालाई लगभग पूर्ण रूपमा बन्द गरेको छ। म्यान्मार पनि ठ्याक्कै अवस्था उस्तै छ। तानशानीले स्वतन्त्र विदेशी पत्रकारहरूलाई आफ्नो सीमा नाध्न दिएका छैनन्। रूसले आफ्नो इन्टरनेटलाई चिनियाँ शैलीको इन्टरनेटमा परिणत गर्दैछ।
तस्बिर : सी च्यानल वनकी सम्पादक मारिना ओभ्स्यानिकोभाले ‘युद्ध बन्द गर’ लेखिएको पोस्टर राखेकी छिन्। र, जापानी पत्रकार युकी किताजुमीले आफ्नो हात उठाएर सैन्य ‘कू’को विरोध गर्छन्।
म्यान्मारमा सरकारी अत्याचारको दृश्य रोक्न सागिङलगायत द्वन्द्वग्रस्त प्रान्तमा इन्टरनेट बन्द गर्ने प्रयास भएको छ। जुन्ता विरोधीलाई लक्षित गरेर सामाजिक सञ्जाललाई प्रहरीले नियन्त्रणमा राखेको छ। रूस र म्यान्मारमा पत्रकारमाथि आक्रमण र गिरफ्तारीका घटनाहरू निरन्तर बढिरहेका छन्। रूसले कब्जा गरेका शहरमा जस्तै म्यान्मारको सेनाले पनि सामान्य रूपमा सर्वसाधारणलाई मृत्युदण्ड दिइरहेको छ।
दुवै देशमा नेतृत्वले हिंसा मच्चाइरहेको छ। म्यान्मारमा हालै भएको द्वन्द्वमा पाँच दर्जनभन्दा बढी सर्वसाधारणलाई जलाएर हत्या गरेको छ। सरकारले युद्ध अपराध लुकाउने प्रयास पनि गरिरहेको छ। युक्रेन र म्यान्मारको आधाभन्दा बढी जनसंख्या अहिले गरिबीमा बाँचिरहेका छन्। व्यापार घटेको घट्यै छ। नागरिकहरूले बिजुली र पानीको अभाव अनुभव गरिरहेका छन्।
युक्रेनी रक्षक जस्तै म्यान्मारको जनरक्षा बल र तिनीहरूका सहयोगी जातीय सशस्त्र संगठनद्वारा लडाइँ गरिरहेका छन्। तर तिनीहरू अतुलनीय बाधाहरूको विरुद्धमा छन्। रूसी सेना जस्तै जुन्ता सेना पनि कमजोर बन्दै गएको छ। अधिनायकवादले सुरक्षा सेवालगायत अधिकांश संस्थाहरूलाई कमजोर बनाउँछ। हतियार र गोलाबारुद प्राप्त गर्न चुनौतीहरू छन्।
धेरै लडाइँहरू देखेका छौं, जसमा दुबै तर्फका लगभग हजारौँ मानिस मारिएका छन्। युक्रेनी सेना जस्तै म्यान्मारका नागरिक सेना पनि उच्च मनोबल, अनुशासनसँगै लडिरहेका छन्। जानाजानी नागरिक लक्षित लुटपाट र चोरी गर्ने रूसी–म्यान्माली सेनाविरूद्ध उच्च स्तरमा छन्। म्यान्मारको सेनाले एकैसाथ धेरै मोर्चा लडेको छैन। उ डराइडराइ लडिरहेको छ।
युक्रेनीहरूले यसै प्रकारको रूसी कमजोरीको फाइदा धेरै हदसम्म उठाएका छन्। युद्धपछि शान्ति हुन्छ नै। छापामार सेनाले हार्नु हुँदैन। कब्जा गर्ने शक्तिलाई लखेट्नुपर्छ। बर्बर हमला रोक्नुपर्छ। द्वन्द्वको अन्त्य गर्ने तरिका लडिरहेका शक्तिबाटै हुन्छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र म्यान्मारका जुन्ता नाइके मिन आङ ह्लाइङ मानव जीवनका लागि घातक साबित हुँदै गएका छन्। यी दुई आतंकवादी नेताले सैन्य शासनको आडमा विश्वमा हिंसा मच्चाउन भाग लिएका छन्। युद्ध रोक्नैपर्छ। वार्तालाप हुनैपर्छ। यो नेतृत्वबाट मात्रै असम्भव छ।