‘हाेली’प्रति छुट्टाछुट्टै समुदायकाे आ–आफ्नै धारणा

Breaknlinks
Breaknlinks

सदा आनन्द रहे एही द्धबारे मोहन खेले होरी हो
एक ओरी खेले कुवर कन्हाई आ एक ओरी राधा गोरी हो ...

होलीको भोजपुरी पारम्परिक लोकगीतको मुखडा हो, याे। यस गीतमार्फत् राधा र कृष्णबीच रहेको आपसी प्रेम र सद्भाव झल्काईदै छ।

आज फागु शुक्लपूर्णिमा। आपसी सद्भाव र भाइचाराको रुपमा मनाइने होली पर्वको चारैतिर राैनक छाएकाे छ। बजारमा किनमेलको चटाराे सकेर मानिसहरू हाेली मनाउने तयारीमा जुटेका छन्। चाेक–चाेकमा होली उत्सवको तयारी हुँदै छ भने घर–घरमा होली मिलनको। जेहोस् अहिले तराई–मधेस होलीको सातै रंगमा रङ्गिएको छ। होली एक यस्तो पर्व हो जहाँ हरेक समुदायका व्यक्ति वर्षौ वर्षको रिस–राग दुश्मनी बिर्सेर एक अर्कालाई प्रेमको प्रतीक अबिर लगाईदिने गर्छन। रंगलाई समृद्धि र शुभताको प्रतीक मानिन्छ।

रंगहरुको पर्व मानिने फगुवा मधेसी समुदायकाे दोस्रो ठूलो चाड हो। फागु शुक्लपूर्णिमा अर्थात् होलीका दहनको भोलिपल्ट होली मनाउने प्रचलन रहेकाे छ। भनिन्छ, असत्यमाथि सत्यको विजय भएको खुशीयालीका रूपमा यस पर्वलाई मनाउने गरिन्छ। आशुरी शक्तिमाथि दैवी शक्तिले जित प्राप्त गरेर पनि हो यसदिन मानिसहरु एक आपसमा भएको रिस बिर्सिएर नयाँ सम्बन्धको सुरुवात गर्छन। सोही कारण होलीलाई सामुदायमा आपसी सद्भाव बढाउने पर्वको रुपमा लिईन्छ। यस पर्वलाई फरक–फरक समुदायमा आ–आफ्नै तरिकाले मनाए पनि उद्देश्य भने एकमात्र हाे, आपसी सद्भाव बढाउने।

वुद्धिजीवी परिषद् पर्सा जिल्लाका अध्यक्ष शम्भुप्रसाद गुप्ता भन्छन,‘हरेक व्यक्तिको जीवन रंगमय र सुखमय होस् भन्ने उद्देश्यले होली मनाईन्छ। होली भनेको भाइचाराको रुपमा मानाइने हिन्दूहरुको महान पर्व हो। यो विषेश त हिन्दूहरुको पर्व भनिए पनि मुस्लिम, सिख, इसाई धर्मावलम्बीहरु पनि यसदिन एकआपसमा मिलेर शुभकामना आदानप्रदान गर्छन। यसदिन वर्षभरि आफूभित्र रहेका रिस–रागलाई त्यागेर एक आपसमा मिलेर शुभकामना दिने गरिन्छ। जसरी रंगहरु एक आपसमा मिलेर रंगिन हुन्छन, त्यसरी नै मानिसहरु एकआपसमा मिलेर उर्जावान हुन्छन। यही उर्जाले गर्दा हरेक व्यक्ति वर्षभरि खुसी भएर आफ्नो कार्यमा सफलता प्राप्त गर्छन। यही मान्यताको आधारमा हरेक व्यक्ति वर्षभरि आफूभित्र भएका कमिकमजोरीलाई बिर्सिदै भाइचाराको हात अघि बढाउँछन। मित्रताको सम्बन्ध बलियो बनाउँनका लागि यसदिन प्रत्येक परिवारमा साथीभाई छिमेकीलाई बोलाएर रंग (अबिर) लगाउँदै अगांलो लगाउने चलन छ। र, मीठा–मीठा परिकार खुवाउँदै फगुवई शगुन दिने चलन छ।’

पर्साको पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन मुस्लिम समुदायकी महिला हुन्। नेपालमा बसोबास गर्ने हिन्दू र मुस्लिम समुदायमा खासै धार्मिक विवाद नभएकाले होली र इदजस्ता महान पर्व एकअर्कासँग मिलेर मनाउने गरिएको उनको भनाइ छ। राजनीति र सामाजिक क्षेत्रका व्यक्तिले सामाजिक भाइचारा बढाउन र एकअर्काप्रति सम्मान दर्शाउन पनि यस पर्वलाई मिलेर मनाउने गरिएको उपमेयर खातुन बताउँछिन्।

‘यसवर्ष मुस्लिम समुदायको महत्वपूर्ण चाड सब–ए–बरात र हिन्दू समुदायको होली एकैदिन परेकाले रोजासँगै होलीको शुभकामना समेत आदानप्रदान गर्दैछौ,’ उनले भनिन्,‘मुस्लिम समुदायमा होली मनाउने कुरा भएन। तर, हामी साझा समुदायमा बस्दै आएकाले कतिपयले रंग (अबिर) पनि खेल्ने गरेको पाउँछौँ। रंग नखेले पनि अन्य पर्व जस्तै मुस्लिम समुदायका व्यक्तिले यस अवसरमा हिन्दू साथीभाइसँग खुसी साटासाट गर्छन। एकअर्कालाई भेटेर शुभकामना आदानप्रदान गछौं। हाम्रो नेपाली समाजको सुन्दरता, राम्रो र गर्व गर्ने पक्ष यही हो।’

भोजपुरी समुदायकी अनिता शाह पेशाले शिक्षिका हुन्। कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक समेत रहेकी उनी चाडपर्वको बेला नारीको भूमिकालाई अहम् मान्छिन्। नारीको विशाल हृदयमा माया, ममता र स्नेहको सागर निहित हुन्छ। कुनै पनि  चाडपर्वको के–कस्तो महत्व हुन्छ सो कुरालाई सहजै बुझ्नु छ भने महिलाको व्यवहार हेरे पुग्ने उनी बताउँछिन्।

‘अनेकाैँ रंगको माया एउटी नारीको जीवनमा निरन्तर उपयाेगी हन्छ। नारी हरेक सम्बन्ध निर्वाहनमा प्रेमको रंगको प्रयोग गर्छिन। फगुवाले एकअर्कामा सद्भाव र मेलमिलापको वातावरण सिर्जना गर्छ। यसदिन शत्रुता बिर्सेर हरेक मानिसहरू एकआपसमा रमाइलो गर्दछन्। महिलाहरू परिवारका हरेक सदस्यहरुकाई यस चाडको बेला नजिक ल्याउनमा महत्वपूर्ण भूमिकाको निर्वाह पूरा गर्दिछिन्। मीठो परिकार पकाएर मीठो भाका बोलेर हरेक सम्बन्धलाई सम्बाेधन गर्ने काम पनि महिलाहरूद्वारा नै हुन्छ। हो नि त रातो, हरियो र पहेंलो रंगलाई प्रेमिल रंगमा परिवर्तित गर्ने काम मेरो आफ्नो दृष्टिकोणमा महिलाहरूको जति अरूले गर्न सक्दैनन्।’

यता वुमन्स स्किल सेन्टरकी अध्यक्ष चञ्चला दास मैथिली समुदायकी महिला हुन्। होली रंग र मीठो परिकारहरुको पर्व भए पनि समुदायअनुसार यसलाई मनाउने तरिका भने अलि फरक हुँदै जाने बताउँछिन्।

‘हिन्दू धर्ममा वर्षभरि नै विभिन्न प्रकारका चाडपर्वहरु मनाउने गरिन्छ। जसमध्ये होली एउटा प्रमुख चाड हो। परम्परागत रुपले भन्ने हो भने मैथिली समुदायमा होलिका दहनभन्दा १०/१५ दिनअगाडि गाईको गोबरबाट विभिन्न आकारका वस्तुहरु जस्तै नरिवल, सूर्य, चन्द्रमा आदि बनाइन्छ। यसलाई सुकाएर यसको माला बनाई होलिका दहनको लागि सुरक्षित राखिन्छ। होलिका दहनको दिन घरबाट सात किसिमको परिकारहरू बनाई पूजा सामग्री समेत होलिका दहनको आयोजना गरिने ठाउँमा पुगेर पूजा गरी भोग लगाइन्छ अनि त्यसपछि एकै ठाउँ जम्मा गरिएकाे दाउराहरुमा आगो लगाइन्छ। भोलिपल्ट अर्थात् आज फागुन शुक्लपूर्णिमाकाे दिन आ–आफ्नाे परिवार, आफन्त, इष्ट मित्रहरुसँग अबिरको टीका लगाएर खुसी साटासाट गरी होली मनाइन्छ। सबै ठाउँमा होलीका केही आफ्नै विशिष्टता हुन्छन्। जस्तै कहीँ लठमार होली मनाइन्छ भने कहीँ लड्डुहरुबाट होली खेल्ने गरिन्छ। मिथिलाको होलीमा म दुईवटा विशेषता हेर्दै आएकी छु। भगवान श्री रामको ससुराली मिथिलामा भएकोले होलिका मैथिली गीतहरुमा राम सीताले होली खेल्नुभएको प्रसंग यथेष्ट छ भने अर्को विशेषता होलीको पकवान (परिकार) विशेष गरी मुखै रसाउने मालपुआ मिथिलामा विशेष रुपले प्रसिद्ध छ।’

होलीमा परिकारहरुको कुरा गर्ने हो भने मैथिली र भोजपुरी समुदायमा मालपुआलाई विशेष मानिन्छ। साथै दालको बाडा र मासुका परिकार पाहुनाहरुको लागि यसदिन विशेष रुपमा तयार गरिने समता स्कुलकी प्रधानाध्यापक अनामिका मिश्र बताउँछिन। पौराणिक कथाअनुसार राजा हिरण्यकश्यपलाई मानिस र जनावर कसैले मार्न नसक्ने वरदान प्राप्त थियो। साथै उनलाई न त धर्तीमा, न आकाशमा, न बिहान, न राति मार्न सकिन्थ्यो। जसकारण उनी आफैलाई भगवान मान्थे।

उनका छोरा प्रहलाद भने भगवान विष्णुका परमभक्त थिए। यस कुराले प्रहलादका पिताको अहांकारलाई ठेस पुर्‍याउँदै थियो। यही कारण हिरण्यकश्यपले एकदिन आफ्ना छोरालाई मार्ने योजना बनाए। उनकी बहिनी होलिकालाई पनि आगोले जलाउन नसक्ने वरदान प्राप्त थियो। एकदिन प्रहलादलाई मार्ने उद्देश्यले होलिकाले उनलाई आफ्नो काखामा बसाएर आगोमा बसिन। प्रहलाद भगवान बिष्णुको ध्यानमा मग्न भए र अन्त्यमा होलिका जलेर खरानी भइन। र, प्रहलाद सकुशल बहिरा आए। यसरी होलिका जस्ती राक्षनीको अन्त्य भएसँगै खुशीयालीमा रंग (अबिर) लगाई होली खेल्न थालियो। रंग खेल्नु एकदिन पहिला होलीका दहन भएको खरानी लगाइन्छ र असत्यमाथि सत्यको विजय भएको खुशीयालीमा पारम्परिक गीत गाइन्छ।

वर्षौदेखि चल्दै आएको सोही परम्पराअनुसार आफन्त छिमेकीका घरमा गई रंग (अबिर)का साथ मीठो परिकार खाने चलन छ। खासमा यस पर्वलाई सम्बन्धको नयाँ सुरुवातको रुपमा पनि मनाइन्छ।

युवा पुस्ताको बुझाइमा पारम्परिक रुपमा मनाइने होलीलाई आधुनिक परिस्थितिका साथ हिँड्न आवश्यक छ। पर्सा भोलेन्टियर समूहका अध्यक्ष राजन श्रीवास्तवका अनुसार होली मनाउने परम्परा लामो समयदेखि चल्दै आएको छ। तर, अहिले महामारीको अवस्थामा होलीलाई कसरी मनाउने त्यो एउटा महत्वपूर्ण पक्ष हो।

स्वयंसेवक राजनले भने,‘बढ्दो रोगको समयमा कस्ता क्रियाकलाप गर्ने र नगर्ने यो पनि चासोको विषय हो। होली आपसी सद्भावको पर्व भएता पनि बिना अनुमती कसैलाई रङ्ग लगाउने कि नलगाउने, कानूनी मापदण्ड लगायतका धेरै कुरालाई ध्यानमा राख्नुका साथै भर्खरै हामीले भोगेकाे कोरोना महामारी कसरी बिर्सन सकिन्छ त ?’

श्रीवास्तवले यी सबै कुरालाई ध्यानामा राखेर परिवारका हरेक सदस्यलगायत इष्ट मित्रबीच रहेको दुरीलाई मेटाउने तरिकाले यस वर्षको होली मनाउनुपर्ने बताए।

प्रकाशित मिति: : 2022-03-18 06:00:00

प्रतिकृया दिनुहोस्