गृहमन्त्री बालकृष्ण खाँणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए।
‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन। नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो।’
निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए।‘निर्माण व्यवसायी देशका धरोधर हुन्। कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने।