आविष्कारतिर आकर्षित हुँदै मुस्लिम युवा

Photo: Agency
Photo: Agency

पछिल्ला वर्षहरूमा भारतका मुस्लिम युवा शैक्षिक क्षेत्रका अलावा नवप्रवर्तन अर्थात् आविष्कारतिर पनि उत्तिकै सक्रिय हुन थालेका छन्। असामका एक जना युवा यसका उदाहरण हुन्, जसको नाम हो वसिम अक्रम। वसिमले औपचारिक शिक्षा पाएका छैनन तर उनको काम र खोजको चर्चा विश्वभर नै छ।

आसाम टेक्निकल नामको युट्युब च्यानलबाट यिनले आफ्नो नयाँ–नयाँ खोज र आविष्कारको बारेमा जानकारी पनि दिन्छन्। वसिम पेसाले एक जना मेकानिक हुन्, परकजुना हाजो भन्ने ठाउँमा यिनले साथीहरूसँग मिलेर वर्कसप पनि खोलेका छन्। कामबाट समय निकालेर यिनले युट्युबको भिडियो र नयाँ खोजहरू गर्छन्। दैनिक जीवनमा आवश्यक मेसिन र यन्त्रहरूको वर्कसपमा निर्माण अनि विकास गर्ने वमिले काठको साइकल बनाएका छन्। यिनले बनाएको काठको साइकल सस्तो, छरितो र असाध्यै उपयोगी छ। आफ्नो साइकलको नाम चुडुकु राखेका वसिमको बारेमा आज हामी चर्चा गर्नेछौं।

वसिमकाअनुसार चुडुकु एउटा अफ्रिकन बाइक जस्तै हो र यो बिजुलीबाट चल्छ। केवल २ देखि ३ हजारमा बन्ने यस बाइक बिजुलीबाट चल्ने र वातावरणमैत्री पनि छ। वसिमका अनुसार यदि यस बाइकलाई कारखानामा उद्योगका अनुसार बनाउने हो भनेँ निर्माण मूल्य झनै घटेर आउँछ।

यस बाइकलाई विद्यार्थी, कर्मचारी जोकोहीले पनि प्रयोग गर्न मिल्ने र यातायातको सुविधा नपुगेको ग्रामीण क्षेत्रमा यस बाइकको प्रयोग झनै महत्त्वपूर्ण भएर जान्छ।

यसअघि वसिमले खेत खन्ने मेसिन बनाएका थिए। मोटरसाइकलमा ट्याक्टरको चक्का हालेर उक्त मेसिन तयार गरिएको थियो। आफ्नो ठाउँमा कम धान फल्ने भएकाले ठूला–ठूला मेसिनहरू प्रयोग नभएको र यसरी कृषकहरूको समस्या अनुरूप सानो मेसिन बनाएको उनकाे तर्क थियो।

यस मेसिनलाई उनले प्रधानमन्त्री मोदीका नाममा मोदी जुगाड बाइक भनी नाम दिएका थिए।

यसका साथै केवल १५० देखि २०० भारतीय रुपैयाँमा अक्रमले पानी भर्ने संयन्त्र बनाएका थिए, जसले ट्याकं खाली भएपछि आफै पानी भर्ने र भरिएपछि आफै बन्द गर्ने गर्दथ्यो। यसका अलावा असाध्यै कम मूल्यमा अक्रमले इमरजेन्सी टायरको पन्चर टाल्ने कुरा र घाँस काट्ने बिजुलीको मेसिन पनि बनाएका छन्।

अक्रमकाअनुसार मुस्लिम युवाहरू जागिर र पढाइका अलावा नयाँ खोजहरूमा पनि लाग्न जरुरी छ। आवश्यकता बुझेर नै आविष्कार गर्ने यी युवालाई सधैँ मान्छेको दैनिकलाई सहज बनाउने मेसिनहरू बनाउने कुराले खुसी दिन्छ।

प्रकाशित मिति: : 2022-02-25 07:47:00

प्रतिकृया दिनुहोस्