एमाले गैह्रजिम्मेवार बन्दा नागरिकले दुख पाएको कांग्रेस नेताको आरोप

नेपाली कांग्रेस मोरङका नेता मोदराज घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा एमाले गैह्रजिम्मेवार बन्दा नागरिकले दुःख पाएको बताएका छन्।

बिहिबार मोरङको पथरीशनिश्चरे नगरपालिका वडा–६ मा नेपाली कांग्रेसद्वारा आयोजित टोल समिति गठन कार्यक्रममा बोल्दै नेता घिमिरेले सात महिनादेखि संसद चल्न नदिएर एमालेले नेपाली जनतालाई दुःख दिएको बताएका हुन्।

मोरङ कांग्रेसका सचिवसमेत रहेका नेता घिमिरेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो शासनकालमा नागरिकलाई आश्वासन मात्रै बाँडेको आरोप लगाएका छन्। 

नवप्रवेशीहरुलाई स्वागत 

निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले थालेको टोल समिति गठन कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्नेहरूको लर्को लाग्न थालेको छ।

बिहिबार मात्रै मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा–६ मा विभिन्न पार्टी परित्याग गरेर १०५ जना कांग्रेस प्रवेश गरेका छन्।

नवप्रवेशीहरुलाई मोरङ कांग्रेसका सचीव मोदराज घिमिरे, पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि गोपालमान सिंह राजभण्डारी, पूर्वजिल्ला सचिव यदु बिष्ट, नगर सभापति रूपनारायण भट्टराई, वडा सभापति ज्ञानबहादुर बस्नेत लगायतले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2022-02-17 21:54:00

प्रतिकृया दिनुहोस्