जो राष्ट्रिय पोशाकमा झण्डा फरफराउँदै उल्टो हिँड्छन्...

नेपालको राष्ट्रिय झण्डा फरफराउँदै उल्टो पैदल यात्रामा निस्किएका दाङका ऋषि परियार मोरङको सलकपुर पुगेका छन्।

खरानी रंगको दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार मंगलबार साँझ उल्टो हिंड्दै सलकपुर पुगेका हुन्। पूर्व पश्चिम राजमार्गको सलकपुर खण्डमा परियार पुग्दा स्थानीयको भीड लागेको थियो।

दाङ तुलसीपुर– ३ रानागाउँका ३० वर्षिय परियारले 'हिंडौँ स्वस्थ रहौँ' भन्ने नारा लिएर गएको शनिबार उल्टो पैदल यात्रा शुरु गरेका थिए। 

उनलाई प्रदेश सांसद झलकसिंह दर्लामीलगायात स्थानीय राजनीतिक दलका अगुवा , जनप्रतिनिधि , सामाजिक अभियन्ता र सुरक्षा निकायका प्रतिनिधिले मेची पुलबाट विदाई गरेका थिए।

स्वस्थ रहन कम्तीमा दैनिक एक किलोमीटर हिँड्नुपर्छ भन्ने सन्देश फैलाउँदै उल्टो यात्रा गरेका उनलाई गिनिज बुकमा नाम लेखाउने मन छ।।

हातले टेकेर समेत हिँड्न सक्ने क्षमता भएका परियारले २०७३ सालमा दुई हातले टेकेर दुई किलोमीटर यात्रा गरेका थिए। 

२०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि परियारले घर चलाउन अध्यन छोडेर घर वायरिङ्गको तालिम लिए। ईलेक्ट्रीसियन पेशा गरेका उनलाई फरक ढंगले समाजमा केही शिक्षा दिने मनसाय भएका कारण  फरक क्रियाकलाप गरेको परियारले बताए।

उनले सन २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखे। त्यतिबेलाको उपलब्धिबाट नै उत्प्रेरित भएर उल्टो हिँडेर दुई महिनाभित्र मेचीदेखि महाकालीसम्मको यात्रा गर्ने अठोट लिएको उनले बताए।

यात्रा गरिरहेका उनको धेरै शुभेच्छुकहरुसंंग भेट भएको र यथेष्ट सहयोग पाएको परियारले बताए।

कुनै संघसंस्था वा प्रायोजकको सहयोगबिना आफूले  यात्रा गरेकाले बाटोमा भेटिएका  शुभेच्छुक एवम् सहयोगीहरु नै आफ्नो लक्ष्य प्राप्तिका मार्ग दर्शक रहेको उनी बताउँछन्। 

 

प्रकाशित मिति: : 2022-02-01 21:51:00

प्रतिकृया दिनुहोस्