ललितपुर महानगरमा ७ ठाउँमा सूचना केन्द्र स्थापना गर्ने [भिडियो]

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ। नगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा नगर प्रहरी बलले महानगरपालिका भित्रको विभिन्न ७  स्थानमा सूचना केन्द्र स्थापना गर्ने भएको हो।

महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछथुले बताए। उनका अनुसार जावलाखेल, लगनखेल, हरिसिद्धी, धापाखेल, नखिपोट, भैंसेपाटी र सानेपामा सूचना केन्द्रको स्थापना गरिनेछ। नगर प्रमुख हाछेथुले रिङरोड भित्र ३ र बाहिर ४ वटा सूचना केन्द्र स्थापना गरिने जानकारी दिए।

सूचना केन्द्रले उपत्यका र ललितपुर महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराउनेछ। महानगरले प्रदान गर्ने सेवा सुविधा, राजश्व र नगरभित्रका सबै जानकारीबारे महानगरसम्म पुग्न नसक्ने नगरबासी र पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्रको शुभारम्भ गरिएको नगर प्रमुख महर्जनले बताए।

‘सूचना केन्द्रमा महानगर भित्रका सबै सूचनाहरू पाइन्छ। कुन शीर्षकमा कति राजश्व तिर्ने, खानेपानी, बिजुलीको बिल कहाँ तिर्ने, महानगरबाट के-के सेवा लिन के कस्तो प्रक्रिया अपनाउने, महानगरका कुन वडा कहाँ पर्छ, वडा, टोल र बजारका बारेमा सबै सबै जानकारी पाइन्छ’, नगर प्रमुख महर्जनले भने।

महानगर भित्र भएका विकास निर्माणका कामको प्रगति,  महानगरपालिकाको वडापत्र, महानगरपालिकाले दिने सेवा सुविधा र महानगरभित्रका सबै जानकारी सूचना केन्द्रले दिने नगर प्रहरी प्रमुख हाथेछुले बताए। सूचना केन्द्रबाट नगरबासीले आफूले टिपाएका समस्याका बारेमा भएको प्रगति विवरणसमेत जानकारी पाउनेछन्।

कोरोना महामारीको समयमा महानगरपालिकामा एउटा सानो सूचना लिन धाउनुपर्ने, जानकारीका लागि पुग्दा भिडभाड धेरै हुने र बढ्दो जोखिमलाई केही हदसम्म नियन्त्रण गर्न सूचना केन्द्र सञ्चालनमा ल्याएको महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म जावलाखेल चोकबाट  सूचना लिन सकिने नगर प्रहरीले जनाएको छ।


 

प्रकाशित मिति: : 2022-02-01 12:26:00

प्रतिकृया दिनुहोस्