‘भाेका छाेराछाेरीकाे पेट भर्न मृगौला बेचेँ’

Photo– ToloNews

अफगानिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन खस्कँदै जाँदा यहाँका सर्वसाधारणहरूको दैनिकी कष्टकर बन्दै गएको छ। उनीहरू भोका सन्तान र आफ्नो पेट भर्नका लागि मृगौला बेच्न बाध्य छन्।

हेरात प्रान्तको पश्चिमी क्षेत्रका अफगानीहरू चरम गरिबी र भोकमरीको चपेटामा छन्। अवस्था यहाँसम्म पुगिसक्यो कि– परिवारका सदस्यहरूको भोक–तिर्खा मेटाउन ‘महिला–बालबालिका’हरूले मृगौला समेत बेचिरहेका छन्।

कानूनतः अफगानिस्तानमा पनि शरीरका अंगको व्यापार गर्नु गैरकानुनी मानिन्छ। तर, भोकमरीले सन्तान तड्पिरहेको देख्दा अर्को कुनै उपाय नभेटेको हेरातकी ३३ वर्षीय एक महिला बताउँछिन्। उनले भनिन्, ‘म त जसोतसो बाँचुला। मेरा सन्तान कसरी बाँच्छन्? मसँग अर्को कुनै उपाय नै छैन। त्यसैले भाेका छाेराछाेरी र मेरो पेट भर्न मृगौला बेचेँ।’

त्यसो–त अफगानिस्तान लामो समयदेखि गृहयुद्ध मै फर्‍यो। तर विद्रोही तालिबान सत्तामा आएपछि यहाँको अवस्था झन्–झन् बिग्रिँदै गएको छ।

गतवर्ष पनि गरिबीका कारण मृगैला बेचेको समाचार बाहिर आएको थियो। अहिले यहाँका विभिन्न भेगमा मानवीय संकट आइलागेको छ। शक्तिराष्ट्रहरूले यो चेतावनीलाई गम्भीर रूपमा लिइरहेका छैनन्।

अफगानिस्तानमाथिको प्रतिबन्ध फुकुवा र विश्व बैंकले करोडौंको सम्पत्ति निष्कासन गरेपछि यहाँका जनताको अवस्थामा निकै सुधार हुने अर्थविज्ञहरू बताउँछन्। अर्थशास्त्री अब्दुल नासिरले वस्तुको मूल्य ह्वात्तै बढ्दा समाजको ठूलो हिस्सा मर्कामा परेको बताएका छन्।

सत्तामा तालिबान फर्केपछि विश्व बैंक, आईएमएफ र अमेरिकी फेडरल रिजर्भले अफगानिस्तानलाई दिने अन्तर्राष्ट्रिय कोष कटौती गरेको छ। ‘टोलो न्युज’का अनुसार यहाँ बेरोजगारी, गरिबी र भोकमरी खतरनाक अवस्थामा पुगेको छ।

२ करोड ३० लाख अफगानीहरूले चरम भोकमरीको सामना गरिरहेका छन्। मानवअधिकार संगठनहरूले यति ठूलो संख्यामा राहत उपलब्ध गराउन असम्भव रहेको बारम्बार बताउदैआएको छन्।


अफगानिस्तानका जनतालाई मानवीय सहायता


 

प्रकाशित मिति: : 2022-01-29 07:38:00

प्रतिकृया दिनुहोस्