विदेशबाट मतदान गर्न पाउनुपर्ने मागसहित सरकारलाई ज्ञापनपत्र [पत्रसहित]

प्रवासी नेपाली मञ्च (युएई)ले विदेशमा रहेका नेपालीहरुलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, युएईका अध्यक्ष महेश गिरिले अबुधाबीस्थित नेपाली राजदुतावास मार्फत् सरकारलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा लोकतन्त्रप्रति नेपालको निष्ठालाई मध्यनजर गर्दै प्रवासी नेपालीहरुलाई प्रवासबाटै प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ तथा नगरपालिका र जनमतसंग्रहका निर्वाचनहरुमा प्रत्यक्ष रूपमा मतदान गर्न पाउने प्रबन्ध मिलाउन माग गरिएको छ।

नेपाली राहदानी, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाट कुटनितिक नियोग वा विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने र अद्यावधिक गर्न पाउने व्यवस्था गर्न समेत माग गरिएको छ।

भारत बाहेक नै करिब ५० लाख नेपालीहरु प्रवासमा रहेको उल्लेख गर्दै ती नेपालीहरुको मताधिकारलाई सुरक्षित गर्न सरकारले प्रवासबाट मतदान गर्न पाउने व्यवस्था मिलाउने कुरामा आफू आशावादी रहेको प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष महेश गिरिले बिएल नेपाली सेवालाई बताए।

प्रकाशित मिति: : 2022-01-25 07:48:00

प्रतिकृया दिनुहोस्