फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्समाथि सानदार जित दर्ता गरेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले रेइम्सलाई ४–० गोलले हराएको हो ।
पिएसजीको जितमा मार्को भेराट्टी, सर्जियो रामोस र डेनिलो पेइरेराले एक–एक गोल गरे। पिएसजीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो। रेइम्सका वट फेजले आफ्नै पोस्टमा गोल गरेका थिए ।
खेलको ४४औँ मिनेटमा भेराट्टीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए। ६२औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए। रामोसले पिएसजीका लागि पहिलो गोल गरेका हुन् ।
खेलको ६७औँ मिनेटमा रेइम्सका फेजले आत्मघाती गोल गरेपछि पिएसजीले आफ्नो अग्रता तेब्बर बनाएको थियो। ७५औँ मिनेटमा पेइराले गोल गरेपछि पिएसजी ४–० गोलले विजयी भएको हो ।
जितसँगै शीर्ष स्थानको पिएसजीले २२ खेलमा ५३ अङ्क जोडेको छ। ऊ दोस्रो स्थानको नाइसभन्दा ११ अङ्कले अगाडि छ। पराजित रेइम्स भने २४ अङ्कका साथ १४औँ स्थानमा छ ।