म्यान्मार सैन्य कू: कलम त्यागेर बन्दूक बाेकेका युवा पत्रकार

सुहन श्रेष्ठ

म्यान्मार
Myanmar Now
Myanmar Now

म्यान्मारकाे सैन्य 'जुन्ता' ले अघिल्लाे फेब्रुअरीमा जननिर्वाचित सरकारमाथि 'कू' गर्दा उत्तरी काचिन प्रान्तका उर्जाशील २७ वर्षे युवक सिट काे नाइंग हतुङ स्वतन्त्र पत्रकारका रूपमा काम गर्थें। उनी हपाकान्त क्षेत्रमा बसेर स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका लागि जिम्मेवारीपूर्वक रिपोर्टिङ गरिरहँदा २–फेब्रुअरीमा सेनाले सत्ता हालमा लियाे।

लगत्तै बर्मेलीहरू प्रजातन्त्रकाे पक्षमा सडकभर छरिए। शान्तिपूर्ण विरोधमा उत्रिएका विद्यार्थी र निर्दोष नागरिकहरूलाई सेनाका जवानहरूले हत्या गरेको पत्रकार हतुङले पटकपटक देखे। सागिङक्षेत्रको यीनमाबिन जिल्लामा हुर्केका उनी संकटकाे बेला स्वतन्त्र हुनै सकेनन्।

देशभर सेनाले आतंक मच्चाइरहेका बेला लेखिरहेकाे कलम त्यागेर खिया लागेकाे बन्दूक समात्न बाध्य भएकाे उनी बताउँछन्। प्रजातन्त्र पुनर्स्थापनाका लागि युद्धकाे मैदानमा उत्रिएका पत्रकार हतुङ शहर छाडेर जंगल छिरेका छन्।

सरकारविरूद्ध युद्धरत सशस्त्र विद्राेही समूह पिपुल्स डिफेन्स फोर्समा भर्ति भएर पूर्णरूपमा भूमिगत छन्, उनी। 'देशको भविष्य र जनताको एकताको लागि लड्न तयार छु। सबै मर्न डराउँछन्। तर म जनताकाे मृत्युसँग मात्रै डराउँछु, 'उनले भने।

सशस्त्र जातीय विद्रोही समूहले सेनासँग लड्न वर्षाैंदेखि माेर्चा कसिरहेका छन्। म्यान्मारको विभिन्न क्षेत्रमा अनेकाैँ लडाकू दस्ताहरू दिनदिनै फैलिरहेकाे देख्न सकिन्छ। तर सैन्य जुन्ताले आफ्नो शक्ति कायम राख्नको लागि क्रूरता प्रदर्शन गरिरहेको छ। कतिपय अवस्थामा जातीय समूहहरूले पिपुल्स डिफेन्स फोर्ससँग काम गर्दै आएका छन्।

पत्रकार सिट काे नाइंग हतुङ सशस्त्र जातीय समूहद्वारा नियन्त्रित एक क्षेत्रमा परिचालित छन्। उनले क्रान्तिकारी सहकर्मीहरूसँग जीवनकाे कठिन समय पार गर्न संघर्ष गरिरहेकाे बताउँछन्।

पत्रकारिता गर्नुअघि उनले साेही क्षेत्रमै बसेर कथा र कविता लेख्थे। ग्रामीण गाउँमा पुस्तकहरू उपलब्ध गराउन सामुदायिक पुस्तकालय समेत स्थापना गरेका छन्। उनले युवाहरूलाई साहित्यमा प्रशिक्षित गर्न अनेकाैँ सेमिनारहरू पनि आयोजना गरे।

यीनमाबिनक्षेत्र लेखक संघको पूर्वअध्यक्ष उनी बर्मेली भाषाकाे लघुकथा 'केथराजा' का लेखकसमेत हुन्। पत्रकार हतुङले पछिल्लाे समय अर्काे पत्रकारितासँग सम्बन्धित कथा संग्रह लेखिसकेका थिए। तर गृहयुद्धका कारण प्रकाशन गर्न सकेनन्।

उनले लडाइँ समाप्त भएपछि आफ्नो लक्ष्य पूरा गर्ने आशा राखेका छन्। उनी भन्छन्, 'लडाइँ जित्ने छाैँ। देश स्वतन्त्र हुनेछ। जुन्ताहर हार्नेछन्। म फेरि पत्रकारितामै फर्किने छु।' [एजेन्सीकाे सहयाेगमा]

प्रकाशित मिति: : 2022-01-22 06:12:00

प्रतिकृया दिनुहोस्